उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू) « Khabarhub

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन् ।

सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका सडक बत्तीले रातको समयमा राजधानीको पश्चिमी नाका चम्किएको छ ।

काठमाडौं र धादिङलाई जोड्ने नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक उद्घाटनपछि सञ्चालनमा आउँदै छ ।

२०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो आयोजना करिब सात वर्षपछि सञ्चालनमा आउन लागेको हो ।

करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सुरुङमार्गले नागढुंगाको ट्राफिक जाम कम गर्दै काठमाडौं उपत्यकामा आवतजावतलाई सहज बनाउने अपेक्षा गरिएको छ । मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने २.५५७ किलोमिटरको छुट्टै आपतकालीन (रेस्क्यु) सुरुङ पनि निर्माण गरिएको छ।

उद्घाटनपछि पहिलो दिन आपतकालीन प्रयोजनका सवारी साधनलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ । त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइने सडक विभागले जनाएको छ । 

पैदलयात्री, दुई पाङ्ग्रे सवारी तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन ।

सुरुङमार्ग प्रयोगका लागि सरकारले शुल्कसमेत निर्धारण गरेको छ । काठमाडौं भित्रिँदा कार तथा भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । 

मिनीबस तथा टिपरले भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। बस तथा ट्रकका लागि भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ । हेभी ट्रकले भने भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रारम्भिक सम्झौताअनुसार आयोजना ४२ महिनाभित्र सम्पन्न हुनुपर्ने भए पनि कोभिड–१९ महामारी, जग्गा अधिग्रहण तथा मुआब्जा विवादलगायत कारण निर्माण कार्यमा ढिलाइ भएको थियो ।

सुरुङमार्गसँगै निर्माण गरिएको बलम्बु फ्लाइओभर पनि सञ्चालनका लागि तयार भएको छ । कलंकी–नागढुंगा सडकखण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिक रहेको यो फ्लाइओभरले नागढुंगा सुरुङमार्गको पहुँचमार्गलाई मुख्य सडकसँग जोड्ने काम गर्नेछ।

१२८ मिटर लामो फ्लाइओभरमा मूल सडकतर्फ २८० मिटर र पहुँचमार्गतर्फ २१० मिटर लामो र्‍याम्प निर्माण गरिएको छ। फ्लाइओभर र सुरुङमार्ग दुवै क्षेत्रमा सडक बत्ती जडान गरिएपछि रातको समयमा सम्पूर्ण संरचना झिलिमिली देखिन थालेको छ । 

आधुनिक प्रकाश व्यवस्थासहितको फ्लाइओभर र सुरुङमार्गले राजधानी प्रवेशद्वारको स्वरूप नै परिवर्तन गरेको छ ।

सरकारले सुरुङमार्ग सञ्चालनसँगै नागढुंगा नाकामा हुने लामो ट्राफिक जाम घट्ने, यात्रा समय छोटिने र राजधानी प्रवेश गर्ने सवारीको आवागमन थप सुरक्षित तथा व्यवस्थित हुने विश्वास लिएको छ ।

यो आयोजना जापान सरकारको ऋण सहायता र नेपाल सरकारको लगानीमा निर्माण गरिएको हो । प्रारम्भमा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहने सहमति भएको थियो । 

निर्माणका क्रममा लागत बढेपछि जापान सरकारले थप करिब ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो। आयोजनाको निर्माण ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो ।

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ७ : ३७ बजे

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

पर्सा – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको