‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ « Khabarhub

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा कुरा गरेको तीन दिनपछि रसुवामा बाढीले सबै बगायो रे भन्ने सुनेँ । मेरी कान्छी बाँच्यो होला कि नहोला ?’

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ राजपुरकी ८३ वर्षीया खीमादेवी पुनमगरको आँखामा अहिले यही प्रश्न घुमिरहन्छ । 

चाउरी परेको अनुहार, धमिलिँदै गएको आँखामा टिलपिलाएका आँसु र हातमा पटुकाको फेरो । त्यही फेरोले आँसु पुछ्दै उनी रसुवाको चीन सीमा नजिक खाजा पसल सञ्चालन गर्दै आएकी कान्छी छोरी एकमाया पुन मगर (केसी) लाई सम्झिन्छिन् ।

‘छोरीले तिहारमा आउँछु भनेकी थिई । घर आउँछु भनेर फोन गरेकी छोरी आज कहाँ छे, के अवस्थामा छे भन्ने थाहा छैन’, खिमादेवीले भक्कानिँदै भनिन्, ‘छोरी जिउँदै फर्केर आओस्, मलाई यत्ति चाहिएको छ ।’

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवामा जनधनको ठूलो क्षति पुर्‍याएपछि खीमादेवीको मनमा छोरीको चिन्ताले घर गरेको छ । भदौ १० गते बाढीले सबै बगाएर बगर बनाएको खबर उनले माइली बुहारी तिलाकुमारी पुनमगरबाट सुनेकी थिइन् । 

बुहारीले मोबाइलमा बाढीको भिडियो देखाएपछि उनको मन झनै अत्तालियो । त्यसयता उनको आँखाले छोरी आउने बाटो कुरिरहेको छ । कानले छोरीको आवाज सुन्न खोजिरहेको छ । तर फोनको घण्टी बज्दैन । खबर आउँदैन । आउने हरेक सूचनाले आशाभन्दा बढी डर दिएको छ ।

‘मलाई केही चाहिँदैन’, खीमादेवीले आँसु पुछ्दै भनिन्, ‘मेरी छोरी फर्केर आओस् । उसले फोनमा भने जस्तै तिहारमा घर आओस् । म उसलाई आफ्नै आँखाले देख्न पाऊँ ।’

चौवालीस वर्षीया एकमाया विगत पाँच वर्षदेखि रसुवामा खाजाको पसल सञ्चालन गर्दै आएकी थिइन् । श्रीमान् प्रकाश केसीसँग करिब १२ वर्षअघि कामको सिलसिलामा काठमाडौँ पुगेकी उनले पछि रसुवामा व्यवसाय सुरु गरेकी थिइन् । दुई छोराकी आमा एकमायाको पसलमा आफ्नै आफन्त काम गर्न पुगेका थिए ।

बाढीपछि एकमाया पनि अन्य व्यक्ति जस्तै सम्पर्कविहीन भइन् । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको बेपत्ताको विवरणमा उनको नाम समावेश भयो । 

तर त्यसको केही समयपछि उनको शव तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पूर्वबेँसी भन्ने स्थानमा भदौ ११ गते फेला परेको सरकारी विवरण सार्वजनिक भयो ।

तर, परिवारका लागि त्यो विवरणले अझै निश्चितता दिएको छैन । परिवारका सदस्यले त्यसलाई स्वीकार गर्न सकेका छैनन् । आमाको मनले त झन छोरीको मृत्यु भएको मान्न सकेको छैन । 

‘मेरी छोरी नै हो भनेर म कसरी मानूँ ? उसले त घर आउँछु भनेर फोन गरेकी थिई’, खिमादेवीले भनिन्, ‘मेरी छोरी कतै बाँचेर बसेकी पो छ कि ? एकपटक आएर आमा भनेर बोलाइदिए पुग्छ ।’

एकमायासँगै कामको सिलसिलामा रसुवा पुगेका उनकै भतिजी जानकी घर्तीमगर र भतिज सेतुनाथ योगी पनि बाढीपछि बेपत्ता छन् । 

बेरोजगार रहेका आफन्तलाई रोजगारीसँगै साथसमेत हुने भन्दै एकमायाले आफ्नै खाजा पसलमा काम गर्ने अवसर दिएकी थिइन् । तर रोजगारीको खोजीमा रसुवा पुगेका उनीहरूको परिवार अहिले एक–एक फोन र एक–एक खबरको प्रतीक्षामा छ ।

राजपुर निवासी तिलक घर्तीमगरकी छोरी जानकी घर्तीमगर पनि अहिले बेपत्ताको सूचीमा छिन् । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै दलालले पाँच लाख ठगेपछि सहकारीबाट लिएको ऋण तिर्नुपर्ने भएपछि जानकी एकमायाको पसलमा काम गर्न गएकी थिइन् । छोरीलाई रसुवा नजान आग्रह गरेको सम्झना गर्दै तिलकका आँखा रसाए ।

‘मैले छोरीलाई फर्क, त्यहाँ काम गर्न पर्दैन भनेको थिएँ । बरु म यहाँ विद्युतीय रिक्सा किनिदिन्छु भनेको थिएँ’, उनले भनिन्, ‘तर उसले मानिन । ‘हैन बुवा, म यतै काम सिक्छु, पछि आफ्नै व्यवसाय गर्छु भन्थी ।’ छोरीप्रति गर्व गर्दै उनले थपे, ‘उ हाम्रो घरको छोरी होइन, छोरा थिई ।’

छोरी बेपत्ता भएपछि भने त्यही घरमा अहिले सन्नाटा छ । खबर आउने आशामा परिवारको दिन बितिरहेको छ । ‘आजसम्म छोरीको कुनै खबर आएको छैन । मन आत्तिएको छ’, तिलकले रुँदै भने, ‘जिउँदै छे जस्तो पनि लाग्छ, छैन जस्तो पनि लाग्छ । उसलाई केही भयो भने हामी कसरी बाँच्ने ?’ 

तर शोकले घेरिए पनि तिलकको मनले छोरी फर्कने आशा छाडेको छैन । सरकारी खोजीबाट कुनै सकारात्मक खबर आउने र ढिलोचाँडो छोरी घर फर्कने विश्वासमा परिवार बसिरहेको छ ।

जानकीसँगै काम गर्न रसुवा पुगेका राजपुरकै ४७ वर्षीय सेतुनाथ योगीको परिवार पनि अहिले यस्तै आशामा छ । दश महिनाअघि कामका लागि रसुवा पुगेका सेतुनाथका घरमा श्रीमती टिका योगी र दुई साना छोरा छन् । 

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ३ : ४२ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल