जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म « Khabarhub

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म



काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक र दीर्घकालीन चुनौतीमध्ये एक हो । 

यो केवल वातावरणीय समस्या होइन : कृषि, खाद्य सुरक्षा, पानी, स्वास्थ्य, अर्थतन्त्र, रोजगारी, पूर्वाधार, गरिबी, मानव सुरक्षा र भावी पुस्ताको भविष्यसँग जोडिएको विकासको प्रश्न हो । 

औद्योगिक क्रान्तिपछि जीवाश्म इन्धनको व्यापक प्रयोग, तीव्र औद्योगिकीकरण, वन विनाश, अनियन्त्रित सहरीकरण र प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण हरितगृह ग्यासको उत्सर्जन बढ्दै जाँदा पृथ्वीको तापक्रम वृद्धि भएको छ । 

परिणामस्वरूप हिमनदी पग्लने, हिमताल विस्फोटको जोखिम बढ्ने, वर्षाको स्वरूपमा परिवर्तन, बाढी, पहिरो, खडेरी, डढेलो तथा अन्य चरम मौसमी घटनाहरूको जोखिम बढिरहेको छ ।

जलवायु परिवर्तनको गम्भीरता बढ्दै गएसँगै यसको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहमा विभिन्न प्रयास भएका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि, क्योटो प्रोटोकल र सन् २०१५ को पेरिस सम्झौताले विश्वव्यापी जलवायु शासनको आधार निर्माण गरेका छन् । 

पेरिस सम्झौताले विश्वको तापक्रम वृद्धिलाई पूर्वऔद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसभन्दा निकै तल राख्ने तथा सम्भव भएसम्म १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यलाई स्थापित गरेको छ । राष्ट्रिय रूपमा निर्धारित योगदान, जलवायु विज्ञानसम्बन्धी अनुसन्धान, पूर्वचेतावनी प्रणाली, अनुकूलन, नवीकरणीय ऊर्जा र हरित प्रविधिको विकासले पनि समाधानका नयाँ सम्भावना सिर्जना गरेका छन् ।

औद्योगिक क्रान्तिपछि हरितगृह ग्यास उत्सर्जनमा भएको तीव्र वृद्धिले पृथ्वीको तापक्रम बढाउँदै लगेको छ । यसको प्रभाव न्यूनीकरण र अनुकूलनका लागि विगत केही दशकदेखि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तहमा विभिन्न प्रयास हुँदै आएका छन् । 

पेरिस सम्झौता, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि तथा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलजस्ता पहलले जलवायु परिवर्तनलाई विश्वव्यापी नीति र विकासको केन्द्रमा ल्याउन महत्वपूर्ण योगदान गरेका छन् ।

जलवायु परिवर्तन नियन्त्रणका क्षेत्रमा भएका प्रयासबाट केही महत्त्वपूर्ण उपलब्धि पनि हासिल भएका छन् । नवीकरणीय ऊर्जाको विकास र प्रयोग विस्तार भएको छ, ऊर्जा दक्षता तथा विद्युतीय यातायाततर्फ विश्वको ध्यान बढेको छ, वन संरक्षण तथा पुनःस्थापनाका कार्यक्रम अघि बढेका छन् र धेरै देशले कार्बन उत्सर्जन घटाउने राष्ट्रिय लक्ष्य निर्धारण गरेका छन् । 

जलवायु परिवर्तनसम्बन्धी जोखिम, अनुकूलन र विपद् व्यवस्थापनलाई विकास योजनासँग जोड्ने अभ्यास पनि बढेको छ । निजी क्षेत्र, नागरिक समाज, स्थानीय समुदाय र युवाको सहभागिता विस्तार हुनु अर्को सकारात्मक उपलब्धि हो ।

यी प्रयासबाट उपलब्धिहरू पनि हासिल भएका छन् । सौर्य, वायु, जलविद्युत्लगायत नवीकरणीय ऊर्जाको प्रयोग विस्तार भएको छ । विद्युतीय यातायात, ऊर्जा दक्ष प्रविधि, हरित भवन, स्वच्छ उत्पादन प्रणाली र कम–कार्बन अर्थतन्त्रको अवधारणा अघि बढेको छ । वन संरक्षण, वृक्षरोपण, जलाधार संरक्षण, जलवायु–स्मार्ट कृषि तथा अनुकूलनका कार्यक्रम विस्तार भएका छन् । 

जलवायु परिवर्तनलाई सार्वजनिक नीति र विकास योजनाको अभिन्न विषयका रूपमा हेर्ने क्रम बढेको छ भने नागरिक समाज, युवा, निजी क्षेत्र र स्थानीय समुदायको सहभागिता पनि विस्तार भएको छ । 

यति प्रयासहरू हुदाँहुँदै पनि विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न आवश्यक गतिमा उत्सर्जन घट्न सकेको छैन र जीवाश्म इन्धनमा निर्भरता अझै ठूलो छ । जलवायु परिवर्तनका प्रभाव तीव्र हुँदै जाँदा प्रतिबद्धता र कार्यान्वयनबीचको अन्तर अझै चुनौतीका रूपमा रहेको छ । 

यही कारण जलवायु परिवर्तनलाई केवल उत्सर्जन न्यूनीकरणको प्राविधिक विषयका रूपमा होइन, न्यायको विषयका रूपमा पनि हेर्नुपर्ने आवश्यकता बढेको हो ।

जलवायु परिवर्तनबाट जलवायु न्यायतर्फ

जलवायु परिवर्तनको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको असमानता हो । सबै देश र समुदायले जलवायु परिवर्तनमा समान योगदान गरेका छैनन् र यसको असर पनि सबैले समान रूपमा भोगिरहेका छैनन् । ऐतिहासिक रूपमा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने औद्योगिक तथा विकसित मुलुकको तुलनामा नेपालजस्ता न्यून उत्सर्जन गर्ने देशले जलवायु परिवर्तनको असमान रूपमा ठूलो असर व्यहोर्नुपरेको छ । 

हिमाली क्षेत्रमा हिमनदी पग्लनु, हिमताल विस्फोटको जोखिम, अनियमित वर्षा, बाढी, पहिरो, खडेरी तथा कृषि उत्पादनमा आउने परिवर्तनले स्थानीय समुदाय र जोखिममा रहेका वर्गलाई प्रत्यक्ष प्रभावित गरिरहेका छन् ।

जलवायु न्यायको प्रश्न केवल ‘उत्सर्जन कसरी घटाउने ?’ भन्ने प्रश्न होइन । यसको अर्को महत्त्वपूर्ण प्रश्न हो– जसले बढी उत्सर्जन गरे, उनीहरूले बढी जिम्मेवारी कसरी वहन गर्ने र जसले कम योगदान गरे तर बढी क्षति व्यहोरे, उनीहरूलाई वित्त, प्रविधि, क्षमता र आवश्यक सहयोग कसरी उपलब्ध गराउने भन्ने विषय प्राथमिक हो । 

यही सन्दर्भमा साझा तर विभेदित जिम्मेवारी, समानता, अन्तरपुस्तीय न्याय, क्षति तथा नोक्सानीको सम्बोधन, जलवायु वित्तमा पहुँच र प्रविधि हस्तान्तरण महत्त्वपूर्ण हुन्छन् । जलवायु परिवर्तनका कारण भएको क्षति तथा नोक्सानीलाई अन्तरराष्ट्रिय रूपमा स्वीकार गर्दै वित्तीय संयन्त्र विकास हुनु सकारात्मक कदम भए पनि त्यसको प्रभावकारी कार्यान्वयन र पर्याप्त स्रोत परिचालन अझै आवश्यक छ ।

नेपालको सन्दर्भमा जलवायु न्यायको अर्थ हिमाल, पहाड र तराईका फरक–फरक जोखिमलाई सम्बोधन गर्नुमात्र होइन : जलवायु नीति र कार्यक्रमलाई कृषि, ऊर्जा, वन, पर्यटन, स्वास्थ्य, पूर्वाधार, वित्तीय प्रणाली, सङ्घीय शासन र स्थानीय विकाससँग जोड्नु पनि हो । 

महिला, युवा, किसान, विपन्न समुदाय, आदिवासी जनजाति तथा प्राकृतिक स्रोतमा निर्भर समुदायको आवाज र सहभागितालाई जलवायु शासनको केन्द्रमा राख्नु आवश्यक छ । जलवायु परिवर्तनविरुद्धको सङ्घर्षलाई केवल ‘हरित विकास’ मा सीमित नराखी ‘न्यायपूर्ण हरित विकास’मा रूपान्तरण गर्नुपर्ने आवश्यकता देखिन्छ । 

जलवायु नीतिको सफलता उत्सर्जन घटेको तथ्यांकबाट मात्र होइन, कति मानिस सुरक्षित भए, कति समुदायको जीवनयापन जोगियो र स्रोत तथा अवसरको वितरण कति न्यायपूर्ण भयो भन्ने आधारमा पनि मूल्यांकन हुनुपर्छ ।

हिमाली संवेदनशीलता र स्थानीय शासन

नेपाल जलवायु परिवर्तनका दृष्टिले विशेष संवेदनशील मुलुक हो । हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनका प्रभाव फरक–फरक रूपमा देखिन्छन् । हिमनदी र हिमतालसँग जोडिएका जोखिमदेखि पहाडी क्षेत्रमा पहिरो, पानीका मुहान सुक्ने समस्या तथा तराईमा बाढी र अत्यधिक गर्मीका घटनासम्म जलवायु परिवर्तनले जीवन र अर्थतन्त्रलाई प्रभावित गरिरहेको छ ।

हिमालयको महत्व नेपालमा मात्र सीमित छैनस यसको पारिस्थितिक प्रणाली पानी, कृषि, ऊर्जा, जैविक विविधता र दक्षिण एसियाका करोडौँ मानिसको जीवनसँग सम्बन्धित छ । यस्तो अवस्थामा जलवायु शासनलाई स्थानीय तहसम्म पु¥याउनु अपरिहार्य हुन्छ । सडक, खानेपानी, कृषि, वन, पर्यटन, स्वास्थ्य, बस्ती विकास र विपद् व्यवस्थापनजस्ता क्षेत्र स्थानीय सरकारका दैनिक कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित छन् ।

जलवायु जोखिमलाई स्थानीय विकास योजनामा समेट्न नसक्दा विकासका लागि गरिएको लगानी स्वयं जोखिममा पर्न सक्छ । त्यसैले स्थानीय तहका योजना निर्माणमा जलवायु जोखिम मूल्यांकन, अनुकूलन क्षमता, विपद् जोखिम न्यूनीकरण र वातावरणीय दिगोपनलाई अभिन्न अङ्ग बनाउन आवश्यक छ । यही व्यापक पृष्ठभूमिमा नेपालको मुस्ताङस्थित घरपझोङ गाउँपालिकामा सम्पन्न घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३ विशेष महत्वको पहलका रूपमा देखापरेको छ ।

घरपझोङ सम्मेलन : स्थानीय आवाजको राष्ट्रिय अभिव्यक्ति

गत भदौ ३० र ३१ मा मुस्ताङको घरपझोङमा सम्पन्न दुईदिने सम्मेलनले जलवायु परिवर्तनलाई वातावरणीय विषयमा मात्र सीमित नराखी विकास, आर्थिक समृद्धि, सामाजिक न्याय र मानवअधिकारसँग जोडिएको बहुआयामिक विषयका रूपमा प्रस्तुत गरेको छ । 

कालीगण्डकीको तट र हिमाली भूभागको परिवेशमा सम्पन्न सम्मेलनको विशेष महत्व यसको भौगोलिक अवस्थितिमात्र होइन, देशभरका स्थानीय सरकारलाई जलवायु परिवर्तनको साझा मुद्दामा एउटै मञ्चमा ल्याउने प्रयासमा पनि रहेको छ ।

सम्मेलनमा ४३१ स्थानीय तह तथा ४१ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी भएको तथ्यले यसको राष्ट्रिय आयाम देखाउँछ । प्रारम्भिक तयारीमा देशका ७५३ वटै स्थानीय तहलाई सहभागिताका लागि आह्वान गरिएको थियो । यसले जलवायु परिवर्तन अब सङ्घीय सरकार वा वातावरणविद्हरूको मात्र विषय नभई नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेका स्थानीय सरकारको पनि जिम्मेवारीको विषय बनिसकेको संकेत गर्दछ । सम्मेलनको केन्द्रमा जलवायु न्याय रहेको थियो ।

