श्रम संस्कृतिका सांसदको प्रश्न- हाम्रो एउटै प्रश्नले दुई तिहाइको प्रधानमन्त्री किन आत्तिनु ? « Khabarhub

श्रम संस्कृतिका सांसदको प्रश्न- हाम्रो एउटै प्रश्नले दुई तिहाइको प्रधानमन्त्री किन आत्तिनु ?

सरकारलाई गुण र दोषको आधारमा सहयोग



काठमाडौं- श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित भोजपुरका सांसद धुर्वराज राई प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताउँछन्। प्रधानमन्त्री शाहले बोलाएको सांसदहरूसँगको छलफलमा श्रम संस्कृति पार्टीको प्रतिनिधित्व नभएको सन्दर्भमा उनी प्रतिनिधि सभाबाट आफ्ना कुराहरु राख्न जनताले चुनेर पठाएको बताउँदै कोठे बैठकमा सहभागी नभएको जानकारी गराउँछन् ।

मंगलबार प्रधानमन्त्रीले बोलाएको सांसदहरूको बैठकमा राई जानका लागि उनी सिंहदरबार पुगेका थिए । तर अध्यक्ष हर्क साम्पाङले रोकेको चर्चा भइरहेको छ । यो विषयमा प्रश्न गर्दा उनी भन्छन्, ‘म भोजपुरबाट आएका साथीहरू र कोशी प्रदेशका केही व्यक्तिहरूलाई भेट्न सिंहदरबार पुगेको थिएँ ।’

प्रधानमन्त्रीका रूपमा बालेनलाई अस्वीकार गरेको कुरामा राई ठाडै इन्कार गर्छन् । उनी दुईतिहाइ नजिकको सरकारको प्रधानमन्त्री एउटा सांसदले गरेका फेसबुक स्टाटसले आत्तिन नहुने बताउँछन्। राईसँग प्रधानमन्त्री बालेन्द्र र अध्यक्ष हर्क साम्पाङको सम्बन्ध, श्रम संस्कृति पार्टीको आगामी रणनीति र सरकारसँगको सम्बन्धबारे कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

यहाँहरू प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई बोलाएको बैठकमा किन नजानुको कारण के हो ?

हामीले शपथ ग्रहण गरेको हप्ता दिन भइसकेको छ। हामीले प्रतिनिधि सभाको बैठकमै जनता र आफ्ना क्षेत्रका विषयमा कुरा राख्ने भनेको हो । सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयबाट निम्तो आएको थियो। तर हामी एकचोटि शपथ ग्रहण गरेपछि प्रतिनिधिसभामा उपस्थित नभई बाहिर पब्लिक नहुने भन्ने मनसायका साथ नगएका हौं ।

प्रतिनिधि सभामा छलफल हुँदा र विभिन्न संयन्त्र गठन हुँदा त्यसमा सहभागी हुने र उपस्थित जनाउने छुट्टै कुरा हो । तर व्यक्तिगत रुपमा बोलाइएको विषयमा हामी नगएको हो । जनताले हामीलाई प्रत्यक्ष हेरुन् भन्ने कुरा हो। कोठाभित्र लुकेर गरिएको बैठकमा हामीले उपस्थित नजनाएको हो।

अहिले मानिसहरूले हामीलाई जानुपर्छ, जानुपर्छ भन्ने किसिमका टिका टिप्पणी गरिरहेका छन् । तर हाम्रो कुरा कम्तिमा पनि प्रतिनिधि सभा बैठक बोलाएर यस्ता किसिमका छलफल हुनुपर्छ भन्ने हो ।

तपाईं त बैठकमा जानलाई सिंहदरबार पुगेको भन्ने सूचना पनि आएको थियो ?

होइन, म आफ्नो जिल्लाबाट र प्रदेशबाट आएका साथीहरूलाई भेट्न गएको हो । हाम्रो बैठकबाट प्रतिनिधिमूलक कुनै व्यक्ति पठाउँला कि भनेर छलफल गरेको हो तर संसद सुरु नभएसम्म कतै पनि सहभागी नहुने भन्ने हाम्रो पार्टीको निर्णय अनुसार गएनौँ ।

 तपाईंहरूको पार्टीमा पनि यो बैठकमा नजाने र नजानेबारे दुई धार देखियो भन्ने आयो नि हो ?

होइन ।  हामी यसमा दुई धार देखिएका छैनौँ। यो बाहिर नियोजित हल्ला गरिएको हो । मलाई त के जानकारी छ भने बैठक ११ बजे बोलाइएको थियो । जाने नजाने भन्ने विषयमा पार्टीमा सल्लाह भइसकेको थियो। म भोजपुर  र कोशी प्रदेशका साथीहरूसँग भेटघाट गर्न सिंहदरबार गएको हो। बिल्कुल बैठकको लागि गएको होइन। यो बुझाइ नै फरक हो।

जाँदा हामी प्रतिनिधिमूलक जान्थ्यौं होला, तर जे कुरा राख्नु छ– संयन्त्र गठन नभइन्जेल सदनबाटै बोल्ने भनेर नगएको हो । सरकारले जेसुकै भने पनि हामीले नै चाँडो सदन बोलाउनु भनेर दबाब दिएका कारण सरकारले सदन बोलाउने निर्णय गरेको हो ।

नत्र सरकारले सदन नै नबोलाएर प्रधानमन्त्रीले खाली सांसदहरूसँग छलफल गरेको जस्तो गर्नुभयो। यो छलफल पनि ठिकै होला तर सदन बोलाउनुपर्छ भन्ने नै हाम्रो मुख्य टार्गेट हो।

तर प्रधानमन्त्री बालेन्द्र शाह लक्षित विभिन्न अभिव्यक्ति तपाईंको पार्टी अध्यक्ष हर्क साम्पाङले  प्रधानमन्त्री नै नस्वीकारेको हो कि भन्ने पनि प्रश्न उठ्न थालेका छन्  ?

हामीले संविधानलाई स्वीकार्ने हो, प्रधानमन्त्रीलाई स्वीकार्ने हो। हामीले प्रधानमन्त्रीलाई किन नस्वीकार्ने र स्वीकार्छौँ ।  हाम्रो देशको प्रधानमन्त्री हो। हामी विधि पद्धतिलाई मान्ने काम गर्छौं। हामीले कुरा राख्दाखेरि सडकमा गएर राख्ने ठाउँ छैन ।

बैठकमा नगएको विषयलाई नै प्रधानमन्त्री अस्वीकार गरेको भनेर टिप्पणी गर्नु ठीक हुन्छ जस्तो लाग्दैन । जनताले दुईतिहाइ नजिकको मत दिएर बनाएको प्रधानमन्त्रीलाई हामी स्वीकार्छौँ ।  

सरकारलाई पनि स्वीकार्छौँ तर गुण र दोषका आधारमा । हामीलाई म्यान्डेट जनताले जे दिएको छ । त्यसैले  सदनबाटै कुरा राख्छौं भनेर नगएको हो। एउटा सांसदले लेखेको सामान्य स्टाटसले नै प्रधानमन्त्रीज्यूलाई स्वीकार नगरेको भन्ने कुरा गलत हो।

तर सामाजिक सञ्जालमा तपाईंका पार्टी अध्यक्षले प्रधानमन्त्री लक्षित विभिन्न अभिव्यक्तिहरू लेखिरहनुहुन्छ  नि ?

हामीले प्रधानमन्त्रीलाई सहयोग र असहयोग गर्ने के कुराले के फरक पर्छ र ? दुईतिहाइ नजिकको सरकारलाई हामीले सहयोग र असहयोग गर्नुको कुनै औचित्य छैन।

राम्रो कुरा सकारात्मक ढङ्गले अगाडि बढेको छ भने उहाँलाई हामी सहयोग गर्छौं। देश र जनताको विषयमा र देश बनाउने विषयमा हामी उहाँलाई सहयोग गर्छौं। गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने हाम्रो योजना नै छ ।  तर नराम्रो कुरा राष्ट्रियघाती, जनविरोधी कुरा आयो भने हामी विरोध गर्छौं ।

 तपाईंको अध्यक्ष त बालेन प्रधानमन्त्री भएकोमा खुसी हुनुहुन्न भन्ने छ नि ?

जनताले दुईतिहाइ नजिकको जनमत दिएर प्रधानमन्त्री भएको व्यक्तिलाई हाम्रो अध्यक्षले केही आलोचना गर्दा नै सशंकित हुनुहुन्छ भने त त्यो उहाँहरूको कुरा हो। लोकतन्त्रमा जिम्मेवार व्यक्तिले अर्को जिम्मेवार व्यक्तिलाई गलत गर्छ कि भनेर आलोचना गर्नु स्वाभाविक कुरा हो।

हाम्रो अध्यक्षले सामाजिक सञ्जालमा लेखेरै जनमतको भावना के छ भनेर बुझ्न खोज्नुभएको होला । पार्टी अध्यक्षले प्रधानमन्त्री नै अस्वीकार गरेको भन्ने कुरामा मेरो बिमति छ ।

उहाँको व्यवहार अलि अपरिपक्व भयो कि भन्ने प्रश्न छ । अर्को कुरा नयाँ वैकल्पिक शक्तिहरू नै एकआपसमा भिड्नु ठिक हो र ?
 
प्रश्न त विभिन्न तरिकाले मान्छेहरूले उठाउनु स्वाभाविक हो। अध्यक्षज्यूले के प्रतिक्रिया आउँछ भनेर सामाजिक सञ्जालमा सामान्य ढंगले लेख्नुभएको रे। हामीबीच कुनै तुस र दुश्मनी छैन । राष्ट्रिय हित र जनभावना अनुसार काम गरेको खण्डमा हामी सहयोग गर्छौं र राष्ट्रघाती कुरामा स्वस्थ आलोचना गर्छौ।

पार्टी अध्यक्षलाई जिम्मेवार व्यक्तिले सामाजिक सञ्जाल प्रयोग गर्दा संयमितता अपनाउनुपर्छ कि भनेर तपाईंहरू सुझाव दिनुहुन्न ?

हामीले सुझाव दिएका छौं । उहाँले हामीसँग सल्लाह लिएर नै धेरै कुराहरू लेखिरहनुभएको छ। तपाईंले भनेको कुरा निकै अगाडि लेख्नुभएको होला। तर बिल्कुल उहाँ पहिलैबाट सामाजिक सञ्जाल प्रयोगकर्ता भएकाले जनताको विचार के छ भनेर बुझ्न खोज्नुभएको हो ।

 तपाईंहरूको पार्टी श्रम संस्कृतिमा पनि वैचारिक धार र पार्टी अध्यक्ष लाइन छुट्टिन थालेको हो ?

यो कसले यस्तो भन्यो र ? हाम्रो पार्टीलाई सानो भनेर हेप्नेहरूले आरोप लगाएका होलान् । कुनै इन्टरभ्यु लेख र अभिव्यक्तिमा हामीले पार्टीको विषयमा यस्तो कुरा गरेका छैनौँ। कसै साथीले पनि पार्टीभित्र अध्यक्षलाई अथवा कोही पनि व्यक्तिलाई औंला उठाएर यस्तो भएन है भनेको छैन । अब हामी भावी प्रधानमन्त्री हर्क साम्पाङ हो भनेर हिँडेका छौं। त्यसकारण कतिपय गल्तीहरू हुन्छन् व्यक्तिबाट । तर यो पार्टी विभाजन हुने अथवा फुट्ने कुरा निराधार हो ।

हामी हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउन आगामी दिनमा तयारीका साथ लागिरहेका छौं । आगामी निर्वाचनमा हेर्दै जानु हामी पहिलो पार्टी बन्छौँ । र, देशको प्रधानमन्त्री हर्क साम्पाङ बन्नुहुन्छ । सबै नेपाली जनता र वैचारिक नेताहरू आउनुहोस् एक ढिक्का भएर अगाडि बढौँ पो भनिरहेका छौं ।

तपाईंहरूले प्रमुख सचेतक र संसदीय दलको नेता कहिले चुन्नुहुन्छ ?

हाम्रोमा धेरै मान्छे छ हुनुहुन्न , यसमा अप्ठ्यारो छैन । संसदीय दलको नेता पार्टी अध्यक्ष नै हुनुहुन्छ। प्रमुख सचेतक कुनै एक व्यक्तिलाई बनाउँछौं। कुनै पनि पद हाम्रो लागि ठूलो होइन । जिम्मेवारी ठूलो हो। हाम्रो पदको भागबण्डा मिलाउन कुनै समस्या छैन।

यहाँले सरकारलाई गुण र दोषको आधारमा सहयोग गर्छौं भन्नुभयो, सरकारमै सहकार्य गरेर जाने सम्भावना त छैन होला है ?
 
हामीले उठाएका एजेन्डा राष्ट्रिय स्वतन्त्र पार्टीले पास गरेको खण्डमा हामी सहयोग गर्छौ । हाम्रो विधानमा भएका कुराहरूलाई उहाँहरूले पनि अपनत्व गर्नुहुन्छ भने र उहाँहरूको विधानमा भएका सकारात्मक कुरालाई हामी अपनत्व गर्छौं।

अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफल गर्न सकिन्छ । राष्ट्रिय घाती सन्धिहरूको विषयमा छलफल गर्दा के हो उपयुक्त भनेर सहकार्य गर्न सकिन्छ । देश र जनताको भलो हुने कुरामा उहाँहरूसँग सहकार्य गर्न तयार छौं । राष्ट्रघाती कुराहरू छन् भने त्यसलाई हामी डटेर विरोध गर्छौं। सरकारलाई गुण र दोषका आधारमा सहयोग-असयोग गर्छौं ।

अन्तिममा मैले पुन एकपटक दोहोर्‍याएँ, बालेन्द्र-हर्क साम्पाङको सम्बन्ध बिग्रिएको कारण हर्कले निरन्तर फेसबुकमा बालेन लक्षित नकारात्मक अभिव्यक्ति दिएर हो भन्छ्न् नि ?

उहाँहरू पछिल्लो समय भेट हुनुभएको छैन । अनि कसरी सम्बन्ध बिग्रनु र ? फेसबुकमा लेखेको कुरालाई धेरै अतिरञ्जित गर्नु जरुरी छैन जस्तो लाग्छ। उहाँहरूबीच भेटघाट हुँदा राम्रो वातावरण बन्छ भन्ने हामीलाई लागेको छ। तर सामाजिक सञ्जालको कुरालाई लिएर धेरै टिकाटिप्पणी गर्नु उचित हुँदैन किनकि सामाजिक सञ्जालबाट कुनै पनि मान्छेले गलत दिशा जान्छ कि भनेर पार्टी अध्यक्षले घच्घच्याउनु भएको हो। उहाँहरूबीच गहिरो तुस छैन।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ७ : १२ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको