आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा « Khabarhub

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो । कर्मा तामाङको विगत यस्तो छ– उनलाई बाटोमा भेटेको पैसा पनि टिप्न डर लाग्थ्यो ।

सामान्यतया प्रायः सबैले बाटोमा भेटेको पैसा टिप्छन् । तर कर्मालाई डर लाग्थ्यो । फेरि उनको यो आदर्श बानी पक्कै थिएन, डरको उपज थियो ।

कस्तो डर ?

कर्मालाई सानैदेखि गोजीमा पैसा बोक्ने रहर । कृषि परिवारमा आश्रित बुवा–आमाको आम्दानी कर्मालाई सधैँ पैसा दिने स्तरको थिएन ।

तर, कर्मा घरको पैसा चोरेरै भए पनि गोजी खाली हुन दिँदैनथे । कर्मा भन्छन्, ‘मैले एक पटक घरको १५०० रुपैयाँ चोरेको थिएँ । अनि सहकारीमा गएर ५०–५० को नोट साटेको थिएँ । गोजीभरी पैसा राखेर हिँड्ने रहर के !’ अर्थात्, कर्मालाई पैसाको त्यति सोख थियो ।

चोरेकै पैसाले गर्ने केही होइन । कर्मा भन्छन्, ‘साथी भाइलाई खाजा खुवाइने, आफू पनि खाने ।’

कर्मालाई ‘घरको पैसा कहिलेदेखि चोरेँ’ भन्ने थाहा छैन । उनको यो थाहा नपाउँदा देखिकै बानी हो ।

तर, कहिले अन्तिम चोटी चोरेको भन्ने प्रष्ट थाहा छ । त्यो घटनाका बेला कर्मा किशोरावस्थामा पुगिसकेका थिएनन् ।

चोर्न भनेर एक पसलमा दिउँसै छिरेका थिए । पसलेले देखे । कर्मा भन्छन्, ‘म त्यसभन्दा अघि घरकै पैसा मात्र झिक्थेँ । त्यो दिन मेरो ‘लेवल अप’ भयो । पहिलो पटक नै समातिएँ ।’

समातिएपछि पसलले कर्मालाई बाँधे । बुवा बोलाएर जिम्मा लगाए । यो घटनाले कर्मालाई लाज भयो । गलत बाटोमा हिँडेकामा पश्चाताप भयो । स्कुलका शिक्षकहरूले पनि यो घटना थाहा पाए । साथीभाइ अगाडि पनि उनलाई शरम लाग्यो ।

यो घटनाले विकसित भएको मानसिकता सुनाउँदै उनी भन्छन्, ‘त्यसपछि त मलाई बाटोमा भेटेको पैसा पनि टिप्न डर भयो ।’

कर्मा आफ्नो यो विगतबारे खुलेरै कुरा गर्छन् । कारण– आफ्नो सन्तानबारे अभिभावकहरू सचेत रहून् भन्ने उनको उद्देश्य हो ।
कर्माको बाल्यकालको यो एक गम्भीर बदमासी हो । तर, बदमासी यतिमा मात्रै सीमित छैन । अरु पनि छन्, जुन उनले खबरहबसँग सेयर गरेका छन् ।

काठमाडौँ भाग्ने इच्छा

कर्मा ०५९ सालमा काठमाडौंको असन आसपासमै जन्मिएका हुन् । उनी सानै छँदा बुवा–आमा जन्म थलोको सम्पत्ति रक्षाका लागि काभ्रे गए । काठमाडौँमा जन्मिए पनि उनको हुर्काइ काभ्रेको नमोबुद्ध नगरपालिकाको एक गाउँमै भयो ।

कर्मामा घर छोडेर काठमाडौँ भाग्ने इच्छा सानैदेखि थियो । अलिकति पैसा भयो कि काठमाडौँ भागिहाल्ने । उनी भन्छन्, ‘काठमाडौँ आएर के गर्ने? किन भाग्ने ? मलाई थाहा थिएन । मात्रै भाग्ने इच्छा ।’

एक पटक गोजीमा फुटेको कौडी नहुँदा पनि सहचालकलाई छक्काएर भाडा नतिरी काठमाडौँ आइपुगेको घटना उनीसँग छ ।

दालमोठको लोभले कर्माले तास खेल्न सिकेका हुन् । कर्मा भन्छन्, ‘बुवा तास खेल्नुहुन्थ्यो । २ रुपैयाँ पोइन्ट म्यारिज खेल्नुहुन्थ्यो । जित्यो भने एक पोइन्ट (दुई रुपैयाँ) दिनुहुन्थ्यो । त्यति भए दालमोठ आइहाल्थ्यो ।’

यही दालमोठको लोभले बुवाले खेलेको हेर्दाहेर्दै तास सिकेको उनी बताउँछन् । उनी भन्छन्, ‘यही तास खेल्ने र काठमाडौँ भाग्ने बानीले उनको पढाइ पनि बिग्रियो । कक्षा ६ सम्म पहिलो हुन्थेँ । त्यसपछि त पास मात्रै ।’ कक्षा ९ मा पुगेपछि त कर्मा काठमाडौँमै बस्ने गरी भाग्न सफल भए ।

यसबेला कर्मा हुर्किसकेका थिए । ज्यालादारीको काम गरको पैसाले काठमाडौँको बाटो खर्च जोहो गरेका थिए ।

कर्मा भन्छन्, ‘साथीलाई फोन गरेर काम खोज्न लगाएर भागेको थिएँ । साथीले आफैँ काम गर्ने कलेजको क्यान्टिमा काम खोजिदिएको थियो ।’

त्यसबेला काठमाडौं आएको खबर सुनाउँदा बुवा–आमाले समेत उनलाई गाली गरेनन् । गाली नगर्नुको कारणबारे कर्मा भन्छन्, ‘मैले उहाँहरूलाई वाक्कै पारेको थिएँ ।

पहिला चोर्ने बानी थियो, त्यसपछि तास खेल्ने र काठमाडौँ भाग्ने बानी भयो । उहाँहरूलाई अब यसलाई केही गर्न सकिँदैन भन्ने भएको थियो । त्यही भएर पढाइ छोडेर काठमाडौँ आएँ भन्दा पनि गाली गर्नुभएन ।’ जबकि कर्माको पढाइ ९ कक्षाको मध्यमा पुगेको थियो ।

क्यान्टिमा १५ दिन काम गरेपछि दशैँको बिदा भयो । १५ दिनको तलब उनको हातमा तीन हजार आइपुग्यो ।

उनी फेरि फर्किने सोचले नै दशैँ मनाउन काभ्रे गएका थिए । तर, जुत्तासहित एक सेट कपडा, गाडी भाडा र घरमा कोसेली किनेपछि फर्किन गाडीभाडा बचेन ।

कर्मा भन्छन्, ‘घरमा काठमाडौँ फर्किन्छु पैसा दिनु भनेको दिनुभएन । अनि उतै बसेँ ।’

त्यसपछि भने कर्माको ध्यान पढाइमा बस्यो । ९ को आधा वर्ष र १० मा राम्ररी पढे । त्यसको प्रभाव एसईईको नतिजामा देखियो । कर्मा हाँस्दै भन्छन्, ‘म स्कुलको एसईई टपर हो । अरु नजान्ने भएर हो कि !’

कमेडीको चस्का

कक्षा १० मा पढ्दा कर्मालाई कमेडीको चस्का पस्यो । स्कुलको एक कार्यक्रममा बाध्यात्मक परिस्थितिले उनी कमेडी शैलीमा नाचेका थिए । त्यो नै उनको करिअरको जग बन्यो ।

कर्मा भन्छन्, ‘स्कुलमा हामीले सांस्कृतिक कार्यक्रम गरेका थियौँ । मन्तव्य नरहेकाले चाँडै सकिने भयो । कार्यक्रमको लामो बनाउन म आफैँ कमेडी गीतमा नाचेँ । कार्यक्रम हेर्न आएकाहरू जोडले हाँसे । अनि मलाई लाग्यो– गर्नुपर्ने त कमेडी रैछ ।’

त्यसपछि, कर्मा लोकल कलाकारका रुपमा ल्होसार जस्ता पर्वमा गाउँमा हुने कार्यक्रममा कमेडी गर्न थाले । उनी भन्छन्, ‘म त गाउँको चर्चित नै बनेँ नि !’

यसले गर्दा उनको क्यारिकेचरमा पनि अभ्यास बढ्यो । भन्छन्, ‘मलाई त क्यारिकेचर निकै मिलेको जस्तो लाग्थ्यो । तर, साथीहरू मिलेको छैन भन्थे । बाझाबाझ नै हुन्थ्यो ।’

रेस्टुराँको जागिर र कमेडी
कर्मा भन्छन्, ‘खान खाने बेला आमाले भन्नुभयो– अब उमेर भयो, भविष्यबारे सोच्नू । काठमाडौँ जा ।’

कर्मा त्यस बेला १६ वर्षका थिए । आमाले नै भनेपछि उनी भविष्य बनाउन ०७५ सालमा काठमाडौँ छिरे । पानीको गाडीमा हिँड्ने नोकरी गरेर ‘प्लस टू’ सके ।

त्यसपछि विभिन्न रेस्टुराँमा हेल्पर र कुक बनेर काम गर्न थाले । सँगै कलाकार बन्ने सपन मरेको थिएन । अझ अनामनगरको होटलमा काम गर्दा कर्माले कलाकारहरू देखिरहन्थे । उनको सपना पनि उनीहरू जस्तै बन्नु थियो ।

कर्मा भन्छन्, ‘सपना भएर मात्रै हुँदैन । त्यही क्षेत्रमा काम पनि गर्नुपर्छ भन्ने भयो । अनि स्ट्यान्डप कमेडी गर्न ओपन माइक धाउन थालेँ । जागिरमा समय व्यवस्थापन गरेर जान्थेँ ।’

ओपन माइक धाउँदा कर्माको कमेडी क्षेत्रका साथी–दाइसँग चिनजान भयो । बस्न र खानका लागि जागिर पनि थियो ।

तर, उनले काठमाडौँ छिरेको पाँच वर्षमा आफ्नो जीवनमा तात्विक फरक भेटेनन् । न कलाकार बनेका थिए र आर्थिक बाटो बलियो थियो ।

उनी भन्छन्, ‘म थकित नै भएँ । विदेश जाने सोचले पासपोर्ट बनाएँ । खाडीको जुन देशमा काम पाउँछ, त्यहीँ जाने भन्ने सोच थियो ।’

तर, मेनपावरलाई पासपोर्ट बुझाउने अघिल्लो दिन साँझ कर्माले ‘कमेडी च्याम्पियन सिजन ३’को अडिसन खुलेको समाचार देखे । कर्माले एक बोल्ड निर्णय लिए ।

कर्मा उक्त निर्णयबारे भन्छन्, ‘अन्तिम प्रयास गर्छु । यो रियालिटी शोबाट पनि केही भएन भने विदेश नै जान्छु भन्ने थियो । अडिसन दिएँ ।’

कर्मा उक्त सिजनको विजेता बन्न सकेनन् । उनी टप ८ मा पुगेर बिदा भए । तर, यहीँबाट लेखनको पक्ष बलियो बनाउने अवसर पाएको उनलाई लाग्छ ।

उनी भन्छन्, ‘कमेडी कसरी लेख्ने भन्ने सैद्धान्तिक ज्ञान पाएँ । दाइहरूले लेख्न सिकाउनुभयो । अर्को कुरा कमेडी क्षेत्रका व्यक्तिहरूसँग चिनजान भयो ।’

लेख्न सक्ने भएकाले नै कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीको नोटिसमा आफू परेको उनी ठान्छन् ।

‘च्याम्पियनका दौरानमा मैले लेख्छु भन्ने विशाल दादाले थाहा पाउनुभयो । अनि अहिलेको ‘कमेडी नाइट्स विथ च्याम्पियन’मा काम गर्नुपर्छ है भन्नुभयो। त्यस बेला यो शो बनाउने सोचमा उहाँहरू हुनुहुन्थ्यो,’ कर्मा भन्छन् ।

अनि चर्चामा छन्– कर्मा

‘कमेडी नाइट्स विथ च्याम्पियन’मा कर्मा लेखकको जिम्मेवारीमा जोडिएका हुन् । तर, सहायक भूमिकामै भए पनि उनी पहिलो एपिसोडदेखि नै पर्दामा देखिए ।

कर्मा भन्छन्, ‘नेताको साइडमा उभिने जस्ता रोलहरू हुन्थ्यो । यस्तै क्राउड आर्टिस्टलाई दिने रोलहरू मैले पाउन थालेँ ।’

तर, सुमन कोइरालाले निर्वाह गर्ने माइकल चरित्रको गर्लफ्रेन्ड सकुन्तलाको भूमिकाबाट उनी चर्चामा आए । यही चरित्र निर्वाह गर्ने क्रममा उनले डाइलग पनि पाउन थाले ।

तर, उनले चर्चा केही महिनाअघिबाट मात्रै पाएका हुन् । विशेष गरी पूर्वप्रधानमन्त्री सुशीला कार्की र डन मिलन चक्रेको क्यारिकेचरले उनी चर्चामा आए ।

यो अवसर उनले शोका अन्य कलाकार अमेरिका भ्रमणमा गएकाले पाएका हुन् । कर्मा भन्छन्, ‘कलाकारहरू नभएपछि बाहिरबाट ल्याउनुपर्ने भयो । मैले म लेखक पनि हुँ, प्रस्तुति पनि दिन्छु भनेँ । टिमलाई नै पहिलो प्राथमिकता दिने निर्णय भयो, अवसर पाएँ ।’

यी दुई प्रस्तुतिले कर्मालाई थप चर्चित बनायो । धेरै दर्शकले चिने । कर्मा भन्छन्, ‘सुरूको एपिसोड कमसल भएको भए मैले अर्कोमा अवसर पाउँदैनथेँ ।’

अहिले पनि सामाजिक सञ्जालमा उनका यी दुई प्रस्तुतिका क्लिप भाइरल छन् । यसैले उनलाई उक्त शोको नियमित कलाकारको जस्तै हैसियत प्रदान गरेको हो ।

कर्मा भन्छन्, ‘धेरै दर्शकले माया दिनुभएको छ । अब म शोको एक कलाकार बनेको छु । हेरौँ अगामी दिनमा के हुन्छ ।’

आमाको त्याग

कर्मा कमेडीमा संघर्षरत छन् । भर्खरै चर्चा बटुल्दै छन् । केही फिल्मबाट प्रस्ताव पनि आउने क्रम जारी छ । एक फिल्मको छायाङ्नमा उनी व्यस्त छन् । सँगै शो पनि गरिरहेका छन् ।

उनी भन्छन्, ‘बल्ल कामहरू आउन लागेको छ । त्यही शोका दुई एपिसोड चर्चामा आएकाले बाहिरी काम पाउन थालेको छु ।’

आर्थिक अवस्था कर्माको अहिले पनि सहज छैन । भन्छन्, ‘आमा मकै पोलेर बेच्नुहुन्छ । उहाँले नै हो घर चलाउने । मेरो कहिले झ्याप्प हुन्छ । कहिले खल्ती खाली हुन्छ । आमाले मेरो भविष्य राम्रो होस् भनेर अहिलेसम्म पनि संघर्ष गरिरहनु भएको छ ।’

कर्मा अहिले आमासँग बाफलको डेरामा बस्छन् । बुवा बितेको वर्ष दिन पुगेको छैन ।

कर्मा र उनकी आमा

तर, चर्चित भएपछि कर्मामा कन्फिडेन्ट बढेको छ । कामका थप ढोकाहरू खुलेको देखेका छन् । नाम र दाम दुवै बनाउन उनीमा थप ऊर्जा मिलेको छ ।

‘मलाई त्यो समय विदेश नगएको राम्रै भएछ भन्ने छ । अहिले करिअर राम्रै भइरहेको पाएको छु,’ उनी भन्छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ७ : १८ बजे

सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै दायर रिटको पेसी आज

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा

अमेरिका– टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा