काठमाडौं– बलिउडको चर्चित फिल्म फ्रेन्चाइज ‘स्टुडेन्ट अफ द इयर’ यसपटक प्रेम, ग्ल्यामर र कलेज जीवनभन्दा फरक कथासहित दर्शकमाझ आउने भएको छ।
करण जोहरको निर्माणमा बन्न लागेको नयाँ वेब सिरिज ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’को ट्रेलर सार्वजनिक भएको छ। यसमा अभिनेत्री शनाया कपुर दोहोरो भूमिकामा देखिनेछिन्।
सिरिजको कथा सेन्ट टेरेसा हेरिटेज स्कुलकी विद्यार्थी आयशा मलिकको रहस्यमय मृत्युसँग सुरु हुन्छ। पोखरीमा आयशाको शव भेटिएपछि उनको मृत्यु हत्या हो वा दुर्घटना भन्ने प्रश्न उठ्छ। यही रहस्यको पर्दाफास गर्न आयशाकी जुम्ल्याहा बहिनी अदिति स्कुलमा भर्ना हुन्छिन्।
सत्यको खोजीमा लागेकी अदितिले आयशाका नजिकका साथी, रुममेट र प्रेमीमाथि शङ्का गर्न थाल्छिन्। उनीहरू सबैले केही न केही लुकाइरहेको आशङ्काबीच अदिति स्कुलको वार्षिक ‘स्टुडेन्ट अफ द इयर’ प्रतियोगितामा समेत सहभागी हुन्छिन्। यसरी प्रतियोगिता, सम्बन्ध र रहस्यबीच अघि बढ्ने कथाले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।
सन् २०१२ मा प्रदर्शन भएको पहिलो ‘स्टुडेन्ट अफ द इयर’मा आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा थिए। यसको दोस्रो भाग सन् २०१९ मा आएको थियो। यसपटक भने फ्रेन्चाइजले कलेजको रमाइलो वातावरणबाट हत्या रहस्य र रोमाञ्चतर्फ कथा मोडेको छ।
रीमा मायाको निर्देशनमा बनेको सिरिजका निर्माता करण जोहर हुन्। ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ नोभेम्बर १३ देखि जियोहटस्टारमा स्ट्रिमिङ हुनेछ। यसै सिरिजमार्फत शनाया कपुरले ओटीटीमा डेब्यु गर्दैछिन्।














प्रतिक्रिया