बनेपा– बिहानको पाँच बजेसम्म पनौतीको जनजीवन शान्त देखिन्छ । अधिकांश मानिस निद्रामै रहेका बेला स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन् ।
यही शान्त वातावरणबीच पनौती नगरपालिका–९, बिजुली हाइड्रोपावरनजिकै रोशी कृषि फार्ममा २९ वर्षीय देवराज स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन् ।
बिहान ३ः३० बजेसम्म च्याउ टिपिसकेपछि उनलाई उत्पादित च्याउ तरकारी बजारसम्म पुर्याउने चटारो हुन्छ । परिवारसँगै बसेर आफ्नै देशमा केही गर्ने अठोटका साथ उनले अंगालेको व्यावसायिक च्याउखेतीको दैनिकी हो, यो ।
वैदेशिक रोजगारीमा १० वर्ष बिताएर स्वदेश फर्किएका स्याङ्तान अहिले च्याउखेतीमार्फत आफ्नै गाउँठाउँमा भविष्य देखिरहेका छन् ।
विदेशमा रहँदा परिवारबाट टाढा बिताएका दिन र भोग्नु परेको अभावले उनलाई आफ्नै परिवारसँग बसेर च्याउखेतीमा लाग्ने चाहना जाग्यो ।
लामो समय परदेशमा श्रम गर्दा परिवारसँगै बसेर सुखदुःख बाँड्ने अवसर कम भएपछि उनले स्वदेशमै केही गर्ने निर्णय गरे । त्यसपछि विदेशमा अरूका लागि श्रम गर्नुभन्दा स्वदेशमै पसिना बगाएर आत्मनिर्भर बन्ने बाटो रोजे।
‘विदेशमा परिवारको अभावमा बिताएका दिन बिर्सन सकिनँ । त्यसैले आफ्नै परिवारको काखमा रहेर सुखदुःख भोग्दै, च्याउ खेतीमा लागेको हुँ’, स्याङ्तानले भने।
परिवारले गर्दै आएको पेसालाई निरन्तरता दिने सोचका साथ च्याउखेतीमा लागेका उनका लागि यो व्यवसाय नयाँ भने होइन । उनका बाआमाले विसं २०६५ देखि नै च्याउखेती गर्दै आएका थिए । परिवारले गर्दै आएको उक्त पेसा उनका लागि पुरानो थियो ।
विदेशबाट फर्किएपछि उनले पारिवारिक व्यवसायलाई निरन्तरता दिँदै विस्तार गर्ने योजना बताए । परिवारबाट प्राप्त अनुभव र सीपलाई व्यावसायिक रूपमा अघि बढाउने उनको प्रयास अहिले च्याउखेतीमा केन्द्रित छ ।
करिब तीन रोपनी जग्गा भाडामा लिएर च्याउखेती सुरु गर्नु भएका स्याङ्तानले सुरुमा २० हजार लगानीमा पाँचवटा टनेल बनाएका थिए भने अहिले उनीसँग २७ टनेल पुगेका छन् ।
उक्त टनेल निर्माणमा उनले २१ लाख ६० हजार लगानी भएको जानकारी दिए । व्यवसाय विस्तार हुँदै जाँदा आफ्नै पुँजीले नपुगेपछि सहकारीबाट ऋण लिएको छ । सानो लगानीबाट सुरु भएको व्यवसायलाई अहिलेको अवस्थामा पुर्याउन निरन्तर मेहनतसँगै थप पुँजी आवश्यक परेको उनको अनुभव छ ।
कृषि व्यवसायमा उत्पादन बढाउन समय, श्रम र व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण हुने उनी बताउँछन्। व्यवसायमा उनलाई परिवारको साथ र सहयोग छ । बाआमा, भाइ र बुहारी मिलेर टनेलको काम तथा हेरचाह गर्छन्। च्याउ टिप्ने, टनेलको हेरचाह गर्ने र उत्पादन व्यवस्थापन गर्ने काममा परिवारका सदस्यको सहकार्य रहँदै आएको छ ।
स्याङ्तान खेतीसम्बन्धी ज्ञान थप विस्तार गर्न सक्रिय छन्। उनले अहिले अनलाइनमार्फत कक्षा लिइ रहेका छन् । परम्परागत अनुभवसँगै नयाँ प्रविधि र ज्ञान सिक्न सके उत्पादनलाई व्यवस्थित बनाउन सकिने उनको विश्वास छ ।
च्याउखेतीमा उत्पादन गर्नु मात्र पर्याप्त हुँदैन । उत्पादित च्याउको गुणस्तर कायम राख्न नियमित हेरचाह र बजार व्यवस्थापनमा ध्यान दिनुपर्छ ।
स्याङ्तानले च्याउलाई रोग तथा कीराबाट जोगाउन र टनेलभित्र आवश्यक वातावरण कायम राख्न विशेष ध्यान दिने गरेका छन् ।
च्याउको बीउ राखेको करिब २१ दिनदेखि चार साताभित्र च्याउ टिप्न सकिन्छ । एक टनेलमा करिब ४४० प्याकेट राख्ने गरिएको छ । त्यसबाट एकलटमा करिब ८०० देखि ९०० किलोसम्म च्याउ उत्पादन हुने गरेको छ ।
एक वर्षमा एउटा टनेलमा दुईलटमा च्याउ उत्पादन गर्न सकिन्छ । उत्पादनको मात्रा बढाउन र गुणस्तर कायम राख्न टनेलको व्यवस्थापनदेखि च्याउ टिप्ने समयसम्म मेहनत गर्नुपर्छ ।
च्याउखेतीका लागि आवश्यक पराल डिलरमार्फत ल्याउने गरिएको छ । बीउ काठमाडौँ र भक्तपुरबाट खरिद गरिन्छ । खेतीका लागि आवश्यक सामग्रीको व्यवस्थापनदेखि उत्पादित च्याउ बिक्री गर्ने प्रक्रियासम्म जुट्नुपर्छ ।
करिव राति १ बजेदेखि च्याउ टिप्न सुरु गर्नुपर्छ । बिहान ३ः३० बजेदेखि ४ बजेसम्म टिपि सक्नुपर्छ । त्यसपछि तरकारी बजार खुल्ने बित्तिकै उत्पादित च्याउ बजार पुर्याउनु पर्छ ।
च्याउखेतीमा उत्पादनसँगै समय व्यवस्थापन र बजारसम्मको पहुँच उत्तिकै महत्त्वपूर्ण हुने गरेको छ । स्याङ्तानले उत्पादन गर्दै आएका कन्या ९अयस्टर० च्याउ अहिले थोकमा प्रतिकिलो १५० मा बिक्री हुने गरेको छ ।
बजारमा च्याउ बिक्री भए पनि उत्पादन लागत र आफ्नो श्रमअनुसार उचित मूल्य पाउन नसक्दा व्यवसायबाट अपेक्षित प्रतिफल लिन चुनौती भइरहेको छ ।
उनका अनुसार च्याउ बिक्रीबाट एक वर्षमा १३ लाखसम्म कुल आम्दानी हुने गरेको छ ।
उक्त रकम उत्पादन लागत, टनेल व्यवस्थापन, श्रम तथा अन्य खर्च कटाउनु अघिको आम्दानी हो । एउटा टनेलबाट एक वर्षमा उत्पादन हुने दुई लटको कुल आम्दानी करिब रु ५० हजार हुने उनले बताए।
गत वर्ष स्थानीय सरकारबाट अनुदान स्वरूप दुई लाख प्राप्त भएपछि व्यवसाय विस्तारमा सहयोग पुगेको उनले बताए।
च्याउखेतीमा आवश्यक प्राविधिक ज्ञान, सीप, उत्पादन व्यवस्थापन र बजारसम्बन्धी सहयोग सँगै सरकारी अनुदान तथा सहुलियत पूर्ण ऋणको व्यवस्था हुन सके आफूजस्ता किसानलाई व्यावसायिक रूपमा अघि बढ्न थप सहज हुने उनी बताउँछन् ।
सरकारी निकायबाट प्रविधि र आवश्यक सहयोग प्राप्त भए उत्पादन बढाउनुका साथै व्यवसायलाई थप व्यवस्थित बनाउन सकिने उनको विश्वास छ ।
परदेशको अनुभवलाई स्वदेशको श्रमसँग जोडेर कृषि व्यवसायमा भविष्य खोजि रहेका स्याङ्तानको यात्राले आफ्नै गाउँठाउँमा उद्यम गर्ने सम्भावना देखाएको छ।














प्रतिक्रिया