काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक किर्तिपुरको राधास्वामी सत्संगस्थित सुकुमवासी होल्डिङ सेन्टरमा आश्रित डम्मर तामाङ सोमबार पक्राउ परे । भोजपुरका ३९ वर्षीय तामाङमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ ।
तामाङले काठमाडौंमा घर, जग्गासहित ८ लाख रुपैयाँ नगद पाउनुपर्ने माग राख्दै होल्डिङ सेन्टरबाट निकाल्न खोजिए खुकुरी बोकेर सिंहदरबार छिर्ने भन्दै आक्रोश पोखेका थिए । सोमबार तामाङ पक्राउ परेपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरको सुरक्षा व्यवस्था र आन्तरिक वातावरण निकै तनावपूर्ण र चुस्त बनाइएको छ ।
तामाङको पक्राउ लगत्तै कीर्तिपुर होल्डिङ सेन्टरमा ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् । एक भूमि अभियन्ताका अनुसार हाल सेन्टरमा आवतजावत गर्नेहरूको झोला र ब्याग कडा रूपमा खानतलासी गरेर मात्र भित्र छिर्न दिने गरिएको छ ।
होल्डिङ सेन्टरभित्रका सुकुम्वासीहरूले मिडियामा बोलेको वा अन्तर्वार्ता दिएकै आधारमा पक्राउ पर्न सक्ने त्रास फैलिएको एक भूमि अभियन्ताले भनिन् । आधिकारिक रूपमा नभनिए पनि त्यहाँ कसैलाई सहजै छिर्न दिइएको छैन र सुरक्षा कडा पारिएको उनको भनाइ छ ।
ती अभियन्ताका पक्राउ परेका डम्बर तामाङ विगतमा सामान्य प्रवृत्तिका व्यक्ति भए पनि सरकारले एक्कासि उठीबास लगाएपछि उत्पन्न चरम निराशाका कारण उनले सामाजिक सञ्जालमा आक्रोश ओकलेका हुन् ।
राज्यले २७ वटा सुकुम्बासी बस्ती भत्काएर सबै जायजेथा टुटाइदियो, फुटाइदियो, अभियन्ताले भनिन् पुर्जा पाइएला र व्यवस्थापन होला भनेर बसेका मानिसहरूलाई पलभरमै निराश बनाएपछि सरकारविरुद्ध आक्रोश पोख्नु स्वाभाविक हो । तर अहिले आक्रोश पनि व्यक्त गर्न नपाइने संयन्त्र बन्दै गएको छ ।
लगत संकलन र खानाको अवस्था
काठमाडौँका सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन लागि हुनुपर्ने आधिकारिक लगत संकलन अझै अन्योलमा छ ।
अधिकारकर्मीका अनुसार भूमि समस्या समाधान आयोगले तोकेको ढाँचा बमोजिम बसोबासको आधारमा भूमिहीन, दलित र अव्यवस्थित बसोबासीको लगत संकलन काठमाडौँमा कतै पनि भएको छैन ।
बागमती सभ्यताले २५ हजार रुपैयाँ दिएर आफैँ हट्न गर्ने भनेको संकलनलाई सुकुम्बासीहरूले वास्तविक लगत संकलन मानेका छैनन् । सरकारले हाल होल्डिङ सेन्टरमा ३ सय ८८ परिवार रहेको दाबी गरे पनि २७ वटा बस्ती भत्काइँदा झन्डै ३ हजार ५ सयभन्दा बढी परिवार प्रभावित भएको र कतिपय अझै दर्ता प्रक्रिया तथा सेड्युलिङमा पर्न नसकेको अभियन्तारूको दाबी छ ।
हाल सेन्टरमा बस्नेहरूलाई उपलब्ध गराइने खानाको स्तर पहिलेकै जस्तो सामान्य रहेको र अरूको भरमा परेर भए पनि सुकुम्बासीहरूले पेट भर्ने काम गरिरहेको उनले बताइन् ।
तामाङको पक्राउ र होल्डिङ सेन्टरभित्रको कडा सुरक्षाका कारण सुकुम्बासी मोर्चा र अभियन्ताहरूले थप दबाबमूलक कार्यक्रमका लागि छलफल अगाडि बढाएका उनले बताएकी छन् ।












प्रतिक्रिया