निर्माण सामग्री अभावले धुलिखेल–खावा सडक प्रभावित (तस्बिरहरू) « Khabarhub

निर्माण सामग्री अभावले धुलिखेल–खावा सडक प्रभावित (तस्बिरहरू)


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको भए पनि पछिल्लो समय निर्माण सामग्रीको अभावका कारण काम प्रभावित बनेको छ । 

लामो समयदेखि धुलो, हिलो तथा जामको समस्या भोग्दै आएका स्थानीयवासी र यात्रुहरू सडक निर्माण सम्पन्न हुने प्रतीक्षामा रहे पनि केही सातायता निर्माणको गति सुस्त बनेको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार धुलिखेल चोकबाट कालोपत्रे कार्य सुरु गरिएको हो । करिब ४ किलोमिटर लम्बाइ रहेको यस सडकखण्डमध्ये पहिलो चरणमा २.५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ भने बाँकी १.५ किलोमिटर खण्डमा दोस्रो चरणअन्तर्गत कालोपत्रे गरिनेछ ।

यसअघि २०७९ जेठ २० गते २२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक निर्माण कम्पनीले ठेक्का पाएको थियो । तर निर्धारित समय सकिएको ११ महिनासम्म पनि काम सम्पन्न हुन नसकेपछि २०८१ फागुन २५ गते सडक डिभिजन कार्यालय भक्तपुरले उक्त ठेक्का रद्द गरेको थियो ।

त्यसपछि नेपाल सरकारबाट ४२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरी १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत साउनमा नयाँ ठेक्का आह्वान गरिएको थियो । नयाँ ठेक्का प्राप्त निर्माण कम्पनीले मनसुन सुरु हुनुअघि नै सडकमा पिचको काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।

निर्माण कम्पनीका अनुसार ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिश्रित बेस राख्ने तथा त्यसपछि डिबिएम र अस्फाल्टको दुई तहमा कालोपत्रे गरिएको छ । हालसम्म सडकको अधिकांश भागमा बेस, सब–बेस तथा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ ।

धुलिखेल बजार क्षेत्रदेखि खावा आसपाससम्मको मुख्य खण्डमा कालोपत्रे गरिएको छ भने केही स्थानमा अन्तिम तहको कालोपत्रे, सडक किनार व्यवस्थापन, नाली निर्माण तथा लेन मार्किङका काम बाँकी रहेका छन् । 

तर बिटुमिन, क्रसिङ सामग्रीलगायत आवश्यक निर्माण सामग्रीको आपूर्तिमा समस्या देखिएपछि अन्तिम चरणका काम प्रभावित बनेका छन्। निर्माण सामग्री समयमै उपलब्ध हुन नसक्दा केही दिनयता निर्माणस्थलमा उल्लेखनीय गतिविधि देखिएको छैन ।

स्थानीयवासीका अनुसार केही महिनाअघि दैनिक रूपमा हेभी उपकरण परिचालन गरी कालोपत्रे र ग्राभेलिङको काम भइरहेको थियो । तर पछिल्लो समय निर्माणस्थलमा उपकरण र कामदारको उपस्थिति समेत घटेको छ। यसले सडक छिट्टै सम्पन्न हुने अपेक्षा गरेका स्थानीयवासीलाई निराश बनाएको छ ।

धुलिखेल–खावा सडकखण्ड सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको महत्त्वपूर्ण हिस्सा हो । काठमाडौं उपत्यकाबाट पूर्वी नेपालतर्फ जाने प्रमुख प्रवेशमार्गका रूपमा रहेको यस सडकको निर्माणमा भएको ढिलाइका कारण यात्रु, व्यवसायी तथा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

निर्माण पक्षले सामग्री आपूर्तिको समस्या समाधान हुनासाथ बाँकी कामलाई तीव्रता दिइने जनाएको छ । मनसुन सुरु हुनुअघि सकेसम्म कालोपत्रे तथा अन्य संरचनागत काम सम्पन्न गर्ने लक्ष्य रहे पनि हाल देखिएको सामग्री अभावले उक्त लक्ष्य प्रभावित हुन सक्ने देखिएको छ ।

यद्यपि अधिकांश भागमा कालोपत्रे सम्पन्न भइसकेकाले विगतको तुलनामा सडकको अवस्था उल्लेखनीय रूपमा सुधारिएको छ । धुलो र हिलोको समस्या केही हदसम्म कम भए पनि बाँकी काम सम्पन्न नहुँदा यात्रुले अझै केही स्थानमा असहज यात्रा गर्नुपरेको अवस्था रहेको छ । स्थानीयवासीले निर्माण सामग्रीको नियमित आपूर्ति सुनिश्चित गर्दै सडकको बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ११ : ३८ बजे

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी