काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ परेका जेनजी अभियन्ताहरू २२ दिन पछि रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रशासन कार्यालयमा पाँच-पाँच हजार धरौटी राखेर उनीहरू रिहा भएका हुन् ।
रिहा हुनेहरूमा अजय सोडारी, प्रकाश बम र सुनिल बिक छन् ।
सार्वजनिक शान्तिविरुद्धको अभियोगमा उनीहरूलाई साउन २० गते जिल्ला प्राशासन कार्यालय काठमाडौंले एक लाख धरौटी माग गरेको थियो । आदेशअनुसार धरौटी तिर्न नसकेपछि तीनै जना कारागार पठाइएको थियो ।
त्यसपछि बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएका उनीहरूलाई साउन २५ मा उचित धरौटी तिराउन सर्वोच्च आदेश दिएको थियो । उक्त आदेशअनुसार काठमाडौं जिल्ला प्रशासनले उनीहरूलाई जनही ५० हजार धरौटीको माग गर्यो । त्यो पनि बुझाउन नसकेर उनीहरू थुनामै बसेका थिए ।
यसविरूद्ध उनीहरूले जिल्ला अदालत काठमाडौंमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पाँच हजार धरौटीको आदेश दियो ।
उक्त आदेशअनुसार धरौटी रकम बुझाएर उनीहरू रिहा भएका हुन् । आन्दोलन गरेकै आधारमा आफूहरूविरूद्ध प्रतिशोध साँधेर सरकारले थुनेको अभियन्ता सोडारीले बताए ।












प्रतिक्रिया