साग कुस्ती : मुख्य प्रतिस्पर्धी भारत « Khabarhub

साग कुस्ती : मुख्य प्रतिस्पर्धी भारत


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन वर्षअघि मात्रै कुस्ती खेलमा प्रवेश गरेका कञ्चनपुर भीमदत्त नगरपालिका–६ का कुस्ती खेलाडी सुरेश चुनारा आगामी मङ्सिर तेस्रो साता हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पदक ल्याउने आश लाग्दा पुरुष खेलाडीको सूचीमा छन् ।

विसं २०७३ मा कुस्ती खेलमा आएको १५ दिनको छोटो प्रशिक्षणमै सातौँ राष्ट्रिय खेल्ने अवसर पाएका सुरेशले शुरुवातमै पदक ल्याउन सफल भएका थिए । ‘छोटो प्रशिक्षण र पहिलो राष्ट्रियस्तरको प्रतियोगितामै कास्य पदक ल्याउँदा कुस्तीप्रतिको मोह झन बढेर गयो ।’ विगत सम्झिँदै सुरेशले रासससित भने, ‘१३ औँ सागमा स्वर्ण पदकको लागि हामीसामु भारत नै मुख्य चुनौती छ ।’

विगत चार महिनादेखि हेटौँडामा जारी सागको बन्द प्रशिक्षणमा रहेका सुरेशले यो तीन वर्षको अवधिमा राष्ट्रियस्तरमा आफ्नो तौल समूहमा तीन वटा स्वर्ण पदक जितिसकेका छन् । सन् २०१८ मा भएको १८ औँ एशियन खेलकूद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका उनले आफ्नै मुलुकमा हुन लागेको सागमा पदक ल्याउनेमा विश्वस्त रहेको बताए ।

गत वर्ष भएको आठौँ बृहत् राष्ट्रिय प्रतियोगिता हुनुअघि त्रिभुवन आर्मी क्लबसित आबद्ध भएका सुरेशले आठौँमा स्वर्ण जितेपछि पनि निरन्तर सागको प्रशिक्षणमा जुटिरहेको बताए । ‘पारिवारिक अवस्था नाजुक नै भए पनि घरबाट आमाले खेलमा लाग्न प्रेरणा दिनुभएकै छ’, उनले भने, ‘खेलस्तर माथि उकास्न राज्यले खेलकूद र खेलाडीमा भरपुर लगानी गर्नुपर्ने खाँचो छ ।’

१३ औँ सागमा ७० किलो तौलम समूहमा भीडन्तको तयारीमा रहेका सुरेश दैनिक चार घण्टा नियमित प्रशिक्षण गर्दै आएका छन । ‘१८ औँ एशियनको अनुभव यो सागका लागि उपयोगी भएको छ’, उनले भने, ‘कुस्ती खेलाडीको मेहनत आगामी सागमा पदकविहीन भएर खेर जाने कुरै आउँदैन । नेपाली कुस्ती खेलाडीका लागि भारतीय खेलाडी नै मुख्य प्रतिस्पर्धी रहेको उनको भनाइ थियो ।

‘भारतसित जित्ने खेलाडीले स्वर्ण नै भित्र्याउने धेरै सम्भावना छ’, उनले भने, ‘भारतीय खेलाडीलाई निराश पार्ने रणनीति बुनिसकेको छु ।’ लामो समयदेखि राज्यको लगानी र कुस्तीलाई दिइएको प्राथमिकता र लामो अनुभवका कारण सागमा भारतीय खेलाडीको बर्चश्व हुने गरेको सुरेशको भनाइ छ ।

‘हामीलाई वैदेशिक प्रशिक्षणमा लैजाने भनेको हल्लामै सीमित रह्यो’, उनले भने, ‘तर पनि स्वदेशको प्रशिक्षणले खेलाडी निखारिएका छन् ।’ साग कुस्तीमा महिला र पुरुष खेलाडी गरी कञ्चनपुरको बर्चश्व छ । सागको बन्द प्रशिक्षणमा जुटिरहेका यहाँका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले इतिहासमै पहिलोपटक सागमा मुलुकका तर्फबाट सबैभन्दा बढी कञ्चनपुरका खेलाडी अटाएको सुनाए ।

‘यो सब खेलाडीको मेहनतको फल हो’, प्रशिक्षक चन्दले भने, ‘महिलातर्फ सात तौल समूहमध्ये छ जना कञ्चनपुरकै छन ।’ प्रशिक्षक चन्दले महिला र पुरुष दुवैतर्फ कुस्तीमा पदक आउनेमा आफू ढुक्क रहेको बताए । ‘धेरैजसो खेलाडीले विगत हेर्दा धेरै समयमा कुस्तीमा फड्को नै मारेर यहाँसम्म आइपुगेका छन्,’ चन्दले भने, ‘सागमा कुस्ती पदकविहीन बन्ने अवस्था आउँदैन ।’

कुस्तीमा नेपालले चौथो सागदेखि लगातार पदक ल्याइरहेको बताउँदै प्रशिक्षक चन्दले १२ औं सागदेखि महिला सहभागी हुँदै आएको जानकारी दिए । साग छनोटमा पर्ने महिला खेलाडीमा ५० केजी तौल समूहमा मनिषा सिंह, ५३ मा शिवाङ्गी दुबे, ५५ मा सङ्गीता धामी, ५७ मा अम्बिका भण्डारी, ५९ मा कोमल खत्री, ६२ मा शुशिला चन्द र ६८ किलोतौल समूहमा निर्मला जागरी प्रतिस्पर्धा गर्दैछन् ।

‘महिलातर्फ सागका लागि सबै खेलाडी नयाँ हुन्’, चन्दले भने, ‘महिलातर्फ रजत कास्यसम्मको आश गरेका छौँ ।’ उनले पनि भारत नै नेपालका लागि मुख्य चुनौती रहेको बताए । साग भीडन्तको तयारीमा रहेका कञ्चनपुरकी शिवाङ्गी दुबे पनि कुस्तीमा छलाङ मारेकी कान्छी खेलाडी हुन् ।

दुई वर्षअघि मात्रै कुस्ती खेलमा आएकी दुबे पदक दिलाउने गरी मेहनत गरेको बताउँछिन् । ‘लामो समयदेखि निखारिएका भारतीय खेलाडी नि हाम्रा मुख्य प्रतिस्पर्धी हुन्’, उनले भनिन्, ‘प्रतियोगिताका बेला मात्रै पदकको आशा बढी गर्ने परम्परा तोड्नु पर्छ ।’

आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्तीमा कान्छी खेलाडी रहेकी दुबेले स्वर्ण जितेपछि चर्चित बनेकी थिइन् । ‘खेलाडीलाई बाह्य टिमसित मैत्रीपूर्ण प्रतिस्पर्धा गराइएको भए हाम्रा खेलाडीको स्तर थाहा हुन्थ्यो’, चन्दले भने, ‘त्यो हुन नसके पनि खेलाडीको प्रशिक्षण दमदार नै छ ।’

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १२ : ४५ बजे

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज– जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट

स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) स्वास्थ्यमा समस्या देखिएपछि

नेपाल चिकित्सकहरूको सम्मेलन सुरु

चितवन– नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स

इन्धन राहतपछि जर्मनीको मूल्यवृद्धि दरमा कमी

एजेन्सी– जर्मनीमा मे महिनामा मुद्रास्फीति दर घटेर २.६ प्रतिशतमा पुगेको

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौं– खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको