न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी पुनःखोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूले कूटनीतिक प्रयास तीव्र पारेका छन् ।
प्रस्तावित योजनाअनुसार पहिलो चरणमा हर्मुज जलघाँटी खोल्ने र अमेरिकी नाकाबन्दी हटाउने तथा त्यसपछि प्रतिबन्ध र आणविक विषयमा सहमति खोज्ने तयारी भए पनि दुई पक्षबीच प्रमुख विषयमा मतभेद कायमै रहेको बताइएको छ ।
तीन क्षेत्रीय तथा दुई अमेरिकी अधिकारीका अनुसार मध्यस्थकर्ताहरूले दुवै पक्षसँग अप्रत्यक्ष वार्ता गरिरहेका छन् । छलफलमा रहेको मस्यौदाअनुसार इरानले ओमानसँग छुट्टै समझदारी गरी हर्मुज जलघाँटी पुनःखोल्ने र व्यापारिक जहाजको आवागमन अस्थायी रूपमा व्यवस्थापन गर्ने प्रस्ताव गरिएको छ । यसअघि जलघाँटीमा सुरक्षित रूपमा व्यापारिक जहाज सञ्चालन गराउने प्रयास असफल भएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले एक साताभित्र जलघाँटी खोल्नुपर्ने प्रस्ताव अघि सारे पनि इरानले त्यसलाई अस्वीकार गरेको बताइएको छ । इरानले अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, रोक्का गरिएको आफ्नो सम्पत्ति फुकुवा गर्नुपर्ने तथा तेल बिक्रीमा लगाइएको प्रतिबन्धमा छुट दिनुपर्ने सर्त राखेको जनाइएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघची संयुक्त राष्ट्रसङ्घको महासभापछि पनि न्युयोर्कमै रहनुभएको छ । उहाँले कतारी मध्यस्थकर्तासँग पछिल्लो प्रस्तावबारे छलफल गर्ने बताइएको छ । उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गरेका छन् । गुटेरेसको कार्यालयले कूटनीतिक प्रयासको स्वागत गर्दै दुवै पक्षलाई वार्तामा बस्न आग्रह गरेको जनाएको छ ।
अमेरिकी अधिकारीका अनुसार ट्रम्प प्रशासनले आणविक विषयमा ठोस प्रगति नभएसम्म सम्झौता गर्न चाहेको छैन । अमेरिकाले प्रतिबन्धमा राहत तथा केही रोक्का सम्पत्ति फुकुवा गर्न सक्ने भए पनि त्यसका लागि इरानबाट आणविक विषयमा रियायत चाहेको छ । इरानले पनि यस विषयमा केही लचकता देखाउने सङ्केत दिएको बताइएको छ ।
क्षेत्रीय अधिकारीका अनुसार अमेरिकाले आणविक निरीक्षकलाई इरान प्रवेश दिनेलगायतका विषयमा इरानबाट रियायत खोजिरहेको छ । यद्यपि, अमेरिकी अधिकारीहरूले इरानले ट्रम्प प्रशासनका सर्त स्वीकार गर्नेमा शङ्का व्यक्त गरेका छन् ।
हर्मुज जलघाँटीमा व्यावसायिक जहाजमाथि गोली प्रहार गरेर अन्तरिम समझदारी उल्लङ्घन भएको घटनापछि इरानका प्रतिबद्धताप्रति अमेरिका थप सावधान बनेको अधिकारीहरूको भनाइ छ । इरानमाथि प्रतिबन्धको प्रभाव बढ्दै जाँदा आफ्नो वार्तास्थिति बलियो हुँदै गएको अमेरिकी अधिकारीहरूको बुझाइ छ ।
इरानको पछिल्लो प्रस्तावमा जुनमा भएको समझदारीका केही विषय समेटिएको भए पनि त्यसको कार्यान्वयनको समयसीमा र प्रक्रियामा फरक रहेको बताइएको छ । अराघचीले अमेरिकाले योजना स्वीकार गरेपछि सात दिनको समयसीमा सुरु हुने बताएका थिए ।
दुवै पक्ष अहिले आर्थिक दबाबमा छन् । हर्मुज जलघाँटीमा जहाजमाथि भएका आक्रमणका कारण तेलको मूल्य बढिरहेको छ भने अमेरिकी नौसैनिक नाकाबन्दी र तेल बिक्रीमा लगाइएको प्रतिबन्धका कारण इरानमाथि आर्थिक दबाब बढेको छ । यसबीच क्षेत्रीय मुलुकहरूले क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिरहेका छन् ।
इरानको पछिल्लो प्रस्तावमा लेबनानसहित सबै मोर्चामा लडाइँ अन्त्य गर्ने विषयसमेत समेटिएको बताइएको छ । यमनमा इरान समर्थित हुथी विद्रोहीहरू बाब अल–मन्देब जलघाँटीको दक्षिणी प्रवेशद्वारमा सक्रिय रहेकाले विश्वव्यापी ऊर्जा बजारमा थप दबाब परेको छ ।
इरानले भने हुथीहरूको आफ्नै माग रहेको र उनीहरूको साउदी अरेबियासँगको द्वन्द्व अमेरिका–इरान युद्धभन्दा अलग रहेको बताउँदै आएको छ । साथै, हुथी र साउदी पक्षबीच समझदारी गराउन सहयोग गर्न आफूहरू तयार रहेको इरानी अधिकारीहरूले बताएका छन् ।














प्रतिक्रिया