काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो आस्था र अस्तित्वसँग जोडिएको विषय भएकाले कांग्रेसका सबै उम्मेदवारलाई जिताउनु जरुरी रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यसपालि जनतामाझ लोकप्रिय उम्मेदवार तय गरेको बताए । कतिपयलाई मन भएको र चित्त समेत दुखेको भए पनि पार्टी एकता कायम राख्ने गरी टिकट वितरण गरिएको उनले बताए ।
महामन्त्री पौडेलले भने, पार्टीलाई धेरै सिट जिताउन एकता कायम गर्नु आवश्यक छ । यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए ।
पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने तयारी गरेको उल्लेख गर्दै महामन्त्री पौडेलले भने सच्चिने र सच्याउने प्रक्रियामा अझ धेरै काम गर्नु जरुरी छ । देश विकासमा प्रष्ट दृष्टिकोण समेट्ने घोषणापत्र आउनेछ । निर्वाचनमा परिणाम ल्याउने गरी सबै लाग्न जरुरी रहेको बताएका उनले सामाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गरे ।
हाम्रा १० लाख सक्रिय सदस्य छन्, उनले भने कम्तिमा पनि तीन लाख सदस्य सामाजिक सञ्जालमा सक्रिय हुने हो भने हाम्रा पक्षमा माहोल सिर्जना हुन्छ । हामा उम्मेदवार र पार्टीको बदलिएको नीतिका पक्षमा सबैले सक्दो पोष्ट गरौं ।
यस्तो अवस्थामा पार्टीलाई चुनाव जित्न र बदलिएको सन्देश आम नागरिकसमक्ष पुर्याउन सहज हुने समेत महामन्त्री पौडेलले बताए ।













प्रतिक्रिया