काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि यशा सागर प्रस्तोता (होस्ट) को रूपमा आउने भएकी छन् ।
एनपीएलले सामाजिक सञ्जालमार्फत यशालाई तेस्रो सिजनको होस्टका रूपमा प्रस्तुत गरेको हो । एनपीएलले ‘नेपाल, तयार हुनुहोस्’ भन्दै यशाको आगमनबारे जानकारी गराएको छ ।
क्यानडाकी मोडल, अभिनेत्री तथा फिटनेस इन्फ्लुएन्सर यशा सागरले सन् २०१७ मा पञ्जाबी संगीत क्षेत्रबाट आफ्नो करिअर सुरु गरेकी थिइन् । उनले पञ्जाबी, हिन्दी र तेलुगुसहित ३० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
भारतको पञ्जाबमा जन्मिएकी यशाले भारतमै स्नातक तहको अध्ययन पूरा गरेपछि थप अध्ययनका लागि सन् २०१५ को डिसेम्बरमा क्यानडा पुगेकी थिइन् । अध्ययनकै क्रममा पूर्वसहपाठीको म्युजिक भिडियोमा मुख्य भूमिकाका लागि प्रस्ताव पाएपछि उनको अभिनय तथा मोडलिङ यात्रा अघि बढेको हो ।
यशाले एनपीएलका समर्थक र नेपालको अनुभवलाई लिएर आफू निकै उत्साहित रहेको बताएकी छन् । उनले नेपाली समर्थकको क्रिकेटप्रतिको उत्साहबारे आफूले धेरै सुनेको भन्दै उनीहरूसँग भेट्न, नेपाली खाना र संस्कृति अनुभव गर्न उत्साहित रहेको बताइन् ।
एनपीएलको यसअघिको सिजनमा जेस क्रोए होस्टका रूपमा रहेकी थिइन् । तेस्रो सिजनका लागि भने एनपीएलले यशालाई होस्टका रूपमा घोषणा गरेको हो ।
एनपीएलको तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ सम्म हुँदैछ ।














प्रतिक्रिया