नेपालले विश्वव्यापी उत्सर्जनमा न्यून योगदान गरे पनि हिमाली संवेदनशीलताका कारण ठूलो जोखिम व्यहोर्नुपरेको विषय सम्मेलनमा उठाइएको थियो । हिमनदी पग्लिने क्रम, हिमताल फुट्ने जोखिम, अनियमित हिमपात, हिमपहिरो, सुक्खा पहिरो, पानीका मुहान तथा सिँचाइमा देखिएका समस्या र त्यसको कृषि, पशुपालन तथा पर्यटनमा परेको प्रभावबारे छलफल गरिएको थियो । यस सम्मेलनले जलवायु परिवर्तनको बहसलाई विश्वव्यापी तापक्रम, कार्बन उत्सर्जन र अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट उठाएर स्थानीय जीवन, स्थानीय अर्थतन्त्र र स्थानीय शासनसँग जोड्ने प्रयास गरेको छ ।

हिमाली एजेन्डा र जलवायु कूटनीति

घरपझोङ सम्मेलनको अर्को महत्त्वपूर्ण पक्ष नेपालको हिमाली मुद्दालाई राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रिय जलवायु एजेन्डासँग जोड्नु हो । हिमालयमा भइरहेको परिवर्तनको प्रभाव नेपालका सीमाभन्दा बाहिरसम्म पुग्ने भएकाले हिमालय संरक्षणलाई विश्वव्यापी जलवायु उत्तरदायित्वको विषयका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता छ । 

नेपालले अन्तरराष्ट्रिय जलवायु मञ्चमा आफ्नो न्यून उत्सर्जन र उच्च जोखिमको अवस्थालाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै माउन्टेन एजेन्डा र जलवायु न्यायका विषयलाई सशक्त बनाउनुपर्ने आवश्यकता सम्मेलनले औँल्याएको छ । जलवायु कूटनीतिलाई विकास सहायता वा वित्त प्राप्त गर्ने प्रयासमा मात्र सीमित नगरी हिमाली पारिस्थितिक प्रणालीको संरक्षण र प्रभावित समुदायको अधिकारसँग जोड्नु आवश्यक देखिन्छ ।

घरपझोङ घोषणापत्र

सम्मेलनको महत्त्वपूर्ण उपलब्धिका रूपमा ४९ बुँदे घरपझोङ घोषणापत्र, २०८३ जारी गरिएको छ । घोषणापत्रले जलवायु संकटलाई वातावरणीय विषयमा मात्र सीमित नराखी राष्ट्रिय विकास, आर्थिक समृद्धि, सामाजिक न्याय र मानवअधिकारसँग जोडिएको बहुआयामिक संकटका रूपमा स्वीकार गरेको छ । 

जलवायु अनुकूल योजना, सुरक्षित बस्ती विकास, जलवायु–सहिष्णु कृषि, प्राकृतिक स्रोत संरक्षण, पानीका मुहान तथा हिमनदी संरक्षण, फोहर व्यवस्थापन र जोखिम न्यूनीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता यसमा समेटिएको छ ।

घोषणापत्रले समावेशी जलवायु शासनलाई पनि महत्व दिएको छ । महिला, युवा, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायलाई नीति तथा निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरिएको छ । 

जलवायु परिवर्तनको असर सबै समुदायमा समान नहुने भएकाले जोखिममा रहेका समुदायको अनुभव, आवश्यकता र स्थानीय ज्ञानलाई नीति निर्माणको आधार बनाउनु आवश्यक हुन्छ ।

यसैसँग परम्परागत ज्ञान र आधुनिक विज्ञानबीचको समन्वय पनि महत्त्वपूर्ण छ । हिमाली तथा ग्रामीण समुदायले पुस्तौँदेखि पानीका मुहान संरक्षण, स्थानीय बीउ, पशुपालन, प्राकृतिक स्रोत व्यवस्थापन र मौसमसम्बन्धी स्थानीय ज्ञान प्रयोग गर्दै आएका छन् । आधुनिक जलवायु विज्ञान, पूर्वचेतावनी प्रणाली र प्रविधिसँग यस्तो ज्ञानलाई जोड्न सकेमा जलवायु अनुकूलन अझ प्रभावकारी बन्न सक्छ । 

