मकैको पातमा झरीको सङ्गीत ! « Khabarhub

पत्र साहित्य 

मकैको पातमा झरीको सङ्गीत !



प्रिय सोफिया,
अविरल माया ।

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु । तप तप पानीको बाछिटा सङ्गीतको सा-रे-ग-म भन्दा कम छैन । असार मानो रोपेर मुरीको सपनामा बाँच्ने महिना हो । अर्को भाषामा भन्दा सिर्जना हो असार । ए साँच्ची तिमीलाई म सङ्गीतको कुरा भन्दै थिएँ । हाम्रा इतिहास पुरुष जङ्गबहादुर तिमीहरूकी महारानी भिक्टोरियाको निम्तोमा बेलायत गएका थिए । उनले दैनिक पूजाआजा गर्न पिपल, गाई, खाना पकाउने भान्छे सँगै लगेका थिए भन्ने सुन्दा तिमीलाई अनौठो लाग्ला ।

हो, जीवनलाई अनुशासनमा अनुवाद गर्नेहरू यस्तै कठिन व्रतमा विश्वास गर्छन् । अङ्ग्रेजी नबुझ्ने जङ्गबहादुरलाई महारानी भिक्टोरियाले अङ्ग्रेजी गीत बजाएर भोज ख्वाइछन् । गीत सुनेर जङ्गबहादुर पनि मच्चि मच्चि नाचेछन् । यो देखेर सबैलाई आश्चर्य लागेछ । अनि तत्काल सोधिएछ- ‘अङ्ग्रेजी नबुझ्ने तपाईं बुझे जसरी किन मच्चि मच्चि नाच्नुहुन्छ ?’ जङ्गबहादुरको चलाख प्रतिप्रश्न थियो– ‘तपाईं चराले बोलेको बुझ्नुहुन्छ ?’ अहँ । तर तपाईंलाई चराको आवाज त मिठो लाग्छ नि हैन ? नबुझेकै सङ्गीतले पनि मलाई बिछट्टै आनन्द दिएको छ ।

हिलोको सङ्गीत रोपोको गीत गाउनेहरूको रहर आफैँमा प्रेरणादायी छ । त्यसैले त हामी आफूलाई प्रकृतिको पूजक ठानेर माटोको पूजा गर्छौँ ।

किताबी ज्ञानमा आफूलाई अब्बल ठान्नेहरूले यस्तो चलाखी जवाफ दिन सक्लान् त सोफिया ? इतिहासको पहेली पनि विचित्र छ है ! कति इतिहास कहालीलाग्दा हुन्छन् भने कति चार्ली च्याप्लिनको सिनेमा हेरे जस्तो । प्रकृतिको हरियो कोलाजको साङ्गोपाङ्गोमा सङ्गीत दौडिएको देखिन्छ । धानचमर झुलेको मकै, हावाको झोँक्कामा बयेली खेलेको रुखविरुवाको हाँगा, गड्गडाएको खहरे हुँदै हातमा रोपो लिएर हौसिएको मनमा जताततै सङ्गीतको ताना प्रवाहित छ ।

हामी हाम्रो करेसाबारीको आँप टिप्ने भाँती नपुर्‍याएर अलमलिरहेका छौँ । राजनीतिले एक चोइली भात संरक्षण गर्न नसक्दा हाम्रो तीनपुस्ता दबाब, अभाव र प्रभावमा पर्दै आएको छ ।

हामी यतिबेला झरीको रौसमा छौँ । हिलोको सङ्गीत रोपोको गीत गाउनेहरूको रहर आफैँमा प्रेरणादायी छ । त्यसैले त हामी आफूलाई प्रकृतिको पूजक ठानेर माटोको पूजा गर्छौँ । माटोमा यज्ञ गर्नु धर्म, कर्म दुवै हो । प्रकृतिका दुई उत्सव गर्मी र जाडो हाम्रा लागि उस्तै छन् । ज्ञानी मान्छेले प्रकृतिका यी सुन्दर उपहारलाई समान रुपमा लिनुपर्छ रे !

रातोमा भन्नु त्यो गेरु माटो पहेँलो बेसार 
पूर्वको ढोका उघारी हेर्दा लागेछ असार 
असारलाई कुटेको चिउरा कति दिन साँचुला
सौताको हात दुई कुड्की भात म कति बाँचुला ?

असारको माटोमा हाम्रो सङ्गीत यसरी पोखिन्छ । यो वर्षाको समय । गर्मीले उकुसमुकुस भएको वातावरणमा पानीका छिटाहरू यसरी बर्सिँदैछन्, मानौँ त्यहाँ जीवन बर्सिरहेको छ । आलसतालस बिरामीलाई सलाईन चढाएर नयाँ स्फूर्ति दिएजस्तै । तिर्खाएको प्रकृतिले एकतमास पानी पिइरहेको छ । मान्छेहरूमा अतृप्‍त मृगतृष्णा छ ।  अशान्तै अशान्तले गाँजिएको छ समय । असारे भेलको गतिसँगै पाइला पाइलामा राजनीति तातेको छ । घटनाक्रमहरू तातो तावाबाट भुङ्ग्रोमा उछिट्टिएका छन् । सामाजिक सञ्जालको गतिले मानिसको मनलाई सिल्भरको ताप्केजस्तै रन्किने र थन्किने ठेगान नहुने मनस्थितिमा पुर्‍याइदिएको छ । आफैँमाथि भरोसा नगर्ने विचित्रको ‘भाइरल’ रोगले मानव सभ्यतामाथि धावा बोलिरहेको छ । हेर त एलन मस्क हावामा तैरिएका आफ्ना योजना बेचेर संसारको सर्वोत्कृष्ट धनी दरिएका छन् भने हामी हाम्रो करेसाबारीको आँप टिप्ने भाँती नपुर्‍याएर अलमलिरहेका छौँ । राजनीतिले एक चोइली भात संरक्षण गर्न नसक्दा हाम्रो तीनपुस्ता दबाब, अभाव र प्रभावमा पर्दै आएको छ ।

युवापुस्ता अहिले इतिहासकै गम्भीर परीक्षणमा छ । गफजस्तो काम र कामजस्तो गफ अहिले समाजलाई चाहिएको छ । साधन भयो, लक्ष्य भएन, नीति भयो, नियत भएन, स्रोत जुट्यो, इच्छाशक्ति भएन भने सबै प्रयास निष्फल हुन्छ ।

तिम्रो देशमा जस्तै हाम्रो देशमा पनि नौजवानहरू राज्यको निर्णायक पदमा पुगेका छन् । संसदीय राजनीति तिम्रो माटोबाट शुरु भयो, तर हाम्रो देशको संसदमा चकलेटी अनुहार र उम्दा उमेरका जनप्रतिनिधिहरूको बाहुल्य छ । उनीहरूको चैतन्य र प्रज्ञामा राम्रो दख्खल छ । ३७ वर्षका व्यक्ति मुलुकको कार्यकारी पदमा छन् । दुई तिहाइको सतिसालजस्तो शक्तिशाली संसद र सरकार छ । यही पुस्तालाई धेरै वर्षदेखि आस्थाको बगैँचामा परेको खडेरीमा सुशासनले हराभरा गर्ने जिम्मेवारी जनताले सुम्पिएका छन् ।

जे भए पनि हामीलाई सलादजस्तो समाज, संसद र सरकार चाहिन्छ । सबैको सहअस्तित्वबाट बनेको सलादबाट बन्ने सुस्वादिलो सुप जीवनदायी हुने निश्चित छ । युवापुस्ता अहिले इतिहासकै गम्भीर परीक्षणमा छ । गफजस्तो काम र कामजस्तो गफ अहिले समाजलाई चाहिएको छ । साधन भयो, लक्ष्य भएन, नीति भयो, नियत भएन, स्रोत जुट्यो, इच्छाशक्ति भएन भने सबै प्रयास निष्फल हुन्छ । सफलता त्यो जमिनमुनिको पानी हो, जुन सय ठाउँमा एक मिटर खन्नाले मिल्दैन, बरु एक ठाउँमा सय मिटर खन्नाले प्राप्त हुन्छ ।

देश बनाउनु पनि फूटबल खेलजस्तै हुन्छ । टिमका सबैले भकुण्डो पास गरेर दिएपछि गोल हान्ने यौटा हुन्छ । एघारवटै खेलाडीले एकैपटक गोल हान्न खोज्यो भने के हुन्छ ?

देश बनाउनु पनि फूटबल खेलजस्तै हुन्छ । टिमका सबैले भकुण्डो पास गरेर दिएपछि गोल हान्ने यौटा हुन्छ । एघारवटै खेलाडीले एकैपटक गोल हान्न खोज्यो भने के हुन्छ ? पेले, रोनाल्डो, मेसी त्यहाँभित्रको अनुशासनले जन्माएको हो । एक सेकेण्डको तलमाथि हिरो जिरो, जिरो हिरोमा रूपान्तरण हुन्छ । त्यसैले प्रत्येक मानिस सम्भावनाको स्रोत हो ।

गोल हान्ने मेसीमाथि देश समृद्ध बनाउन नसकेको आक्षेप लगाइयो भने के हुन्छ ? नारायणगोपाललाई किन राम्रा कविता नलेखेको ? यस्ता कुतर्कको खेतीपाती चल्यो भने उसले सम्पूर्ण जीवन आफूलाई मूर्ख ठानेर बिताउनेछ । जनसामर्थ्यको कसी पनि त्यही नै हो । जसरी आकासले जति पानी बर्साए पनि पिउने तागत हुन्छ, त्यसरी नै नेताको चुरीफुरी पचाउने तागत जनतामा हुन्छ ।

जिन्दगीमा जब ठूला ठूला बस्तुहरू मिल्छन् तब सानालाई भुल्ने गल्ती किमार्थ गर्नु हुँदैन । जुन काम सियोले गर्न सक्छ, त्यो काम तरबारले गर्न सक्दैन ।

लोकतन्त्रको मान्यता त्यसै स्थापित भएको होइन– जनता कहिल्यै गलत हुँदैन । नेता तरबार हो भने जनता म्यान हो । तरबार बदलिन्छ, म्यान यथास्थानमा रहिरहन्छ । बोलेर केही नगर्ने नेतालाई जनताले नबोली औकात देखाइदिन्छ । शास्त्रले खबरदारी गरेको छ– ‘जो राजर्षि बनी देशको सेवा गर्छ, उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरू आफूमा सुरक्षित राख्नु आवश्यक छ ।’

जिन्दगीमा जब ठूला ठूला बस्तुहरू मिल्छन् तब सानालाई भुल्ने गल्ती किमार्थ गर्नु हुँदैन । जुन काम सियोले गर्न सक्छ, त्यो काम तरबारले गर्न सक्दैन । चाल्स डिकेन्सले आफ्नो पुस्तक अल द इयर राउण्डमा लेखेका छन्– ‘कसैले बुद्धिमान कसलाई भन्ने सोधेमा जवाफ पाउने छन्, जो सानो भन्दा सानो कुरामा ध्यान दिन्छ ।’ अबको युग अन्त्यहीन सीमा र अन्तरीक्षमा झण्डा गाड्नु नभएर चेतन मानव मस्तिष्कको युग हो ।

प्रिय सोफिया, तिमीलाई लाग्ला म यतिविधि किन गन्थन गर्दैछु ? हामीले राजनीतिबाट धोका खाएका थुप्रै खाटा बस्न नसकेका घाउहरू छन् । राजनीतिमा भरोसा टुटेका चाङहरू छन् । मत्स्य न्यायका कहालीलाग्दा इतिहासहरू छन् । भाव, अभाव र प्रभावका तानाबाना छन् । भाग्य, भविष्यमा छिनो चलाइएका पटकथाहरू छन् । औँला दिएर सन्तान हुर्काएका बाउआमाले सहाराको औँलो नपाएका बग्रेल्ती दृश्यहरू छन् ।

राजनीतिको गाँठो मसक्क नकसिँदा निम्तिने दुर्घटनाको अत्यास कस्तो हुन्छ ? तिम्रै देशका छरस्ट उदाहरण छन् । तिमीलाई थाहा छ– ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल अमेरिका घुम्न गएका बेला त्यहाँको राष्ट्रपति भवनमा बसेका थिए । राष्ट्रपति रुजवेल्ट पक्षघातको बिरामीका कारण गुड्ने कुर्सीमा बसेर चर्चिल रहेको कोठामा आए । उता चर्चिल बाथरुमको ढोका खुल्लै राखेर जन्मिएको पोजमा नुहाइरहेका थिए ।

असारमा बर्सिने पानीको तप्लक तप्लक शीतल छिटाहरू सञ्जीवनी बनेर मानिसको आँत रसाओस् भन्ने अपेक्षा हो । रोपाइँ गर्न कस्सिएका रोपाहार र बाउसेहरूलाई मात्र हैन, सबैलाई एउटा उत्साह र आशा बनोस् असार ।

यस्तो अनपेक्षित दृश्य देखेर उनले रिसाउँदै प्रश्न गरे– ‘लाज, सरम, घिन केही छैन, यस्तो के तमासा देखाउनु भएको ?’ चर्चिलले हाजिरी शैलीमा उत्तर दिए- ‘म तपाईंलाई केवल यो बताउन चाहन्थेँ कि यो अवस्थामा ब्रिटिस सरकार समक्ष त्यस्तो कुनै कुरा छैन, जो अमेरिकी राष्ट्रपतिका सामु लुकाउन परोस् ।’

भैगो यतातिर लागेर असारलाई कसारजस्तो कठोर बनाउने मेरो रहर होइन । सबैतिर बढ्दो भोकले मानिसलाई दिनदिनै अशान्त बनाइरहेको छ । असारमा बर्सिने पानीको तप्लक तप्लक शीतल छिटाहरू सञ्जीवनी बनेर मानिसको आँत रसाओस् भन्ने अपेक्षा हो । रोपाइँ गर्न कस्सिएका रोपाहार र बाउसेहरूलाई मात्र हैन, सबैलाई एउटा उत्साह र आशा बनोस् असार । र, पानीको दर्केनीले कतै टाढा पुगेको आफ्नो मान्छेको सम्झनालाई अझ ताजा र जीवन्त बनाओस् ।

काटेर खानु सुपारी दाना बेल खानु फोरेर
हाँस खेल गर ए कान्छी नानी के लान्छ्यौ मरेर
कतिमा जाती खेतका मालिक मुहार हँसिलो
बोली र बचन त्यस्तै छ मिठो जीउडाल कसिलो ।

असार यसको नामजस्तो निस्सार र खोक्रो छैन । सारपूर्ण छ । नत्र असार दही चिउरा खाने पर्वका रुपमा स्थापित हुने थिएन । असार रसपूर्ण पनि छ । खेतको हिलोमा घुँडा घुँडासम्म चोपलिँदै असारेको भाका तन्काउनेहरू सहनाई, ट्याम्को, दमाहा, नरसिंहा र ढोलकहरूको तालमा बेठी लगाउँदै अन्न अनुष्ठानको शुभारम्भ गर्नेहरूलाई सोध त, असार कति आल्हादपूर्ण छ ?
झमझम पानी परिरहेका बेला एक्लै घोत्लियौ भने रोमाञ्चक भावनाहरू आउँछन् । तिमीलाई केही लेखौँ लेखौँ लाग्नेछ । ठोकेर भन्छु– थाहै नपाई तिमी गुन्गुनाउन थाल्नेछ्यौ र पानीको दरर्र आवाजसँगै कविता जन्मन्छन् । गीत कोरलिन्छन् । हार्मोनियममा सारेगमको छन्द ओल्टाइपल्टाई गर्दागर्दै एउटा नयाँ धून निस्कन्छ । क्यान्भासमा रंगीन कुचिहरूको नृत्य शुरु हुन्छ । अनि, तिमी आफ्नो सिर्जनादेखि आफैँ फुरुङ्ग पर्छ्याै ।

असार प्रकृतिको भाषा हो । प्रकृतिको अनुकम्पा बुझाउने भाका पनि हो । अनुहारको भावभङ्गिमा जस्तै, आँखाको भाकाजस्तै निधारको खुम्चाइ र ओठको चाल जस्तै ।

वर्षा प्रकृतिको जीवनदायिनी उपहार पनि हो । मेघमालाहरू प्रेम र स्नेहका खानी पनि हुन् । लाग्छ, आकास र बादलका गुत्थीहरू आँखा र आँखाका नानीहरू हुन् । र, वर्षा बादलकी रानीले वर्षाएको हर्षाश्रु हो । झरी उनै रानीको गीत गुञ्जन हो । कहिलेकाहीँ झडङ्ग रिसाउँदा त्यही गीत मुसलधारे वर्षा बनेर ओइरिन्छ । तर, चोखो र स्नेहपूर्ण छ बादलको अनुकम्पा । असार हरेक वर्ष त्यो आशीर्वाद लिएर आउँछ । कहिले गीत बनेर आउँछ । कहिले संगीत बनेर आउँछ । जब झमझम झरीसँगै धर्तीका पाटा पाटा भिज्न थाल्छन् अनि मानो रोपेर मुरी फलाउनेहरूको खेतका आलीआलीमा मार्चपास शुरु हुन्छ ।

असार प्रकृतिको भाषा हो । प्रकृतिको अनुकम्पा बुझाउने भाका पनि हो । अनुहारको भावभङ्गिमा जस्तै, आँखाको भाकाजस्तै निधारको खुम्चाइ र ओठको चाल जस्तै । असारले त्यस्तै अनुभूतिजन्य थुप्रै भाकाहरू बोकेको छ । तिमी आँखाको भाका कतिको बुझ्छ्यौ कुन्नि ?

असार इन्द्रेणीजस्तो बनोस् । इन्द्रेणी असारजस्तै बनोस् । असार पियानोको धुन र मनको आवाजजस्तै सरसपूर्ण बनोस् । पियानोको कर्णप्रिय धुनले पारखी लठ्याएजस्तै असार सुरुचिपूर्ण बनोस् ।

एक्लै हुँदा मन खोलेर बोल्ने ती प्रिय मान्छेहरू समूह वा अरुका अघिल्तिर बोल्न हिच्किचाइरहेका हुन्छन् । त्यतिखेर नियालेर आँखामा हेर त्यहाँ थुप्रै अभिव्यक्तिहरू पाउँछ्यौ । आँखाले प्रश्न गर्छ । जवाफ दिन्छ र आँखाको जिज्ञासाले अधैर्य बनाउँछ मान्छेलाई । धेरैजसो मनको भाका आँखाले नै प्रकट गर्छ । चाहनालाई अठोटका रुपमा रूपान्तरित गर्ने मन, रुचि र छनोटलाई उद्देश्य र सङ्कल्प बनाउने मन । त्यो पनि आँखाबाटै बोलिरहेको हुनसक्छ । त्यस्तै आँखा हो असार । त्यो आँखा मान्छेको आँखाजस्तै भावपूर्ण बनोस् ।

असार इन्द्रेणीजस्तो बनोस् । इन्द्रेणी असारजस्तै बनोस् । असार पियानोको धुन र मनको आवाजजस्तै सरसपूर्ण बनोस् । पियानोको कर्णप्रिय धुनले पारखी लठ्याएजस्तै असार सुरुचिपूर्ण बनोस् ।
उही तिम्रो शुभचिन्तक ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ७ : ३७ बजे

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई