काठमाडौँ – एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । आइतबारको खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)माथि नेपाल ६ विकेटले विजयी भएको हो । १२२ रनको लक्ष्य पछ्यााएकाे नेपालले २२ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा १२३ रन बनाएको हो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतक बनाए । यूएईलाई १२१ रनमा अलआउट गरेको नेपालले पाएको १२२ रनको लक्ष्य पछ्याउनेक्रममा ओपनर भुर्तेलले ५६ बलको सामना गरेर सर्वाधिक ५७ रन बनाएका हुन् । भुर्तेलले अर्धशतक बनाउँदा पाँच चौका र एक छक्का हिर्काए।
मयन यादवले चार चौका र एक छक्काको मद्दतमा २७ रन जोडे । बसिर अहमेदले नटआउट ३१ बलमा १८ रन बनाए भने पवन सरार्फले ९ रन थपे । अर्जुन कुमाल ५ बलमा पेभिलियन पर्किँदा देव खनाल डक आउट भएका थिए ।
बलिङतर्फ नेपालविरुद्ध मोहमद मोसिनले दुई विकेट हात पार्दा उद्द्धिस सुरी र अनिष टन्डनले एकएक विकेट हात पारे ।
टस जितेर फिल्ड रोजेको नेपालले ४० ओभरको अन्तिम बलमा १२१ रन बनाएको यूएईलाई अलआउट गरेको थियो ।

पहिला ब्याटिङ गरेको यूएईका लागि मोहमद साहादले सर्वाधिक ४० रन बनाए भने हरर्पित सिंहले ३२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । यूएईलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले तीनतीन विकेट हात पार्दा नन्दन यादव, राशिद खान र ललितनारायण राजवंशीले एकएक विकेट लिए ।
सन्दीपले १० ओभरमा मात्र ११ रन दिएर तीन विकेट हात पार्दा ५ ओभर बलिङ गरेका कुशलले १५ रन खर्चिएर तीन विकेट हात पारेका थिए । कसिलो बलिङ गरेका नेपालका कप्तान सन्दीप खेलको म्यान अफ द म्याच बने ।

प्रतियोगितामा नेपालले पहिलो जित निकालेको हो । नेपालपहिलो खेलमा भारत ‘ए’सँग पराजित भएको थियो । यो समूहको युएईले लगातार दुई खेलमा हारको सामना गरेको छ । यसअघि यूएई पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो ।
पहिलो खेलमा नेपालले निकै खराब प्रदर्शन गरेको थियो । त्यस खेलमा भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल २६ रनमै अलआउट भयो । उक्त खेलमा नेपालले ३०६ रनको फराकिलो पराजय व्यहोरेको थियो ।
प्रतियोगितामा आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । दुई खेलबाट दुई अंक जोडेको नेपालले समूह चरणमा अब पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने तालिका छ ।















प्रतिक्रिया