एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना गर्न लागेको संयुक्त समुद्री सैन्य अभ्यासप्रति उत्तर कोरियाले आपत्ति जनाउँदै उक्त अभ्यासलाई आफ्नो मुलुक तथा क्षेत्रीय सुरक्षाका लागि ‘खतरा’ भएको जनाएको छ।
तीन देशले सेप्टेम्बर ७ देखि ११ सम्म दक्षिण कोरियाको जेजु टापुको पूर्व तथा दक्षिणतर्फको अन्तर्राष्ट्रिय जलक्षेत्रमा ‘फ्रिडम एज’ नामक संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरेका छन्। दक्षिण कोरियाले भने उक्त अभ्यास रक्षात्मक प्रकृतिको भएको बताउँदै आएको छ।
उत्तर कोरियाको विदेश मन्त्रालयले सरकारी समाचार संस्था केसीएनएमार्फत सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिका, दक्षिण कोरिया र जापानको बढ्दो सैन्य सहकार्यप्रति कडा आपत्ति जनाइएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सेनाले अमेरिका–जापान–दक्षिण कोरिया बहुआयामिक संयुक्त सैन्य अभ्यास ‘फ्रिडम एज’ सञ्चालन गर्ने योजना घोषणा गरेको छ, जुन उत्तर कोरिया र क्षेत्रीय मुलुकका लागि खतरा हो।’
उत्तर कोरियाले अमेरिकाले निरन्तर हवाई निगरानी तथा अन्य ‘उत्तर कोरिया विरोधी सैन्य गतिविधि’ सञ्चालन गरिरहेको आरोप लगाएको छ। प्योङयाङले यस्ता गतिविधिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनको ‘शत्रुतापूर्ण नीति’ पुनः पुष्टि भएको दाबी गरेको छ।
उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्ने माध्यमका रूपमा प्रस्तुत गर्दै आएको छ। अमेरिका र उसका सहयोगी मुलुकहरूले भने उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई क्षेत्रीय सुरक्षाका लागि प्रमुख चुनौतीका रूपमा लिँदै आएका छन्।
यसअघि दक्षिण कोरिया र अमेरिकाले आफ्नो प्रमुख वार्षिक सैन्य अभ्यास ‘उल्ची फ्रिडम शिल्ड’ सम्पन्न गरेका थिए। ट्रम्पले उच्च लागत तथा उत्तर कोरियाली नेता किम जोङ उनसँगको आफ्नो सम्बन्धलाई कारण देखाउँदै उक्त अभ्यासको अवधि ११ दिनबाट घटाएर पाँच दिनमा सीमित गर्न निर्देशन दिएका थिए।
ट्रम्पले किमसँग पुनः वार्ता गर्न इच्छा व्यक्त गर्दै आए पनि उत्तर कोरियाले अहिलेसम्म त्यसप्रति सकारात्मक प्रतिक्रिया दिएको छैन। प्योङयाङले संयुक्त सैन्य अभ्यास, दक्षिण कोरियालाई अमेरिकी हतियार बिक्री तथा आफ्नो सुरक्षाविरुद्ध लक्षित सैन्य गतिविधिको निरन्तर विरोध गर्दै आएको छ।
अमेरिका, दक्षिण कोरिया र जापानबीचको बढ्दो सुरक्षा सहकार्यलाई उत्तर कोरियाले आफ्नो सैन्य तथा आणविक क्षमता थप सुदृढ गर्ने प्रमुख कारणका रूपमा प्रस्तुत गर्दै आएको छ। यसले कोरियाली प्रायद्वीपमा सैन्य तनाव थप बढ्ने चिन्ता पनि बढाएको छ।












प्रतिक्रिया