भोजपुरमा रायो र मुला खेती अभियान, २२ लाख किलो कृषि उपज खरिद गर्ने तयारी « Khabarhub

भोजपुरमा रायो र मुला खेती अभियान, २२ लाख किलो कृषि उपज खरिद गर्ने तयारी


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर । भोजपुरमा रायो र मुला खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने अभियान सुरु भएको छ।

टेम्केमैयुङ गाउँपालिकाले किसानले उत्पादन गरेको रायो र मुलाको बजार सुनिश्चित गर्ने उद्देश्यले सिद्धकाली एग्रो भोजपुर प्रालिसँग सहकार्य गरी खेती विस्तारको कार्यक्रम अघि बढाएको हो।

गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत किसानलाई उन्नत जातको रायो र मुलाको बीउ अनुदानमा वितरण गर्ने जनाएको छ।

किसानले उत्पादन गरेको कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गरी ‘खरिदपूर्व सम्झौता’मार्फत बजारको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले इच्छुक किसान, कृषि फर्म, कृषि समूह तथा कृषि सहकारीलाई भदौ १० गतेभित्र आवश्यक कागजातसहित कृषि विकास शाखामा बीउ माग पेस गर्न आग्रह गरेको छ।

बीउ मागका लागि निवेदन र निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने पालिकाले जनाएको छ।

यस्तो भन्छन् व्यवसायी ?

सिद्धकाली एग्रो भोजपुर प्रालिका सञ्चालक जीवन राउतका अनुसार कम्पनीले भोजपुरका किसानबाट ठूलो परिमाणमा रायो र मुला खरिद गर्ने तयारी गरेको छ।

राउतका अनुसार कम्पनीले भोजपुरबाट करिब १५ सय मेट्रिक टन अर्थात् १५ लाख किलो रायोको साग तथा करिब ७ सय मेट्रिक टन अर्थात् ७ लाख किलो मुला र मुलाको साग खरिद गर्नेछ। यसबाट भोजपुरका किसानको घरमा करिब १० करोड रुपैयाँ आम्दानी भित्र्याउन सकिने उनको भनाइ छ।

‘हामीले भोजपुरबाट १५ सय मेट्रिक टन अर्थात् १५ लाख किलो रायोको साग किन्छौँ। किसानबाट ७ सय मेट्रिक टन अर्थात् ७ लाख किलो मुला र मुलाको साग खरिद गर्छौँ। यसबाट रायो र मुलाबाट सरदर १० करोड रुपैयाँ भोजपुरका किसानको घरमा भित्रिन सक्छ,’ राउतले भने।

कम्पनीले किसानबाट खरिद गरिएका कृषि उपजलाई प्रशोधन गरी स्वदेशी बजारसँगै जापान, युरोप, दक्षिण कोरिया तथा खाडी मुलुकमा समेत निर्यात गर्ने तयारी गरेको जनाएको छ।

राउतका अनुसार रायो र मुलाबाट आलो सिन्की उत्पादन गरिनेछ। यसै वर्षदेखि सिन्की विदेशमा समेत निर्यात गर्ने तयारी भइरहेको उनले बताए।

‘अब कृषकमाझ मुला र रायोको साग छरौँ अभियान चलाउँछौँ। रायो र मुलाबाट आलो सिन्की बनाउँछौँ। यसै वर्षदेखि रायो र मुलाको सिन्की विदेशमा पनि निर्यात हुन्छ,’ उनले भने।

राउतले रायो र मुलाको खेतीले पहाडी क्षेत्रमा बाँदरबाट हुने क्षति न्यूनीकरणमा समेत सहयोग पुग्ने दाबी गरे। अन्य अन्नबालीमा बाँदरले क्षति पुर्‍याउने भए पनि रायो र मुलाको खेती किसानका लागि तुलनात्मक रूपमा सहज हुने उनको भनाइ छ। उत्पादन गरेको करिब तीन महिनामै आम्दानी लिन सकिने भएकाले किसानलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने उनले बताए।

कम्पनीले टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिका र पौवादुङमा गाउँपालिकाका किसानले उत्पादन गरेको रायो र मुला सिधै खरिद गर्ने जनाएको छ।

‘हामी किसानले उत्पादन गरेको रायो र मुला सिधै किन्छौँ। यसमा कुनै बिचौलियाको चलखेल हुँदैन। सिधै किसानको हातमा पैसा पुग्छ। बिचौलियालाई हामी छिर्नै दिँदैनौँ,’ राउतले भने। उनले भोजपुरसहित पहाडका कृषकले फलाएका अकबरे खोर्सानीसहितका कृषि उपज पनि आफूले सिधै खरिद गरेर देशदेखि विदेशसम्मका बजारमा लैजाने बताए।

रायो र मुलाको व्यावसायिक उत्पादनसँगै कम्पनीले भोजपुरसहित अन्य पहाडी जिल्लामा उत्पादित कृषि उपजको प्रशोधन र बजारीकरणलाई समेत विस्तार गर्ने तयारी गरेको छ। कम्पनीले किबी, सुन्तलाको क्यान्डी तथा विभिन्न ड्राई फुड उत्पादन गर्ने योजना बनाएको राउतले बताए।

टेम्केमैयुङ गाउँपालिकाले पनि रायो र मुला खेतीलाई किसानको आयआर्जनसँग जोड्दै बजार सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएको जनाएको छ। गाउँपालिकाको कृषि विकास शाखाले इच्छुक किसानलाई तोकिएको समयभित्र बीउको माग पेस गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  ६ : ३३ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको