काठमाडौं- यूएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाई दुबईको विमानभित्रै पाइलटहरूबीच विवाद उत्पन्न भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले स्वदेशी र विदेशी विमानको सुरक्षा चुस्त बनाउन निर्देशन दिएका छन् ।
उडान नम्बर एफजेट १०७३ मा आकाशमै पाइलटहरुबीच विवाद सिर्जना भएपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरिएको थियो । प्रधानमन्त्री नेतान्याहूले यस घटनालाई अत्यन्तै गम्भीर सुरक्षा खतराको रूपमा व्याख्या गरेका छन् ।
भिडियो सन्देशमार्फत उनले इजरायलको आकाश नजिकै ककपिटभित्र एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेको र विमानलाई जानाजान दुर्घटना गराउने प्रयास गरेको जानकारी दिएका छन् । घटनामा विमान जमिनतर्फ खस्न थालेपछि केही यात्रु र चालक दलका सदस्यहरूले ककपिटको ढोका बलपूर्वक फोडेर भित्र छिरेका थिए ।
यात्रु र चालक दलका सदस्यहरूको संयुक्त प्रयासले विमानको प्रणाली ध्वस्त पार्न खोज्ने पाइलटलाई नियन्त्रणमा लिएको नेतान्याहूले बताएका छन् । मिडिया रिपोर्टहरूका अनुसार चक्कु प्रहारबाट घाइते हुने पाइलटमा भारतीय नागरिक तथा दुबईमा कार्यरत क्याप्टेन स्मीत मच्छार रहेका छन् । उनीमाथि आक्रमण गर्ने को–पाइलट ओमानका नागरिक रहेको इजरायली अधिकारीहरूले जनाएका छन् । त्यसपछिको अर्का चालक दलका सदस्यले पनि ककपिटमा प्रवेश गरी विमानलाई सन्तुलनमा ल्याउन सहयोग गरेका थिए ।
बोइङ ७३७ विमान साउदी अरेबियाको ताबुकमा सकुशल अवतरण गरेसँगै दुवै पाइलटलाई अस्पताल लगिएको छ । फ्लाई दुबईले विमानमा घटना भएको पुष्टि गरे पनि पाइलटहरूको पहिचान र राष्ट्रियता बारे आधिकारिक रूपमा केही खुलाएको छैन । ठूलो जनधनको क्षति हुनबाट जोगाउने ती साहसी यात्रु र चालक दलका सदस्यहरूको प्रधानमन्त्री नेतान्याहूले उच्च प्रशंसा गर्दै उनीहरूलाई नायकको संज्ञा दिएका छन् ।














प्रतिक्रिया