काठमाडौं: बंगलादेशमा हालै फैलिएको दादुराको भयानक प्रकोपले जनस्वास्थ्यमा गम्भीर असर पुर्याएको छ । अर्कोतर्फ पीडित परिवारहरूलाई गहिरो आर्थिक सङ्कटमा धकेलेको छ। बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारका अनुसार सरकारी अस्पतालमा उपचार निःशुल्क भनिए तापनि एम्बुलेन्स भाडा, बाहिरबाट किन्नुपर्ने औषधी, परीक्षण, खाना तथा अन्य प्रशासनिक खर्चका कारण पीडित परिवारहरूले ठूलो आर्थिक भार बोक्नुपरेको छ।
नेपाल रेडक्रस सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) र बंगलादेश रेड क्रिसेन्ट सोसाइटी (बिएलआरसीएस) द्वारा हालै गरिएको एक विस्तृत सर्वेक्षणले दादुरा प्रकोपको यो आर्थिक असर अस्पतालको चार किल्लाभन्दा निकै टाढासम्म फैलिएको देखाएको छ। गत मे र जुन महिनाको अवधिमा १२ वटा सरकारी मेडिकल कलेज तथा जिल्ला अस्पतालहरूमा उपचार गराएका दादुराबाट प्रभावित २ हजार ७ सय ४६ परिवारमा यो सर्वेक्षण गरिएको थियो। सर्वेक्षणको मुख्य उद्देश्य अत्यन्त जोखिममा रहेका २ हजार ४ सय परिवारलाई प्रतिपरिवार १० हजार टाका आपत्कालीन नगद सहयोग उपलब्ध गराउनु र प्रकोपको सामाजिक-आर्थिक प्रभावको मूल्याङ्कन गर्नु रहेको थियो ।
सर्वेक्षणका अनुसार दादुराका कारण प्रभावित करिब ८८.९ प्रतिशत अर्थात् २ हजार ४ सय ४२ परिवारले उपचार खर्च जुटाउन ऋण लिन बाध्य हुनुपरेको छ। यसबाहेक ६०.८ प्रतिशत अर्थात् १ हजार ६ सय ७० परिवारले आफ्नो सम्पूर्ण बचत सकिसकेका छन् भने ४.१ प्रतिशत परिवारले आफ्ना सम्पत्तिसमेत बिक्री गरेका छन्। त्यस्तै, ३.३ प्रतिशत परिवारले आर्थिक भार थेग्न चन्दा वा सहयोगको भर पर्नुपरेको पाइएको छ।
जुलाई ३१ सम्मको तथ्याङ्कअनुसार बंगलादेशभर दादुरा वा यससँग मिल्दोजुल्दो लक्षणका कारण कम्तीमा १ लाख ४४ हजार बिरामी (जसमध्ये अधिकांश बालबालिका छन्) अस्पताल भर्ना भइसकेका छन् भने यसबाट ज्यान गुमाउनेको सङ्ख्या ८१५ पुगेको छ। ढाकाका डिएनसीसी डेडिकेटेड कोभिड-१९ अस्पताल, संक्रामक रोग अस्पताल र बंगलादेश शिशु अस्पताल तथा इन्स्टिच्युट लगायतका प्रमुख अस्पतालहरूमा गएको पाँच महिनाको अवधिमा दर्जनौं अभिभावकहरूसँग गरिएको कुराकानीबाट पनि यस्तै किसिमको पीडादायी यथार्थ बाहिर आएको छ।
अधिकांश प्रभावित परिवारहरू न्यून आय भएका अनौपचारिक क्षेत्रका कामदारहरू हुन्, जसको मासिक आम्दानी ६ हजारदेखि २० हजार टाकासम्म मात्रै हुन्छ। स्थानीय स्वास्थ्य संस्थाहरूले जटिलताहरू व्यवस्थापन गर्न नसक्दा बालबालिकालाई ढाकाका ठूला अस्पतालहरूसम्म पुर्याउनुपर्ने बाध्यता छ। ग्रामीण इलाकाबाट आउने यी परिवारहरूले यातायात, परीक्षण, औषधी र दैनिक गर्जो टार्नका लागि १६ हजारदेखि ६५ हजार टाकासम्म खर्च व्यहोर्नुपरेको अवस्था छ। यसले गर्दा बिरामीको हेरचाहमा खटिनुपर्दा अभिभावकहरूले आफ्नो नियमित काम र ज्यालासमेत गुमाउनुपरेको छ।
ढाका विश्वविद्यालयको स्वास्थ्य अर्थशास्त्र संस्थानका निर्देशक प्राध्यापक शफिउन नाहिन शिमुुलले यस अवस्थालाई ‘विपत्तिजनक स्वास्थ्य खर्च’ को एक उत्कृष्ट उदाहरणका रूपमा वर्णन गरेका छन्। उनका अनुसार, परिवारको आयको तुलनामा स्वास्थ्य खर्च अत्यधिक बढेपछि मानिसहरू आफ्नो बचत सिध्याउन, सम्पत्ति बेच्न वा ऋण लिन बाध्य हुन्छन्, जसले गर्दा पहिले नै सीमान्तकृत रहेका परिवारहरू अझ गहिरो गरिबीको दलदलमा फस्दै गएका छन्।
यस विषम परिस्थितिबाट पीडित परिवारलाई राहत दिन मानवीय सहायता र बलियो सामाजिक सुरक्षा प्रणालीको टड्कारो आवश्यकता रहेको विज्ञहरूले औंल्याएका छन्। बिरामीहरू पूर्ण रूपमा निको भएपछि पनि उनीहरूको थाप्लोमा रहेको ऋणको बोझ लामो समयसम्म रहने हुनाले गरिब परिवारहरूका लागि तत्काल आपत्कालीन कोष वा विशेष उपचार सहयोग संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।












प्रतिक्रिया