बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड « Khabarhub

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको पुनरुत्थानका लागि सम्पूर्ण शक्ति एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

बाढीबाट भएको क्षतिको धादिङको गल्छीदेखि नुवाकोटको विदुर नगरपालिका–१० भैँसेसम्म स्थलगत अवलोकन गरेपछि शनिबार विदुरमा आयोजित सर्वपक्षीय छलफलमा दाहालले यसलाई ‘हिमालय विपत्ति’को संज्ञा दिँदै पुनरुत्थानका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

आपतकालीन अवस्थामा योजनाबद्ध रूपमा काम गर्न कठिन भए पनि बाढीपछि खोज तथा उद्धार, राहत वितरण र होल्डिङ सेन्टर सञ्चालनमार्फत प्रभावित बासिन्दालाई दिइएको सहयोग महत्वपूर्ण रहेको उनले बताए । अब दीर्घकालीन समाधानका लागि पुनर्वासको कार्यक्रम अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

“बाढीले ठूलो मात्रामा मानवीय तथा भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको रहेछ,” दाहालले भने, “क्षतिग्रस्त सडक, पुल, विद्यालय तथा सामुदायिक र सरकारी सेवा जतिसक्दो चाँडो सञ्चालन गरी प्रभावित बासिन्दाको दैनिकी सहज बनाउन जोड दिनुपर्छ ।”

बाढी प्रभावित बासिन्दाले आश्रय लिइरहेको होल्डिङ सेन्टरको समेत अनुगमन गरेका दाहालले त्यसको विकल्पमा जतिसक्दो चाँडो अस्थायी आवास निर्माण गर्न स्थानीय तहलाई आग्रह गरे ।

सरकारको सहयोगमा बाढी प्रभावितलाई स्थायी आवास निर्माणमा सहभागी गराउनुपर्ने भए पनि त्यसका लागि तत्कालै दीर्घकालीन समाधान निकाल्न कठिन हुने भन्दै उनले स्थानीय सरकारको अगुवाइमा अस्थायी आवास निर्माण गरेर होल्डिङ सेन्टरमा बस्नुपर्ने अवधि छोट्याउनुपर्ने बताए ।

बाढी प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउन आफ्नो पार्टीका नेता तथा कार्यकर्ता पहिलो दिनदेखि नै सक्रिय रहेको उनले बताए । अस्थायी आवास निर्माणका लागि भ्रातृसंस्थामार्फत आवश्यक जनशक्ति परिचालन गरिसकेको जानकारी पनि उनले दिए ।

योङ कम्युनिष्ट लिग ९वाइसिएल०मार्फत तत्काल १५० परिवारका लागि अस्थायी आवास निर्माण गर्न लागिएको जानकारी दिँदै दाहालले अन्य राजनीतिक दल तथा संघसंस्थालाई पनि आफ्नोतर्फबाट सक्रियता देखाउन आग्रह गरे ।

भोटेकोशीमा आएको बाढी असामान्य घटना भएकाले यसलाई सामान्य बाढीका रूपमा मात्र नभई हिम पग्लिएर आएको ‘हिमालय विपत्ति’का रूपमा पहिचान गर्नुपर्ने उनले बताए ।

“च्छो रोल्पामा हुन लागेको विस्फोटपछिको जोखिम रोक्न गरिएका प्रयासको अनुभव लिएर आगामी दिनमा थप दुर्घटना हुन नदिन सम्पूर्ण शक्ति एकजुट हुनुपर्छ,” दाहालले भने, “विदेशीसँग भएका समझदारीबाट हामीले आवाज उठाउने मात्र होइन, न्याय खोज्नुपर्छ ।”

जलवायु परिवर्तनको प्रभावका कारण आगामी दिनमा पनि जोखिम कायम रहने भन्दै उनले अहिले नदीको जलसतह पुगेको क्षेत्रसम्म बस्ती बसाल्न नहुने बताए ।

बाढीले प्रभाव पारेको क्षेत्रसम्मको जग्गालाई नदीको क्षेत्र कायम गरी उक्त जग्गा गुमाउने प्रभावितलाई सट्टामा अर्को व्यवस्था गर्ने गरी दीर्घकालीन नीति आवश्यक रहेको उनले बताए ।

“विगतमा गोरखा भूकम्पपछि सम्पूर्ण राजनीतिक शक्ति एकजुट भएर नयाँ संविधान जारी गर्दै एकताको सन्देश दिएका थियौँ। यस विपत्तिमा पनि सम्पूर्ण शक्ति एकजुट भएर संकटको घडीमा नेपाली एकताबद्ध हुने गरेको सन्देश दिन आवश्यक छ,” उनले भने, “एकताबद्ध भएर समन्वयका साथ अघि बढ्न सक्यौँ भने यो संकटको समाधान गर्न सक्छौँ।”

दाहालले बाढी प्रभावित क्षेत्र र होल्डिङ सेन्टर सञ्चालनको अवस्थाको अनुगमन गर्नुका साथै प्रभावित विभिन्न स्थानका बासिन्दासँग अन्तरक्रियासमेत गरे।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  १० : २० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको