बाक्सिलामा निर्माणाधीन विद्युत् सवस्टेसन : तीन वर्षको सम्झौता, दश वर्षमा पनि बनेन « Khabarhub

बाक्सिलामा निर्माणाधीन विद्युत् सवस्टेसन : तीन वर्षको सम्झौता, दश वर्षमा पनि बनेन


२ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ–  जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा १०  वर्षअघि नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन निर्माण सुरु गरिएको थियो । 

तीन वर्षमा सम्पन्न गर्नेगरी विसं २०७३ भदौमा भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इञ्जियरिङ लिमिटेडले सम्झौता गरेको सवस्टेसन अहिले पनि पूरा भएको छैन । 

निर्माणस्थलमा सवस्टेसनको लागि आवश्यक पर्ने विद्युतीय उपकरणहरू ल्याइए पनि जथाभावी खुला चौरमा थुपारिएका कारण कतिपय उपकरण टुटफुट र काम नलाग्ने अवस्थामा पुगेको देखिएको छ । विद्युत् प्राधिकरणसँग ठेकेदार कम्पनीले गरेको सम्झौताअनुसार विसं २०७६ सालमै बनिसक्नुपर्ने सबस्टेसनको क्वाटर र कन्ट्रोल बिल्डिङको काम अहिलेसम्म पनि अधुरै छ । 

सवस्टेसन निर्माणस्थलमा कतिपय संरचनाको पिलर मात्र ठड्याएर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको अलपत्र पारेर सम्पर्कविहीन भएको स्थानीय बासिन्दा एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता माइतीराज राईले बताए । ठेकेदार कम्पनीले बुइपा–बाक्सिला ३३ केभी र ११ केभी प्रशारणलाईनको काम पूरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सबस्टेसन निर्माणको काम गरेको छैन ।

सवस्टेसनको बाँकी काम पूरा गराउन पटकपटक विद्युत् प्राधिकरण पुग्दा पनि सुनुवाइ नभएको केपिलासगढी गाउँपालिकाका प्रमुख समीर राईले बताए । 

‘सवस्टेसनमा जडान गर्न विराटनगरमा खरिद गरेर राखिएका ट्रान्सफर्मरहरू निर्माणस्थलमा लगिएको छैन । निर्माणस्थल ल्याइएका उपकरणहरू पनि काम नलाग्ने भइसकेका छन्’, उनले भने, ‘यो विषय हाम्रो कार्य क्षेत्रभित्र पर्दैन । विद्युत् प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा ध्यान दिएको छैन । यसको मार उपभोक्ताले खेप्नु परिरहेको छ ।’

केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्ष्यित गर्दै बाक्सिलामा सवस्टेसन निर्माणको काम थालिएको थियो । बाँकी काम सम्पन्न हुँदासम्ममा सवस्टेसन निर्माण योजनाको कूल खर्च करिब रु ११ करोड पुग्ने प्राधिकरणले जनाएको छ । 

पटकपटक पेटी ठेकेदार परिवर्तन हुँदा केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा निर्माणाधीन सवस्टेसन निर्माणको कामले गति लिन नसकेपछि विकल्पहरूको खोजी भइरहेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख धनराज विष्टले जानकारी दिए । 

‘ठेकेदार कम्पनीले नियमित काम गर्ने हो भने, सवस्टेसनको बाँकी काम सकिने धेरै समय लाग्दैन । तर, यो ठेकेदार कम्पनीले काम गर्ने अवस्था छैन’, उनले भने, ‘सिम्पानीमा निर्माणाधीन सबस्टेसन जसरी भए पनि सञ्चालनमा ल्याउनुपर्ने अवस्था छ । उत्तरी क्षेत्रका दुई स्थानीय तहमा बुइपा सवस्टेसनबाट विद्युत् विस्तार गरिएको छ । लामो दूरी भएकाले पटकपटक अवरुद्ध हुने गरेको छ । यो वर्ष काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तोडेर अर्को ठेक्कामार्फत भए पनि सवस्टेसन सञ्चालन गर्ने योजनामा प्राधिकरण लागि परेको छ ।’

सवस्टेसन निर्माणको काममा ठेकेदार कम्पनीले बेलैमा चासो नदिनुका साथै निर्माण सामग्री तथा कामदारको रकम भुक्तानी नलिएकाले समस्या सिर्जना भएको स्थानीयले बताएका छन् । बाक्सिलामा निर्माणाधीन सवस्टेसनको काम अलपत्र छाडेर सम्पर्कविहीन भएका ठेकेदारसँग सम्पर्क गर्ने प्रयास भइरहेको पनि विद्युत् प्राधिकरणले जनाएको छ । 

सम्झौता म्यादभित्र सवस्टेसनलगायत भौतिक संरचना निर्माणको काम नसकिएपछि प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा भेरिएसन गर्दै पटकपटक म्याद थप भएको पाइएको छ । ठेकेदार कम्पनीले प्राधिकरणसँग सवस्टेसनका लागि म्याद थप गरेपछि पुनः सम्पर्कविहीन हुने गरेको जनाइएको छ । 

बाक्सिलामा निर्माणाधीन सवस्टेसन सञ्चालन नहुँदा उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयका लागि विद्युत् प्रवाह प्रभावकारी हुन सकेको छैन । बुइपा सवस्टेसनबाट उत्तरी क्षेत्रमा सिधै वितरण गरिएको विद्युत् पानी पर्दा, हावा चल्दा तथा चट्याङ पर्दा लामो समयसम्म अवरुद्ध हुने गरेको उपभोक्ताहरूले बताउँदै आएका छन् । 

भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इञ्जियरिङ लिमिटेडले देशभर २२ स्थानमा सवस्टेसन निर्माणको ठेक्का लिएको समाचार स्रोतले जनाएको छ । तर, त्यो ठेकेदार कम्पनीले अधिकांश स्थानको काम पूरा नगरेपछि कालोसूचीमा राखेर कारबाही गर्ने तयारी गरिएको विद्युत् प्राधिकरणले जनाएको छ । रासस
 

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  ५ : २६ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई