दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग १० महिनापछि सञ्चालन « Khabarhub

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग १० महिनापछि सञ्चालन


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ । कात्तिक लागेपछि बिदाका दिनबाहेक नियमित रूपमा दूध आउन थालेसँगै उद्योगले प्रशोधन सुरु गरेको छ ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार भदौ र असोजमा केही दिन आंशिक रूपमा सञ्चालन भएको उद्योगमा कात्तिकदेखि दूधको आपूर्ति बढेको हो । हाल दैनिक ५० देखि ६० हजार लिटर दूध प्रशोधनका लागि आउने गरेको उनले बताए। विगतका वर्षमा दैनिक ८० देखि ९० हजार लिटरसम्म दूध आउने गरेको थियो ।
    
गत वर्ष दूध अभावका कारण उद्योग तीन महिना मात्र बन्द भएको थियो । यस वर्ष भारतीय सीमावर्ती क्षेत्रबाट आउने दूध रोकिएपछि अभाव भएको प्रबन्धक पराजुलीले बताए। सहकारी र डेरीले संकलन गरेको दूध सीधै बिक्री गर्न पाएपछि प्रशोधनका लागि उद्योगमा ल्याउन छाडेका कारण पनि आपूर्ति घटेको उनको भनाइ छ ।
    
किसानबाट संकलित दूध बिक्री नभएपछि सहकारी र डेरीले बचत दूध उद्योगमा ल्याएर प्रशोधन गराउने गरेका छन् । उनीहरूले दूध प्रशोधन गरी धुलो दूध र नौनी उत्पादन गर्दै आएका छन् । दूध आउन छाडेपछि उद्योगले आफैँ दूध खरिद गरेर सञ्चालन गर्ने तयारी गरे पनि पर्याप्त दूध नपाउँदा त्यो सम्भव नभएको पराजुलीले बताए।
    
उनका अनुसार अहिले चितवन, मकवानपुर, नवलपरासी, रूपन्देही र सर्लाहीलगायत जिल्लाबाट दूध आउन थालेको छ । गत वर्ष बिक्री नभएपछि डेरी र सहकारीले उद्योगमा प्रशोधनका लागि ल्याएका नौनी, घ्यू र धुलो दूध अहिले लगिसकेका छन् । ती उत्पादन थन्किएर उद्योगका भण्डारणस्थल भरिएका थिए । अहिले भण्डारणस्थल खाली भएका छन् ।
    
भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उक्त उद्योगले विसं २०७५ देखि डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्दै आएको छ । उद्योगले प्रतिलिटर दूधबाट धुलो दूध बनाउँदा ११३ र प्रतिकिलो नौनी (बटर) प्रशोधन गर्दा रु ५५ शुल्क लिने गरेको छ ।
    
विसं २०६४ मा स्थापना भएको उद्योग विसं २०७२ को भूकम्पपछि बन्द भएको थियो । बन्द हुनुअघि उद्योग आफैँले दूध खरिद गरी प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको प्रबन्धक पराजुलीले बताए।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ९ : २४ बजे

भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने

काठमाडौं – भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा सञ्चालनमा

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग १० महिनापछि सञ्चालन

चितवन– दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

बर्दिया– बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने

कोप–३१ को कभर डिसिजनमा नेपालको प्रस्ताव समेटियो, पर्वतीय क्षेत्रका लागि छुट्टै कार्ययोजना बन्ने

काठमाडौं- जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा परिरहेको प्रभावलाई सम्बोधन गर्न नेपाल,

पर्दाका कठोर खलनायकको जीवन संकटमा : कमब्याकको पर्खाइमा शरद कपुर

कुनै समय बलिउडमा खलनायकको भूमिकाबाट दर्शकको मनमा छुट्टै छाप छोडेका