स्थानीय सरकार र जलवायु वित्त

सङ्घीय शासन प्रणालीमा नागरिकसँग सबैभन्दा नजिक रहेको सरकार स्थानीय तह हो । जलवायु परिवर्तनको वास्तविक प्रभाव पनि स्थानीय बस्ती, खेत, सडक, पानीका मुहान, विद्यालय, स्वास्थ्य संस्था र स्थानीय अर्थतन्त्रमा देखिन्छ । 

स्थानीय सरकारलाई जलवायु परिवर्तनको कार्यन्वयनकर्तामात्र होइन, नीति निर्माणको साझेदारका रूपमा स्थापित गर्न आवश्यक छ तर जिम्मेवारीसँगै स्रोत र क्षमता पनि आवश्यक हुन्छ । स्थानीय तहलाई पर्याप्त वित्तीय स्रोत, प्राविधिक जनशक्ति, सूचना, प्रविधि र संस्थागत क्षमता उपलब्ध गराउनुपर्छ ।

यसै सन्दर्भमा जलवायु वित्तमा स्थानीय पहुँच अत्यन्त महत्त्वपूर्ण विषय हो । अन्तर्राष्ट्रिय जलवायु वित्त स्थानीय तहसम्म प्रभावकारी रूपमा पुग्न नसकेमा वास्तविक जोखिममा रहेका समुदायले अपेक्षित लाभ पाउन सक्दैनन् । 

स्थानीय जोखिम, भौगोलिक संवेदनशीलता, जनसङ्ख्या र सामाजिक अवस्थालाई आधार बनाएर जलवायु वित्तको वितरण गर्नु आवश्यक देखिन्छ । जलवायु वित्तलाई स्थानीय तहका आवधिक योजना र वार्षिक बजेट प्रणालीसँग जोड्न सकिएमा जलवायु अनुकूलन कार्यक्रमलाई परिणाममुखी बनाउन सकिन्छ ।

प्रत्येक स्थानीय तहले आफ्नो स्थानीय जलवायु जोखिम नक्सा तयार गरी जोखिममा रहेका बस्ती, पानीका मुहान, कृषि प्रणाली, पूर्वाधार तथा बढी प्रभावित हुनसक्ने समुदाय पहिचान गर्न सक्छ । यसले जलवायु परिवर्तनको बहसलाई नाराबाट तथ्यमा आधारित र परिणाममुखी शासनतर्फ लैजान सक्छ ।

घोषणापत्रको कार्यान्वयनमा प्रतिबद्धता आवश्यक

कुनै पनि सम्मेलनको वास्तविक सफलता घोषणापत्र जारी हुनुमा मात्र निर्भर हुँदैन । घोषणापत्रको कार्यान्वयन नै यसको वास्तविक परीक्षा हो । ४९ बुँदे प्रतिबद्धता स्थानीय, प्रदेश र सङ्घीय सरकारका नीति तथा कार्यक्रमसँग कसरी जोडिन्छ, त्यसका लागि आवश्यक स्रोत कहाँबाट जुटाइन्छ, कार्यान्वयनको अनुगमन कसरी हुन्छ र प्राप्त उपलब्धिको मापन कसरी गरिन्छ भन्ने विषय निर्णायक हुनेछन् । 

यसका लागि घरपझोङ घोषणापत्रलाई राष्ट्रिय जलवायु नीति, राष्ट्रिय अनुकूलन योजना तथा स्थानीय तहका आवधिक योजना र वार्षिक बजेटसँग जोड्न आवश्यक छ ।

स्थानीय तहका योजना बनाउँदा जलवायु जोखिमलाई छुट्टै वातावरणीय कार्यक्रमका रूपमा मात्र नभई कृषि, खानेपानी, सडक, स्वास्थ्य, पर्यटन, बस्ती विकास, विपद् व्यवस्थापन र स्थानीय आर्थिक विकासका सबै क्षेत्रमा मूलप्रवाहीकरण गर्नुपर्छ ।

सम्मेलनले ‘स्थानीय सरकार जलवायु पार्क’ स्थापना गर्ने घोषणा गर्नुका साथै प्रत्येक दुई वर्षमा राष्ट्रियस्तरको जलवायु सम्मेलन आयोजना गरी संवाद र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यी पहलहरूलाई ज्ञान, अनुभव, प्रविधि र असल अभ्यास आदानप्रदान गर्ने संस्थागत मञ्चका रूपमा विकास गर्न सकिएमा यसको दीर्घकालीन उपयोगिता अझ बढ्न सक्छ ।

यस सम्मेलनको मूल सन्देश यही हो कि जलवायु परिवर्तनको समाधान केन्द्रबाट मात्र आउँदैनस यसको समाधान स्थानीय समुदायबाट पनि निर्माण हुनुपर्छ । हिमालको समस्या हिमालमै सीमित छैन र तराईको बाढी तराईमै सीमित छैन । जलवायु परिवर्तनले हिमाल, पहाड र तराईलाई फरक–फरक रूपमा प्रभावित गरिरहेको छ । त्यसैले स्थानीय अनुभव, ज्ञान, आवश्यकता र नवप्रवर्तनलाई राष्ट्रिय जलवायु रणनीतिको अभिन्न हिस्सा बनाउनुपर्छ ।

जलवायु परिवर्तनका क्षेत्रमा विश्वले महत्त्वपूर्ण प्रयास र केही उपलब्धि हासिल गरेको भए पनि चुनौती अझ गम्भीर छ । त्यसैले अबको जलवायु नीति उत्सर्जन घटाउने विषयमा मात्र केन्द्रित हुनु पर्याप्त हुँदैन । कसले बढी योगदान गर्यो, कसले बढी क्षति व्यहोर्यो, स्रोत कसरी न्यायपूर्ण रूपमा वितरण हुन्छ र भावी पुस्ताको अधिकार कसरी सुरक्षित हुन्छ भन्ने प्रश्नलाई पनि केन्द्रमा राख्नुपर्छ । 

नेपालका लागि जलवायु सङ्कट चुनौतीमात्र होइन, विकासको नयाँ बाटो रोज्ने अवसर पनि हो । हरित ऊर्जा, जलवायु–सहिष्णु कृषि, वातावरणमैत्री पर्यटन, वन तथा जलाधार संरक्षण, हरित रोजगारी र स्थानीय नवप्रवर्तनमार्फत जलवायु–अनुकूल अर्थतन्त्र निर्माण गर्न सकिन्छ तर यस्तो विकासको लाभ र लागत न्यायपूर्ण रूपमा वितरण हुनुपर्छ ।

यस अर्थमा घरपझोङ सम्मेलनलाई नेपालको जलवायु शासनमा स्थानीय आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु एजेन्डासँग जोड्ने महत्त्वपूर्ण प्रयासका रूपमा लिन सकिन्छ । यसको वास्तविक महत्व सम्मेलन सम्पन्न भएको घटनामा होइन, यसले उठाएका सवाल कति गहिरोसँग नीति, योजना, बजेट, संस्था र व्यवहारमा रूपान्तरण हुन्छन् भन्ने कुरामा निर्भर हुनेछ । 

घरपझोङको ४९ बुँदे प्रतिबद्धता स्थानीय तहको योजना र बजेटमा, स्थानीय जलवायु जोखिमको नक्सामा, जलवायु वित्तको न्यायपूर्ण पहुँचमा, हिमाली एजेन्डाको अन्तरराष्ट्रिय पैरवीमा र नागरिकको दैनिक जीवनमा रूपान्तरण हुन सक्यो भने घरपझोङ एउटा सम्मेलन स्थलको नाममा सीमित रहने छैन । त्यो जलवायु न्याय, स्थानीय शासन र हिमाली आवाजलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रतीक बन्नसक्छ । 

जलवायु परिवर्तनविरुद्धको हाम्रो यात्रा केवल पृथ्वीको तापक्रम घटाउने यात्रा होइनस यो मानव जीवन सुरक्षित गर्ने, प्रकृति जोगाउने, विकासलाई न्यायपूर्ण बनाउने र भावी पुस्ताप्रति हाम्रो दायित्व पूरा गर्ने यात्रा हो । यही यात्रामा घरपझोङको आवाजले स्थानीय अनुभवलाई राष्ट्रिय सङ्कल्प र राष्ट्रिय सङ्कल्पलाई विश्वव्यापी जलवायु न्यायसँग जोड्ने सेतुको भूमिका निर्वाह गर्नसक्छ ।

राससबाट

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १ : २९ बजे

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही