काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको अनौठो मिश्रण पस्किएको बलिउडको चर्चित हरर–कमेडी श्रृंखला फेरि फर्किने तयारीमा छ ।
तर राजकुमार राव र श्रद्धा कपुरलाई पुनः एउटै पर्दामा हेर्न चाहने दर्शकले भने अझै केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ । ‘स्त्री ३’ अब सन् २०२८ मा मात्र प्रदर्शनमा आउने भएको छ ।
यसअघि फिल्म सन् २०२७ को अगस्टमा रिलिज हुने बताइएको थियो । तर निर्माता दिनेश विजनका अनुसार फिल्मको समयतालिका परिवर्तन भएको हो ।
उनका अनुसार निर्देशक अमर कौशिकले ‘स्त्री ३’को कथा लेखिसकेका छन् र अहिले निर्माणको अर्को चरणतर्फ जाने तयारी भइरहेको छ ।
अमर कौशिकले पहिले ‘महावतार’को काम पूरा गर्नेछन् । त्यसपछि सन् २०२७ को अन्त्यतिर ‘स्त्री ३’को छायांकन सुरु गर्ने तयारी छ । फिल्मलाई सन् २०२८ को स्वतन्त्रता दिवस वा क्रिसमसको अवसरमा दर्शकमाझ ल्याउने सम्भावना रहेको विजनले बताएका छन् ।
तर यसपटक ‘स्त्री’को कथा कस्तो हुनेछ ? निर्माण पक्षले यसको जवाफ भने अहिले नै दिन चाहेको छैन । विजनले फिल्ममा अघिल्ला श्रृंखलामा दर्शकले मन पराएका पक्षहरूलाई निरन्तरता दिइने संकेत गरेका छन् । तर कथाको सुरुवात र अन्त्य भने पूर्ण रूपमा नयाँ र अप्रत्याशित हुने उनको भनाइ छ ।
सन् २०१८ मा रिलिज भएको ‘स्त्री’ले हरर र कमेडीलाई फरक शैलीमा प्रस्तुत गर्दै दर्शकको ध्यान खिचेको थियो । त्यसको सफलतापछि सन् २०२४ मा आएको ‘स्त्री २’ले झनै ठूलो व्यावसायिक सफलता हासिल गर्यो । फिल्मले भारतमा ६ सय करोड भारुभन्दा बढी कमाइ गरेको थियो ।
अब ‘स्त्री ३’मार्फत यो सफल श्रृंखलाले नयाँ कथा र नयाँ ट्विस्टसहित दर्शकलाई फेरि डराउने र हँसाउने तयारी गरेको छ ।
राजकुमार राव र श्रद्धा कपुर मुख्य भूमिकामा रहने यो फिल्म म्याडडक फिल्म्सको हरर–कमेडी ब्रह्माण्डको अर्को महत्त्वपूर्ण अध्याय हुनेछ ।














प्रतिक्रिया