काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना सदियौँदेखि हुँदै आएको विभेदको औपचारिक स्वीकारोक्ति भएको बताएकी छन्। सरकारले चालेका पछिल्ला सुधारात्मक कदम र सामाजिक न्यायका विषयमा टिप्पणी गर्दै उनले क्षमा माग्नुलाई गल्ती सुधारको पहिलो खुड्किलोका रूपमा अर्थ्याएकी हुन्।
“जब क्षमा मागिन्छ, तब गल्ती स्वीकार गरिएको हुन्छ। धेरैलाई यो सामान्य लाग्न सक्छ, तर यो क्षमायाचना राज्यले सदियौँदेखि विभेद गर्दै आएको थियो भन्ने कुराको स्वीकारोक्ति हो,” बमले भनिन्। उनले विभेदको स्वीकारोक्तिपछि अब त्यस्तो अवस्था दोहोरिन नदिन संरचनागत सुधारमा जोड दिनुपर्ने आवश्यकता औँल्याएकी छन्।
आफ्नो व्यक्तिगत अनुभव साट्दै उनले हुर्कने क्रममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभेद देखेको र जान्दाजान्दै वा नजान्दै त्यसको हिस्सेदार समेत बनेको स्वीकार गरेकी छन्। “यो समाजको संरचनागत लाभ पाएको एक नागरिकको नाताले, म पनि सरकारसँगै उभिएर दलित, सीमान्तकृत तथा बहिष्करणमा परेका समुदायसँग माफी माग्न चाहन्छु,” उनले भावुक हुँदै भनेकी छन्।
भविष्यमा यस्ता गल्तीहरू नदोहोरिने सुनिश्चितताका लागि राज्य र नागरिक दुवै तहबाट गम्भीर आत्मसमीक्षा र प्रणालीगत परिवर्तन हुनुपर्ने उनको तर्क छ। जेनजी आन्दोलनमार्फत सामाजिक न्याय र शासकीय सुधारका मुद्दा उठाउँदै आएकी बमले समावेशी र समतामूलक समाज निर्माणका लागि यो माफी एउटा प्रस्थानविन्दु हुनुपर्ने बताएकी छन्।













प्रतिक्रिया