काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा परेका छन् । धार्मिक भावनामा चोट पुर्याएको आरोपमा उनीविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता गरिएको छ ।
बेंगलुरुको हाई ग्राउण्ड्स प्रहरीले रणवीर सिंहविरुद्ध मुद्दा दर्ता गरेको हो । अतिरिक्त मुख्य महानगर मजिस्ट्रेट अदालतको निर्देशनपछि यो कारबाही गरिएको हो । बेंगलुरुका ४६ वर्षीय अधिवक्ता प्रशान्त मेथालले उजुरी दिएका हुन् ।
भारतीय मिडिया अनुसार यो घटना २०२५ नोभेम्बर २८ मा गोवामा सम्पन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव को समापन समारोहका क्रममा भएको हो । मञ्चमा उपस्थित हुँदा रणवीर सिंहले फिल्म ‘कान्तारा: च्याप्टर १’ बाट प्रेरित अभिनय प्रस्तुत गरेका थिए । तर उजुरीकर्ताको दाबी अनुसार उनले कर्नाटकको तटीय क्षेत्रमा अत्यन्तै पवित्र मानिने भूत कोला परम्परासँग सम्बन्धित पञ्जुरली र गुलिगा दैवको हाउभाउलाई मजाकिया र अपमानजनक ढंगले नक्कल गरेका थिए ।
त्यति मात्रै होइन, उजुरीमा रणवीर सिंहले स्थानीय रूपमा पूजिने रक्षक देवता चावुण्डी दैवलाई “महिला भूत” भनेर सम्बोधन गरेको आरोप पनि लगाइएको छ । उजुरीकर्ता प्रशान्त मेथालले चावुण्डी दैव आफ्नो कुलदेवता भएको बताउँदै यस्तो प्रस्तुतिले आफू मात्र होइन, हजारौँ भक्तहरूको धार्मिक भावना गहिरो रूपमा आहत भएको बताएका छन् ।
उनले यो कार्यलाई ईश्वर निन्दा को रूपमा व्याख्या गरेका छन् । उजुरीमा यो पनि उल्लेख छ कि रणवीर सिंहलाई मञ्चमा दैव परम्पराको अभिनय नगर्न आग्रह गरिएको थियो । तर आग्रह बेवास्ता गर्दै उनले भावनात्मक दृश्य प्रस्तुत गरेको आरोप छ । घटनाको भिडियो क्लिप पछि सोसल मिडियामा भाइरल भयो ।
त्यसपछि भक्तजनहरूबीच आक्रोश फैलिएको र साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने अवस्था सिर्जना भएको उजुरीमा भनिएको छ। प्रहरीले रणवीर सिंहविरुद्ध भारतीय न्याय संहिता, २०२३ का धारा १९६, २९९ र ३०२ अन्तर्गत मुद्दा दर्ता गरेको छ।
यी धाराहरू धार्मिक भावना आहत पार्ने र सामाजिक सद्भाव बिगार्ने कार्यसँग सम्बन्धित छन् । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ । रणवीर सिंह वा उनका प्रतिनिधिबाट भने हालसम्म आधिकारिक प्रतिक्रिया आएको छैन ।













प्रतिक्रिया