राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती « Khabarhub

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती



काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक नेपाली कला क्षेत्रको उपस्थिति उल्लेख्य देखिएको छ । परम्परागत राजनीतिक नेताको प्रतिस्पर्धासँगै कला, संगीत, चलचित्र र सामाजिक अभियानमार्फत चिनिएका व्यक्ति सक्रिय रूपमा राजनीतिमा होमिएका छन् । यसले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई विचार, सिर्जना र वैकल्पिक दृष्टिकोणको मञ्चका रूपमा पनि प्रस्तुत गरेको छ ।

सुशासन, परिवर्तन र देश निर्माणको नारासहित चर्चित कलाकार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत उम्मेदवार बनेका छन् । कलाकारको यो सहभागिताले नेपाली राजनीतिमा उनीहरूको भूमिकाबारे नयाँ बहस सुरु गराएको छ ।

यस निर्वाचनमा अभिनेत्री निशा अधिकारी प्रत्यक्ष उम्मेदवार बनेर राजनीतिक बहसको केन्द्रमा आएकी छन् । उनले काठमाडौं-५ बाट गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन्। पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी निशाले युवाको रोजगारी समस्या र राज्यको कमजोर व्यवस्थापनलाई राजनीति प्रवेशको मुख्य कारणका रूपमा प्रस्तुत गरेकी छन् । ‘वडा-वडामा दिगो रोजगारी’ उनको प्रमुख एजेन्डा हो । अबको १० वर्ष देशप्रति समर्पित रहने उनको प्रतिबद्धता छ ।

यसपटक सबैभन्दा धेरै चर्चा कमाएको नाम भने बालेन्द्र साहको हो । र्‍यापर तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन झापा–५ बाट रास्वपाको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका छन् । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मासँग ओलीसँग प्रतिस्पर्धाका लागि बालेन झापा पुगेकाले उनको चर्चा चुलिएको हो ।

स्वतन्त्र उम्मेदवारका रूपमा महानगरको नेतृत्व जितेर राष्ट्रिय चर्चामा आएका बालेनलाई रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । संगीत, व्यङ्ग्य र विद्रोही अभिव्यक्तिमार्फत युवापुस्तामा प्रभाव जमाएका बालेनको उम्मेदवारीले वैकल्पिक राजनीतिक शक्तिको बहसलाई थप बल दिएको छ ।

अभिनेत्री तथा सामाजिक अभियन्ता आशिका तामाङ पनि धादिङ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेकी छन् । सामाजिक न्याय, मानवअधिकार र महिला सशक्तीकरणका मुद्दामा निरन्तर सक्रिय रहँदै आएकी आशिकाले राजनीतिमार्फत क्षेत्र र देशको सेवा गर्न चाहेको बताउँदै आएकी छन् । दलगत राजनीतिभन्दा माथि उठ्ने दाबी गरे पनि उनी रास्वपाबाटै उम्मेदवार बनेकी हुन् । पछिल्लो समय उनको सामाजिक सक्रियताले मतदाताको ध्यान खिचेको देखिन्छ ।

समानुपातिक सूचीमा कलाकारको बलियो उपस्थिति

समानुपातिकतर्फ पनि कलाकारको उल्लेखनीय उपस्थिति देखिन्छ । लोकप्रिय प्रस्तोता तथा अभिनेत्री रिमा विश्वकर्मा रास्वपाको दलित महिला क्लस्टरबाट समानुपातिक उम्मेदवार बनेकी छन् । उज्यालो नेपाल पार्टीबाट राजनीति सुरु गरेकी उनी उज्यालो र रास्वपाबीच एकता हुँदा उम्मेदवार बनेकी थिइन् । पछि एकता तोडिए पनि उनी रास्वपामै रहिन् । यस कारण उनीमाथि अवसरवादको आरोप लागे पनि सञ्चार र सामाजिक मुद्दामा लामो समयदेखि सक्रिय रहँदै आएकी रिमाबाट दलित समुदायको प्रतिनिधित्व गर्छिन ।

गायक, संगीतकार तथा अभिनेता प्रकाश सपुत रास्वपाको दलित पुरुष क्लस्टरबाट समानुपातिक उम्मेदवार बनेका छन् । ‘बोलमाया’, ‘गलबन्दी’, ‘दमाई महाराज’ जस्ता सिर्जनाबाट समाजका पीडा र आवाज उठाउँदै आएका सपुतको राजनीतिक प्रवेशलाई धेरैले स्वाभाविक निरन्तरता मानेका छन् । कलाकार र निर्देशक दुवै रूपमा परिचित सपुतबाट संसदमा सामाजिक आवाज उठ्ने अपेक्षा गरिएको छ ।

पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ पनि रास्वपाबाट आदिवासी जनजाति महिला क्लस्टरमा समानुपातिक उम्मेदवार बनेकी छन् । मिस वर्ल्ड २०१९ मा उत्कृष्ट १२ भित्र पर्दै ‘ब्युटी विथ पर्पस’ र ‘मल्टिमिडिया’ उपाधि नेपाल भित्र्याएकी अनुष्काको उम्मेदवारीले व्यापक बहस जन्माएको छ । उनी व्यवसायीसमेत हुन् र ‘माक्कुसे’ नामक लक्जरी मिठाई ब्रान्ड सञ्चालन गर्दै आएकी छन् ।

यस्तै, गायिका तथा एमाले नेतृ कोमल वली एमालेको समानुपातिक सूचीमा परेकी छन् । अघिल्लो निर्वाचनमा प्रत्यक्ष पराजय बेहोरेकी उनी राष्ट्रिय सभाकी पूर्वसांसदसमेत हुन् ।

लोकगायक रमेश प्रसाईं रास्वपाबाट खस-आर्य पुरुष क्लस्टरमा समानुपातिक उम्मेदवार बनेका छन् । लाइभ लोकदोहोरी गायन र सामाजिक टिप्पणीका कारण चर्चामा रहेका प्रसाईंको राजनीति प्रवेशलाई वैकल्पिक राजनीतिक चेतनाको संकेतका रूपमा लिइएको छ।

सीमित दलमा वर्चस्व

यसपटकको निर्वाचनमा कलाकर्मी उम्मेदवारलाई समेट्ने काम केही सीमित दलले मात्र गरेका छन् । नेकपा एमाले, रास्वपा, गतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टीले मात्र कलाकारलाई उम्मेदवार बनाएका छन् । तीमध्ये सबैभन्दा धेरै कलाकारलाई रास्वपाले अघि सारेको छ ।

चासोको विषय भने देशका ठूला दल नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीले भने कलाकार अटाएका छैनन् ।

कलाकर्मीको राजनीति प्रवेशले नेपाली लोकतन्त्रमा नयाँ ऊर्जा थपेको छ। अब प्रश्न उनीहरूको जित-हारभन्दा पनि संसदमा पुगेपछि उनीहरूले बोकेको विचार, प्रतिबद्धता र इमान व्यवहारमा कति उतार्छन् त्यो हेर्न बाँकी छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ९ : ४१ बजे

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च