काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती नदी सफाइ महाअभियान हिजो (शनिबार) पनि जारी रह्यो ।
गुह्येश्वरी मन्दिर अगाडि बागमती नदी एवं किनारमा शनिबार ७०२औँ हप्ताको सफाइ गरिएको थियो । दसैँमा दुर्गा पूजाका लागि बनाइएको मूर्तिलाई नदीभित्र विसर्जन गर्दा भएको फोहरलाई शनिबार सफाइ गरिएको अभियानकर्मी किशोरसिं शाहीले जानकारी दिए । नवदुर्गाको पूजा गरिएका मूर्तिहरुलाई किनारमा राखिएको छ ।
सो अवसरमा कुहिने फोहरलाई त्यहीँको बागमती किनारमा गाडिएको थियो । नकुहिने फोहर ट्रकमा राखी व्यवस्थापन गरिएको थियो ।
समाजसेवी टोस्टराज क्षेत्री, माथिल्लो बागमती सरसफाइ अभियानका ईश्वर पुडासैनी, कीर्तिपुर सुन्दरीघाट सरसफाइ अभियानका संयोजक चित्र सुनुवार, समाजसेवी लीलादेवी खतिवडा र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सरोज पौडेलको नेतृत्वमा कर्मचारी एवं बागमती अभियानकर्मीको सफाइमा सक्रिय सहभागिता थियो ।
अर्को हप्ताको बागमती सरसफाइ पनि यसै स्थानमा गरिने जनाइएको छ ।














प्रतिक्रिया