जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई « Khabarhub

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई



काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण थाल्यो । त्यसको जिम्मा ‘हाज्मा एन्डो कर्पोरेसनल’ नामक जापानी कम्पनीलाई दिइयो । जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ संयुक्त लागतमा आयोजना निर्माण अघि बढाइयो ।

जसको समयावधि ३ वर्ष ६ महिना तोकिएको थियो । अहिले काम सुरु गरेको साढे पाँच वर्ष बितिसकेको छ । यस बीचमा कम्पनीले चार पटकसम्म म्याद थप्यो । तर अझै २ प्रतिशत काम पूरा भएको छैन । अन्तिम सम्झौता अनुसार उक्त कम्पनीले वैशाखसम्म काम पुरा गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ ।

पूर्वप्रधानमन्त्री केपी ओलीले अंग्रेजी नयाँ वर्ष २०२६ बाट सुरुङमार्ग सुचारु गर्ने घोषणा समेत गरेका थिए । तर करिब–करिब काम सम्पन्न भइसक्दा पनि चीन र जापानी कम्पनीबीच सुरुङमार्ग सञ्चालका विषयमा किचलो उत्पन्न भएपछि सरकारले निर्णय लिन सकेन ।

निर्माणको काम गरिरहेको जापानी पक्षले सञ्चालन तथा व्यवस्थापनको जिम्मा पनि आफैँ लिन चाहान्थ्यो । सोही कारण सुरुङमार्ग सञ्चालनमा ढिलाइ भयो । तर यतिबेला सरकरले सुरुङ सञ्चालन र व्यवस्थापनका लागि कम्पनी छनोट गरेको छ ।

विवादकै बीच सरकारले सोमबार सबैभन्दा कम मूल्यमा काम गर्ने कबोल गरेको चिनियाँ कम्पनी छनोट गरेको जानकारी दियो । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले ‘युसीन–एआरटी जेभी’ नामक चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा दिने भएको हो ।

आयोजनाले उक्त कम्पनीलाई सम्झौताका लागि बोलाएको छ । ‘हामीले सुरुङमार्ग सञ्चालनका लागि नेपाली कम्पनी समेतको ज्वाइन्ट भेन्चरमा काम गर्नेगरी आर्थिक मूल्याङ्कनमा चिनियाँ कम्पनी युसिन–एआरटी जेभी छनोट भएको ७ दिने सूचना सार्वजनिक गरेका छौँ । आठौँ दिन अर्को सूचना निकालेर सम्झौता गर्न बोलाइनेछ ,’ नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले भने ।

कम्पनीले अनुमानित लागतभन्दा करिब ४० प्रतिशत कम रकम कबोल गरेकाले छनोट गरिएको उनको भनाइ छ । सुरुङमार्ग सञ्चालनका लागि आयोजनाले गत कार्तिक १६ गते राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीसँग आवेदन आह्वान गरेको थियो । खरिद प्रक्रियामा १० कम्पनी प्रतिपर्धी भएकोमा नेपाली कम्पनीसँग समन्वयमा खरिद प्रक्रियामा आएका सात कम्पनीले प्राविधिक मूल्याङ्कनको चरण पास गरेका थिए ।

आर्थिक मूल्याकङ्कनमा भने जोइन्ट भेन्चरमा रहेको एआरटी नेपाली कम्पनी र युसिन चिनियाँ कम्पनीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेका थिए । कम्पनीले ५ वर्षसम्म सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि कुल १ अर्ब १० करोड ४० लाख रुपैयाँमा काम गर्ने प्रस्ताव गरेको आयोजना निर्देशक नेपालको भनाइ छ । यस अनुसार सरकारले कम्पनीलाई ठेक्काबापत वार्षिक करिब २२ करोड रुपैयाँ दिनुपर्नेछ ।

‘प्रथम चरणमा कम्पनीले त्यहाँ काम गर्ने करिब १ सय ५० जना जनशक्तिलाई दक्ष बनाउनेछ, जसमा नेपाली कामदार पनि रहनेछन् । त्यसो गर्दा ५ वर्षपछि नेपाली कम्पनीले मात्रै पनि काम गर्न सक्नेछन्,’ आयोजना निर्देशक नेपालले भने । कामदार छनोट र परिक्षण अवधि समेत कम्पनीले निर्धारित गर्नेछ । परिक्षणका लागि भने सेवा प्रदायकले सुरुङ सुचारु गरेरै कामदारलाई प्रशिक्षित गर्नेछ ।

‘टनेलको पश्चिमतर्फ पहिरो नियन्त्रणका लागि काम भइरहेको छ, पहिले त्यो सम्पन्न गर्नुपर्नेछ । त्यसमा अहिले जापानी कम्पनीले काम गरिरहेको छ । वैशाखको अन्तिमसम्ममा काम सकेर ट्रायल परीक्षणका लागि सञ्चालन गर्दै सम्भवत साउनबाट भने पूर्ण रुपमा सञ्चालनमा ल्याइनेछ,’ नेपालले थपे, अन्तिम पटकको म्याद थप्दा वैशाख १२ गतेसम्म काम सक्नुपर्छ । त्यसपछि निर्माण कम्पनीले सरकारलाई आयोजना हस्तान्तरण गर्नेछ ।

उनले भनेजस्तै सञ्चालनको सम्झौता भएको तीन महिनाभित्र पूर्णरुपमा सुरुङ सुचारु गर्नु बाध्यकारी सर्त भएकाले समयमै काम सम्पन्न गर्न जोड दिइएको छ ।

उक्त जेभीसँग सुरक्षाको मापदण्ड, शुल्क दस्तुर उठाउने, सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार लगायत काम गर्नेगरी सम्झौता हुनेछ । सुरुङबाट वर्षभरि चौबीसै घण्टा सवारी आउजाउ गर्ने व्यवस्था गरिने उनले बताए ।

‘सडक बोर्डले सडक प्रयोगबापत उठाइने शुल्क सडक बोर्डमा जानेहुँदा यसको पनि सो दस्तुर कम्पनीले त्यहीँ पठाउनेछ भने सञ्चालनको आर्थिक जिम्मा भने सरकारमा रहनेछ,’ नेपालले भने । आयोजनाले उपलब्ध गराएको सञ्चालनको डिजिटल खाका अनुसार उक्त मार्ग हुँदै प्रतिदिन करिब ९ सय ५० सवारी आवतजावत गर्ने आँकलन गरिएको छ । तर सो मार्गबाट पैदल तथा दुई वा तीन पाङ्ग्रे सवारीलाई भने प्रवेश दिइने छैन ।

सुरुङमार्ग प्रयोग गर्न शुल्क कति ?

सरकारले करिब १६ अर्ब रकम खर्चेर निर्माण गरेको उक्त सुरुङ प्रयोग गर्दा निश्चित शुल्क तोकिएको छ । उपभोक्ता दस्तुरबारे गत साउन १९ गते तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषदले निर्णय गरेअनुरुप हुनेछ । यसअनुसार चार पाङ्ग्रेदेखि ठूला सवारीले उक्त मार्गमा गाडी चलाउन न्यूनतम ६० देखि अधिकतम ६ सय रुपैयाँसम्म दस्तुर तिर्नुपर्नेछ ।

सुरुङमार्गमार्फत कार तथा भ्यानले काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने छ भने मिनिबस र मिनिट्रकका लागि काठमाडौँ आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ । त्यस्तै, बस तथा ट्रकले काठमाडौँ आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।

यसैगरी भारी उपकरणका सवारी साधनका लागि भने काठमाडौँ आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर कायम गरिएको छ ।

कस्ता सवारी प्रवेश पाउँदैनन् ?

सरकारले जारी गरेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका अनुसार पैदलयात्री, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारी र नन मोटोराइज्ड सवारीले भने सुरुङमा प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्याँस लगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिने उल्लेख गरिएको छ ।

सवारी र यात्रुको सुरक्षार्थ मुख्य सुरुङमार्गसँगै अर्कोतर्फ आपतकालीन सुरुङ पनि बनाइएको छ । जसमा मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपतकालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ८ : १३ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा