काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक खण्ड, गर्जाङ खोला र बलेफी खोला जलविद्युत आयोजना तथा सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिइएको छ ।
त्यस्तै, पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक, संघीय निजामती सेवासम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताए ।
पोखरेलका अनुसार मन्त्रिपरिषद्ले नेपाल प्रशासन सेवा समूहीकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीका सहसचिव आभास श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरी, बैठकले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीमा डा. जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।














प्रतिक्रिया