काठमाडौँ – नेपाली चलचित्रमा अभिनेत्री पूजा शर्मा र युवा गायक तथा अभिनेता अशोक दर्जीको जोडी कस्तो देखिएला? अहिलेसम्म कल्पना नगरिएको यो जोडी अब चलचित्र ‘सेतो कोट’मार्फत पर्दामा एकसाथ देखिने भएको छ। शुक्रबार शुभमुहूर्त भएसँगै चलचित्र र यी दुई कलाकारको सहकार्यले नेपाली फिल्म वृत्तमा चासो बढाएको छ।
कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा पूजाआजासहित चलचित्रको शुभमुहूर्त गरिएको हो। मुहूर्त समारोहमा पूजा र अशोकले एकसाथ संवाद बोल्दै पहिलो सट दिएका थिए। उक्त सटको निर्देशन वरिष्ठ अभिनेता नीर शाहले गरेका थिए भने निर्देशक शोभित बस्नेतले क्ल्याप हानेका थिए। कलाकार सुशान्त श्रेष्ठले नरिवल फुटाएर चलचित्रको शुभकार्य सुरु गरेका थिए।
नयाँ चलचित्रमा पूजा र अशोकको जोडीसँगै कलाकारहरूको ठूलो समूह पनि देखिनेछ। चलचित्रमा नीर शाह, सुमित्रा, पवन खतिवडा, विष्णु सापकोटा, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाललगायत कलाकारको अभिनय रहनेछ। टिकटकमा ‘माइली बुहारी’का रूपमा चर्चित समी दाहालले पनि यही चलचित्रबाट ठूलो पर्दामा डेब्यू गर्दैछिन्।
शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको छायांकन मंसिर ९ गतेदेखि सुरु हुनेछ। पूजा र अशोकको फरक पुस्ता तथा पृष्ठभूमिको सहकार्यले पर्दामा कस्तो रूप लिन्छ भन्ने कुरा भने चलचित्र प्रदर्शनपछि नै थाहा हुनेछ।













प्रतिक्रिया