राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव « Khabarhub

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव


३० श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने उद्देश्यले उत्तर कोरियासँग वार्ता सुरु गर्न प्रस्ताव गरेका छन् ।

जापानी औपनिवेशिक शासनबाट कोरिया मुक्त भएको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले दुई देशबीचको लामो समयदेखिको तनाव अन्त्य गर्न संवाद आवश्यक रहेको बताए।

‘आउनुहोस्, एक–अर्कालाई धम्की दिने मनसाय त्यागौँ र युद्धमा प्रत्यक्ष संलग्न पक्षका रूपमा लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न वार्ता सुरु गरौँ,’ उनले भने।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सम्झौताबाट नभई युद्धविराममार्फत रोकिएको थियो। त्यसैले दक्षिण र उत्तर कोरिया प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन्।

राष्ट्रपति लीले वार्ताका माध्यमबाट उत्तर कोरियाको आणविक क्षमता विस्तार रोक्ने प्रभावकारी उपायबारे समेत छलफल गर्न सकिने बताए। सन् २०२५ जुनमा पदभार सम्हालेपछि उनले पूर्ववर्ती सरकारको तुलनामा उत्तर कोरियाप्रति तुलनात्मक रूपमा नरम नीति अवलम्बन गर्दै बिनासर्त संवादको प्रस्ताव अघि सार्दै आएका छन्।

राष्ट्रपति लीको पछिल्लो प्रस्ताव उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको वार्षिक संयुक्त सैन्य अभ्यासको विरोध गरिरहेका बेला आएको हो। प्योङयाङले उक्त अभ्यासलाई आक्रमणको तयारीका रूपमा व्याख्या गर्दै त्यसविरुद्ध थप सशक्त प्रतिरोधात्मक कदम चाल्ने चेतावनी दिएको छ।

उत्तर कोरियाले जापानको बढ्दो सैन्य गतिविधिप्रति पनि असन्तुष्टि जनाउँदै आएको छ। टोकियोले क्षेत्रीय सुरक्षाका लागि आफ्नो रक्षा क्षमता विस्तार गर्ने प्रतिबद्धता जनाएपछि प्योङयाङले पछिल्ला दुई सातामा दुईपटक क्षेप्यास्त्र परीक्षण गरेको थियो।

सन् २०१९ मा हनोईमा उत्तर कोरियाली नेता किम जोङ–उन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको शिखर वार्ता विफल भएपछि प्योङयाङले आफूलाई पटक–पटक ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्दै आएको छ। आणविक निशस्त्रीकरणको दायरा र उत्तर कोरियामाथिका प्रतिबन्ध हटाउने विषयमा सहमति हुन नसकेपछि उक्त वार्ता निष्कर्षविहीन भएको थियो।

गत जुलाईमा दक्षिण कोरियाका एकीकरणमन्त्रीले उत्तर कोरियाका आणविक हतियार नष्ट गर्न दबाब दिने अभियानबाट पछि हट्दै प्योङयाङको आणविक कार्यक्रमको थप विस्तार रोक्नेतर्फ ध्यान केन्द्रित गर्ने बताउनुभएको थियो। यद्यपि, उत्तर कोरियाले राष्ट्रपति लीका पछिल्ला वार्ता प्रस्तावमा सकारात्मक प्रतिक्रिया जनाएको छैन।

यसबीच उत्तर कोरिया र रुसबीचको सैन्य सम्बन्ध थप सुदृढ हुँदै गएको छ। विश्लेषकहरूका अनुसार युक्रेनमा रुसले जारी राखेको युद्धमा उत्तर कोरियाले सेना तथा गोलाबारुद उपलब्ध गराएबापत मस्कोबाट आर्थिक सहयोग, खाद्यान्न, ऊर्जा तथा सैन्य प्रविधि प्राप्त गरिरहेको छ। उत्तर कोरियाली नेता किमले यस वर्षको अन्त्यतिर रुस भ्रमण गर्न सक्ने र त्यस क्रममा थप हतियार आपूर्तिबारे छलफल हुन सक्ने उनीहरूको आकलन छ।

दक्षिण कोरियाको प्रमुख सुरक्षा सहयोगी अमेरिकाले उत्तर कोरियाबाट हुन सक्ने सैन्य खतरालाई ध्यानमा राख्दै दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ।

अमेरिका–दक्षिण कोरिया संयुक्त सेना कमान्डका प्रवक्ता कर्नेल रायन डोनाल्डले युक्रेन युद्धबाट उत्तर कोरियाले प्राप्त गरेको सैन्य अनुभवले कोरियाली प्रायद्वीपमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई थप जटिल बनाएको बताए।

सोमबारदेखि सुरु हुने ११ दिने संयुक्त सैन्य अभ्यासबारे पत्रकारसँग कुरा गर्दै उनले भने, ‘उनीहरूले त्यहाँ सिकेका पाठहरू उत्तर कोरिया फर्काएर ल्याएका छन्। हाम्रो तालिमले त्यही खतरालाई ध्यानमा राखेको छ।’

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  २ : ४८ बजे

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको