काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार मात्रै गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । हालैका महिनाहरुमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले पनि भारतको भ्रमण गरिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको पनि भारत भ्रमणको तयारी चलिरहेको छ ।
यस्तो अवस्थमा भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल–भारत सम्बन्धका विषयमा राजधानीमा इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहबले राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा खबरहबले आयोजना गरेको आयोजित उच्चस्तरीय अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले द्विपक्षीय सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारका मन्त्रीहरु नेपालसँग सम्बन्ध सुमधुर बनाउन तयार रहेपनि विविध कारणले त्यसो हुन नसकेको उल्लेख गरे । उनले भारतसँगको सम्बन्धमा सुधार ल्याउन नेपालको प्रशासनिक झमेला बाधक रहेको उल्लेख गरे । भारतसँगको सम्बन्धमा अझै विश्वासको संकट रहेको भन्दै उनले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणले त्यो संकट दूर गर्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा नेपाली सेनाका अवकाशप्राप्त उपरथी विनोज बस्न्यातले दुई मुलुकबीच धेरैवटा संयन्त्रहरु बनेपनि प्रभावकारी नभएको धारणा राखे । उनले दुई देशबीच ४० भन्दा धेरै संयन्त्र बनेपनि यसले सम्बन्ध सुधार भन्दा अझै अन्यौल पैदा गरेको उल्लेख गरे । यसको विकल्पमा दुवै मुलुकका सरकारप्रमुखबीच वर्षको एक पटक प्रत्यक्ष भेटवार्ता गरी समसामयिक विषयमा छलफल गर्नेगरी भरपर्दो व्यवस्था गरिनुपर्ने उनले बताए । उनले मुलुकको सुरक्षा प्रणालीमा समसामयिक स्तरोन्नति र सुधारको आवश्यकता पनि औँल्याए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले भारत भ्रमणमा जाने नेपालीले भारतमा क्यूआरमार्फत् भुक्तानी गर्न समस्या उत्पन्न भइरहेको भन्दै यसको समाधानका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताए । उनले डिजिटल पूर्वाधारमा राज्यको लगानी न्यून रहेको भन्दै निजी क्षेत्रले विकास गरेका डिजिटल पूर्वाधारमा समेत राज्यले कर र भ्याट थपेकोमा असन्तुष्टि जनाए ।

कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको छाता संगठन इप्पानका पूर्वअध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका क्रममा ऊर्जासम्बन्धी विषयलाई महत्वका साथ उठाउनुपर्ने बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठले भूपरिवेष्ठित मुलुकका रुपमा नेपालले भारतसँगको पारवहन क्षेत्रमा समस्या व्यहोरिरहेको भन्दै यसको समाधानका लागि पहल आवश्यक रहेको बताए ।

त्यस्तै, भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले नेपालको परराष्ट्र नीति भारत र चीनकेन्द्रित हुनुपर्ने बताउँदै नेपालसँग सीमा जोडिएको भारतीय क्षेत्रमा ठूलो जनसङ्ख्या रहेकाले त्यसलाई बजारका रुपमा हेरिनुपर्ने धारणा राखे । उनले भारतसँगको सम्बन्ध भौगोलिक रुपमा मात्रै सीमित नभई साँस्कृति हिसाबमा पनि निकट रहेको बताउँदै नेपालका धार्मिक स्थलहरुमा भारतका पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए ।

कार्यक्रममा वाणिज्यविद् रविशंकर सैंजुले भारतसँगको व्यापारिक सम्बन्ध थप सुदृढ बनाउन नेपालले सक्रियतापूर्वक भूमिका खेल्नुपर्ने बताए । भारतले युरोपेली युनियनसहित विभिन्न मुलुकहरुसँग व्यापारिक सम्झौता गरिरहेको भन्दै उनले यसबाट नेपाल पनि प्रभावित हुने भएकाले यसको विस्तृत प्रभाव मूल्याङ्कन गरेर नीति निर्माण गर्नुपर्ने बताए । कार्यक्रममा कूटनीतिज्ञ, निजी क्षेत्रका प्रतिनिधि, पूर्वप्रशासक तथा परराष्ट्र सम्बन्ध मामिलाका जानकारहरुको सहभागिता रहेको थियो ।






















प्रतिक्रिया