देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता « Khabarhub

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेका छन्। आइतबार बेलुका सुनसरीबाट सुरट्ठ भएको तनाव मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा फैलिइरहँदा प्रधानमन्त्री वालेन्द्र शाह मौन छन्।

पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल तथा विपक्षी दलसहित विभिन्न राजनीतिक दलका नेताहरूले घटनालाई थप उत्तेजित हुन नदिन र संयम अपनाउन सार्वजनिक आग्रह गरिसकेका छन्। तर प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नबाहेक सरकारको आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् मात्रै धारणा सार्वजनिक गर्दा सरकारको औपचारिक प्रतिक्रिया नआएको भन्दै उनको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको छलफलमा सहभागी अधिकांश सांसदले पनि प्रधानमन्त्री र गृहमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए।

राजनीतिक वृत्तमा प्रधानमन्त्रीले घटनाको गम्भीरता बुझेर राष्ट्रका नाममा सम्बोधन नगर्दा र सर्वदलीय बैठक नबोलाउँदा अवस्था थप तनावपूर्ण बन्दै गएको विश्लेषण हुन थालेको छ। प्रधानमन्त्री मौन रहेका बेला सभापति रवि लामिछानेले भने कोशी र मधेशका सांसदसँग छलफल गरेका थिए।

छलफलका क्रममा मधेशका सांसद मनिष झाले गृहमन्त्री सुदन गुरुङको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। घटनापछि गृहमन्त्री पर्याप्त रूपमा सक्रिय र गम्भीर नदेखिएको आरोप विभिन्न तहबाट उठिरहेको छ।

मधेशको राजनीति लामो समयदेखि अध्ययन गर्दै आएका सीके राउतले पनि प्रधानमन्त्री र गृहमन्त्री घटनाप्रति गम्भीर नदेखिँदा अवस्था झन् जटिल बन्दै गएको टिप्पणी गरेका छन्।

‘देशको प्रमुख कार्यकारी व्यक्ति प्रधानमन्त्रीले अहिलेसम्म घटनाबारे केही बोल्नुभएको छैन। न त सर्वदलीय बैठक राख्नुभएको छ, न राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ,’ राउतले खबरहबसँग भने, ‘प्रधानमन्त्रीको सट्टा पार्टी सभापति रवि लामिछानेले केही बैठक गर्नुभएको छ। तर यो कदम प्रधानमन्त्रीले नै चाल्नुपर्थ्यो। ढिला भइसकेको छ। देशमा थप क्षति हुन नदिन प्रधानमन्त्रीले तत्काल मुख खोल्नुपर्छ।’

उनले प्रधानमन्त्री र गृहमन्त्रीको कमजोरीका कारण देश थप द्वन्द्वतर्फ उन्मुख भइरहेको दाबी गर्दै चाँडोभन्दा चाँडो राष्ट्रका नाममा सम्बोधन गरी आवश्यक कदम चाल्न आग्रह गरे।

राउतसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदले पनि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने र सर्वदलीय बैठक बोलाउनुपर्ने माग गरेका छन्।

सुरक्षा परिषद्मा पनि सुझाव

घटना भएको पाँच दिनपछि प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका थिए।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सुनसरीको कप्तानगञ्जमा अवस्था संवेदनशील रहेकाले सरकारले वार्ता र संवादमार्फत स्थिति नियन्त्रणमा लिनुपर्ने सुझाव बैठकमा दिइएको थियो।

‘बैठकमा सबैले गृहमन्त्री सुनसरी जानुपर्छ भन्ने धारणा राख्नुभएको थियो। त्यसपछि प्रधानमन्त्रीले उहाँलाई पठाउने निर्णय गर्नुभएको हो,’ ती मन्त्रीले भने, ‘सबै क्षेत्रबाट स्थिति नियन्त्रणका लागि सक्रिय पहल गर्नुपर्छ भन्ने निष्कर्ष बैठकमा आएको छ। प्रधानमन्त्रीको पनि केही धारणा सार्वजनिक हुने अपेक्षा गरेका छौँ।’

सुरक्षा परिषद्को बैठकपछि प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल भएको थियो। त्यसलगत्तै गृहमन्त्री सुधन गुरुङ र पार्टीका केही सांसद सुनसरी जाने तयारीमा रहेका छन्।

यसैबीच, सभापति रवि लामिछानेले कोशी र मधेशका सांसदसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्। छलफलमा सहभागी एक सांसदका अनुसार अधिकांश सांसदले प्रधानमन्त्री र गृहमन्त्रीको कार्यशैलीबारे प्रश्न उठाएका छन्।

ती सांसदले भने, ‘प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सर्वदलीय बैठक बोलाउनुपर्छ भन्ने हाम्रो माग हो। स्थिति नियन्त्रणका लागि उहाँले आमनागरिकलाई संयम अपनाउन सार्वजनिक अपिल गर्न आवश्यक छ। हामीले सभापतिज्यूलाई पनि प्रधानमन्त्रीलाई यस्तो पहल गर्न आग्रह गर्न अनुरोध गरेका छौँ।’

बैठकमा सहभागी कोशी र मधेशका सांसदले यो घटनालाई सामान्य रूपमा लिन नहुने र पुराना दलभन्दा अहिले सरकारमै रहेका दलमाथि बढी प्रश्न उठिरहेको बताएका थिए।

विपक्षीको माग : प्रधानमन्त्रीको जवाफ चाहियो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको जवाफ माग भइरहेका बेला सरकारले प्रतिनिधिसभा बैठक स्थगित गरेको आरोप लगाए।

दुई सातापछि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीसँग घटनाबारे जवाफ मागेका थिए। त्यसलगत्तै सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेको भन्दै आङ्देम्बेले असन्तुष्टि जनाए।

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि प्रधानमन्त्रीको जवाफ माग गरिएपछि सभामुखले बैठक स्थगित गरेको आरोप लगाए।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ५ : ३९ बजे

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको सन्देश

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार

विद्युत् ‘पोल’ भाडा बक्यौता असुली प्रक्रिया सुरु

काठमाडौं– लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् ‘पोल’ भाडा बक्यौता