७८ वर्षमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन्, ‘अब ढुक्कले मर्छु’ « Khabarhub

७८ वर्षमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन्, ‘अब ढुक्कले मर्छु’


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सिरहा– अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो । 

स्थानीयवासी भन्दथे, ‘अब यो उमेरमा के नागरिकता बनाउँछौँ आमा ?’ तर, यादवलाई ‘अनागरिक’ भएर मर्ने इच्छा थिएन । बुधबार जब सिरहाको जिल्ला प्रशासन कार्यालयबाट उनले आफ्नो नागरिकताको प्रमाणपत्र प्राप्त गरिन्, उनका आँखा रसाए । हर्ष र बेदना एकैपटक छचल्कियो । यो केवल एउटा कागजको पाना थिएन, उनको आठ वर्षको सङ्घर्ष र तिरस्कारपछिको विजय थियो ।

औरही गाउँपालिका—३ पिपरामा जन्मिएकी यादवले २०२३ सालमा नवराजपुर–४ का बौवेलाल यादवको कान्छी श्रीमतीका रूपमा भित्रिएकी थिइन् । जेठी श्रीमतीका चार छोरी भए पनि कपलेश्वरीका आफ्नै सन्तान भएनन् । २०३१ सालमा श्रीमान्को निधन भएपछि उनी सहाराविहीन भइन् । 

आफ्ना नातेदार र माइतीतर्फका दाजुभाइ सबैको वंशजको नागरिकता भए पनि कपलेश्वरी भने नागरिकताको मूल ढोकामै रोकिएकी थिइन् । 

श्रीमान्को मृत्युपछि अंशका लागि उनले अदालतमा ‘हक कायम’ मुद्दा लडेर जितिन् । अंश मुद्दा जितेर साढे ११ धुर जग्गा त पाइन्, तर त्यही जग्गाको लालपुर्जा र आफन्तका सबै प्रमाण हुँदाहुँदै पनि उनले नागरिकता पाउन सकिनन् । 

माइतीले दिएको छ कट्ठा जग्गा पनि उनकै नाममा थियो । तर, विडम्बना ! नागरिकता नहुँदा न उनले त्यो जग्गा बेचबिखन गर्न पाइन्, न आफूलाई बुढेसकालमा पाल्ने नातिको नाममा नामसारी गर्न नै सकिन् । उनको बाटोमा तगारो बनेका थिए, गाउँकै जनप्रतिनिधि । विभिन्न कारणले वडा कार्यालयले सिफारिस दिन पटक–पटक इन्कार गरिरह्यो ।

 उनमाथि ‘स्थानीय बासिन्दा नै नभएको’ झुटो मुद्दासमेत हालियो । ‘आफ्नै गाउँमा पराई जस्तो हुनुपर्दाको पीडा सुनाउने ठाउँ कतै थिएन,’ ती दिन सम्झँदै उनका नाति रामपरीक्षण यादव भन्छन् । 

कपलेश्वरीका आफूपट्टिका न त सन्तान छन्, न सहारा दिने श्रीमान् । बुढेसकालले छोप्दै ल्याएपछि उनलाई एउटै चिन्ता थियो, अब बाँकी जीवन कसरी काट्ने ? सरकारले दिने सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउन पनि नागरिकता अनिवार्य थियो । तर, वडाको दैलोबाट रित्तो हात फर्किँदा उनी धेरै पटक रोइन् । 

सञ्चारमाध्यममा नागरिकता प्राप्तिको लागि उनले गरेको सङ्घर्षको कथा आएपछि र गाउँपालिका अध्यक्ष शिवउद्गार यादवले विशेष पहल गरेपछि आठ वर्षपछि मात्र उनको प्रशासनिक उल्झन सुल्झियो । अदालतको ढोका र प्रशासनको चक्कर सकिएपछि बल्ल उनले राज्यको नागरिक हुनुको गौरव महसुस गरिन् । 

आफ्नी हजुरआमाको हकका लागि वडादेखि अदालतसम्म धाउने नाति रामपरीक्षण यादव अहिले निकै खुसी भएका छन् । उनले प्रफूल्लित हुँदै भने, ‘हजुरआमाले यो उमेरमा आएर न्याय पाउनुभयो, यसैमा म धेरै खुसी छु । नागरिकता नहुँदा उहाँले आफ्नो जग्गा जमिनको उपभोग गर्न पाउनुभएको थिएन र वृद्ध भत्ताबाट पनि वञ्चित हुनुहुन्थ्यो ।’

‘अब उहाँले राज्यको नागरिक हुनुको गौरव महसुस गर्न पाउनुहुनेछ । यो हाम्रो परिवारका लागि ठूलो जित हो ।’ नागरिकता सुमसुम्याउँदै कपलेश्वरीले भावुक भएर भनिन्, ‘छोराछोरी छैनन्, सहारा दिने कोही थिएन । अब सरकारले दिने भत्ताले थोरै भए पनि ओखतीमुलो र खाने खर्च पुग्छ । कम्तीमा अब आफ्नै देशको नागरिक भएर ढुक्कले मर्न पाउने भएँ ।’

७८ वर्षको उमेरमा पाएको यो नागरिकताले कपलेश्वरीलाई केवल आर्थिक राहत मात्र होइन, एउटा परिचय र सम्मान पनि दिएको छ । 

आफ्नी हजुरआमाले आठ वर्ष भोग्नुपरेको सास्ती सम्झँदै नाति रामपरीक्षण राज्य संयन्त्रलाई प्रश्न गर्छन्, ‘हजुरआमा जस्ता धेरै वृद्धवृद्धा अझै पनि प्रशासनिक झमेलामा अल्झिरहेका छन्, सबै प्रमाण र अदालती फैसला हुँदाहुँदै पनि एउटा नागरिकले आफ्नो परिचय पाउन किन आठ वर्ष कुर्नुपर्छ ?’ रासस
 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १२ : २२ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग