भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता « Khabarhub

भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– यही असोज ९ देखि ११ गतेसम्म सुदूरपश्चिमसहित यहाँका विभिन्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमानअनुसार कैलालीमा बाढी, पहिरो, नदी कटान र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउने निर्णय गरिएको छ ।

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको आजको बैठकले नेपाल मौसम विज्ञान विभागले उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएपछि त्यसअनुसार जिल्लामा सतर्कता अपनाउने निर्णय गरेको हो । 

बैठकले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकाय सबै मिलेर आ–आफ्नो क्षेत्रअनुसार पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिए । 

मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी प्राप्त हुनासाथ सबै स्थानीय तह, सुरक्षा निकाय र जिल्लावासीलाई तत्काल जानकारी गराउने व्यवस्था मिलाउने निर्णय गरिएको उनले बताए । 

विशेष गरी कर्णालीको बेनिघाट जलस्तर मापन केन्द्र, मोहनालगायत प्रमुख नदी तथा खोलाको जलसतह नियमित अद्यावधिक गरी नदी किनार तथा जोखिमयुक्त बस्तीमा समयमै सूचना प्रवाह गर्ने निर्णयसमेत गरिएको छ । 

जलसतह बढेको अवस्थामा सुरक्षा निकाय, स्थानीय तह र सञ्चारमाध्यममार्फत प्रभावकारी सूचना प्रवाह गरिने र त्यसका लागि आवश्यक तयारी गर्न स्थानीय तहलाई पनि थप सक्रिए हुन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।

यस्तै, सम्भावित बाढी तथा पहिरोका कारण सडक अवरुद्ध हुनसक्ने अवस्थालाई ध्यानमा राखी सडक डिभिजन, हेभी इक्विपमेन्ट कार्यालय, स्थानीय तह र ट्राफिक प्रहरी कार्यालयलाई डोजर, स्काभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिने निर्णय गरिएको उनले बताए । 

बाढी, पहिरो तथा डुबानबाट प्रभावित हुने सम्भावित अवस्थाको आकलन गरी उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्री तयारी अवस्थामा राख्न तथा रबर बोट, मोटरबोटलगायत उद्धार सामग्री आवश्यक परेको अवस्थामा तत्काल परिचालन गर्न बैठकले निर्देशन दिएको छ ।

यस्तै, भारी वर्षाबाट हुनसक्ने क्षतिको पूर्वानुमान गरी राहत तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारी तथा गैरसरकारी निकायले मनसुन प्रतिकार्य योजना, २०८३ अनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

कर्णाली नदीको कटानबाट जोखिममा रहेका टीकापुर नगरपालिका–५ लगायतका स्थानमा तत्काल अस्थायी रोकथामको व्यवस्था मिलाउने निर्णयसमेत गरिएको छ । 

त्यसका लागि टीकापुर नगरपालिका र सुरक्षा निकायबीच समन्वय गर्ने तथा जोखिमयुक्त क्षेत्रमा जैविक तटबन्धका लागि स्थानीय तह र सुरक्षा निकायले आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ ।

बैठकले विपद् व्यवस्थापन, स्थानीय तहको विपद् प्रतिकार्य योजना निर्माण, विपद्का समयमा सूचना व्यवस्थापन तथा जिल्लाका स्थानीय तहसँग समन्वयलाई प्रभावकारी बनाउन जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डिइओसी) को भूमिका थप सक्रिय बनाउने निर्णयसमेत गरेको छ ।

त्यस्तै विपद् प्रतिकार्यका लागि प्रत्येक स्थानीय तहले नेपाल रेडक्रस सोसाइटी कैलालीलाई रु एक लाख उपलब्ध गराउने पूर्वनिर्णय कार्यान्वयन गर्न बाँकी स्थानीय तहलाई आग्रह गरिएको छ । 

रसुवा बाढीबाट कैलालीका बेपत्ता तथा मृतकका पीडित परिवारलाई पनि स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा रेडक्रस तथा सहयोगी संस्था र व्यक्तिमार्फत राहत सामग्री वितरण गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीको अध्यक्षतामा भएको उक्त बैठकमा धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगङ्गा, घोडाघोडी, लम्कीचुहा, टीकापुर, भजनी नगरपालिका तथा कैलारी, बर्दगोरिया, जोशीपुर, जानकी, चुरे र मोहन्याल गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि, नेपाली सेना देवीदल गण, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो । रासस

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ५ : ५२ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी