काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै प्रश्न उठाउने प्रवृत्तिमाथि प्रश्न गरेका छन्। दसैँ–तिहारमा टीका लगाउने र बलि दिने परम्परा तथा तीजमा हरियो साडी र चुरा लगाउने चलनको आलोचना हुने गरेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्ति उचित नभएको बताएका हुन्।
शाहीले आफूले कसैको विरोध नगरेको स्पष्ट पार्दै विभिन्न धर्म र संस्कृतिप्रति समान सम्मान हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले दसैँ–तिहारका बेला चामलको अभाव भन्दै टीका लगाउने परम्परामाथि प्रश्न उठाइने, खसीबोका काट्ने र बलि दिने चलनको विरोध गरिने तथा तीजमा हरियो साडी र चुरा लगाउने परम्परामाथि समेत आलोचना हुने गरेको उल्लेख गरेका छन्। महाशिवरात्रिमा भगवान् शिवको आराधना गर्दा पनि आलोचना हुने गरेको उनको भनाइ छ।
पशुबलिका नाममा जनावरलाई बजारमा घिसार्दै, तड्पाएर र निर्दयी तरिकाले काट्ने कार्यको भने आफूले पनि विरोध गर्ने शाहीले बताएका छन्। पशुप्रति क्रूरता हुन नहुने भन्दै सुधार गर्नुपर्ने विषय भए सुधार गर्नुपर्ने उनको धारणा छ।
तर, दसैँमा बलि दिने परम्पराको विरोध गर्नेहरूले बकरा ईदका बेला हुने पशुवध र क्रिसमसका समयमा हुने मासु खपतका विषयमा किन समान रूपमा आवाज नउठाउने भन्ने प्रश्न उनले गरेका छन्।
शाहीले आफू क्रिसमस वा ईदको विरोधमा नरहेको स्पष्ट पार्दै सबै धर्म र संस्कृतिको सम्मान हुनुपर्नेमा जोड दिएका छन्। सुधारका नाममा नेपाली समाजको मौलिक धर्म, संस्कार र संस्कृतिलाई मात्रै निशाना बनाउनु कत्तिको उचित हो भन्ने प्रश्नसमेत उनले उठाएका छन्।














प्रतिक्रिया