यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार « Khabarhub

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीका कारण आयोजनाका संरचनामा क्षति पुग्नुका साथै सुरुङभित्र काम गरिरहेका दर्जनौँ व्यक्ति फसेको तथा सम्पर्कविहीन भएको जनाइएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण त्यस क्षेत्रमा ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । प्रभावित आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित स्वदेशी तथा विदेशी विशेषज्ञ टोली परिचालन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रभावित जलविद्युत् आयोजना क्षेत्रबाट हेलिकप्टरमार्फत आज दिउँसोसम्म २७९ जनाको उद्धार भइसकेको छ ।

माथिल्लो त्रिशूली–१ मा करिब ३०० जना फसेको अनुमान

रसुवाको माथिल्लो त्रिशूली–१ का प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीका अनुसार सुरुङ आसपासबाट दुई दिनमा २५० भन्दा बढीको उद्धार गरिएको छ ।

तर, अझै करिब ३०० जना सुरुङभित्रै फसेको अनुमान रहेको उनले बताए । “करिब १० किलोमिटर लामो टनेलमा तीन वटा अडिट टनेल छन्, त्यहाँ काम गरिरहेका चिनियाँसहितको टोली फसिरहेको छ, हामी उद्धारको पर्खाइमा छौँ,” उनले भने ।

आयोजना क्षेत्रमा चिनियाँ टोलीलाई ड्रप गरिएको छ । त्यस्तै, कोरियाको आठ जनाको टोलीले समेत हवाई रेकी गरिसकेको छ । नेपाली सेनाका अनुसार एउटा चिनियाँ टोलीले सुरुङभित्र करिब तीन किलोमिटरसम्म खोजी गरिसकेको छ । तर, अहिलेसम्म फसेका व्यक्तिहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२ जना सम्पर्कविहीन

नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ४२ जना सम्पर्कविहीन रहेको नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक मदन तिम्सिनाले बताए ।

उनका अनुसार आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरसहितको टोलीले काम सुरु गरिसकेको छ ।

उद्धारका लागि घटनास्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहित विशेष खोज तथा उद्धार टोलीका सशस्त्र प्रहरीका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कुल ९० जनाको संयुक्त टोली परिचालन गरिएको उनले बताए ।

नेपाली सेनाका अनुसार टोलीले आज दिउँसो २ बजे सुरुङको मुख्य भाग अर्थात् क्राउन हेडमा पुगेर २×३ फिटको प्वाल बनाउन सफल भएको थियो । त्यसपछि डोरीको सहायताले टोली तल झरेर सुरुङभित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएको बताइएको छ ।

त्यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण प्रयोग गर्नुका साथै ब्लास्टिङ र प्वाल फराकिलो पार्ने काम एकसाथ अघि बढाइएको नेपाली सेनाले जनाएको छ ।

माथिल्लो त्रिशूली–३ ‘बी’ मा पनि उद्धार जारी

नुवाकोटकै माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा फसेकाहरूको खोज तथा उद्धार कार्य पनि जारी रहेको छ ।

आयोजनामा भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोली परिचालन गरिएको छ । नेपाली सेनाका अनुसार सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि विशेष संयन्त्र परिचालन गरी निरन्तर प्रयास भइरहेको छ ।

यस आयोजनामा चिनियाँ विशेषज्ञ टोलीले समेत नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको सेनाले जनाएको छ ।

चिलिमेमा ६ जनाको उद्धार प्रयास

रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका छ जनाको उद्धारका लागि नेपाली सेनाको टोलीले काम गरिरहेको छ ।

चिलिमेमा भारतीय विज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा रेकी गरिसकेको छ । सुरुङभित्र जमेको पानी हटाउन पम्प तथा अन्य उपकरणको तयारी भइरहेको जनाइएको छ ।

लाङटाङ खोलामा ४१ जना सम्पर्कविहीन

रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि उद्धार तथा खोजी कार्य जारी छ । नेपाली सेनाले खोज तथा उद्धार प्याट्रोल सञ्चालन गरिरहेको छ ।

आयोजनाका प्रबन्धक तथा इप्पानका सचिव विजय एम भट्टराईका अनुसार आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन छन् । तीमध्ये दुई जना सुरक्षाकर्मी, १३ जना कर्मचारी र २६ जना कामदार रहेको उनले बताए ।

“आयोजनाको सुरुङ लामो छैन, १५० मिटर मात्रै भित्र होला । सुरुङभित्र फसेकामध्ये दुई जना आफैँ बाहिर आइसक्नुभएको छ भने बाँकी त्यहीँभित्र हुनुहुन्छ भन्ने सूचना छ । उहाँहरू उद्धारको पर्खाइमा हुनुहुन्छ,” उनले भने ।

मैलुङ खोलामा कोरियन टोली परिचालन

रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि कोरियन विशेषज्ञ टोली परिचालन गरिएको छ । टोलीले हवाई रेकी गरेर उद्धारको काम सुरु गरिसकेको जनाइएको छ ।

बाढीका कारण प्रभावित भएका जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सुरक्षा निकायसँगै चिनियाँ, भारतीय र कोरियन विशेषज्ञ टोलीसमेत परिचालन भएका छन् । प्रतिकूल मौसम, विकट भूगोल, सुरुङभित्र थुप्रिएको गेग्रान र अन्य अवरोधका कारण उद्धार कार्य भने चुनौतीपूर्ण बनिरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ९ : २२ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व