काठमाडौँ- मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने नेत्र विशेषज्ञले बताएका छन् । नेत्र विशेषज्ञ डा रबा थापाका अनुसार मधुमेह पहिचान हुनासाथ चिकित्सकको सल्लाहअनुसार नियमित आँखाको परीक्षण गराउनु आवश्यक छ । डायबेटिक रेटिनोप्याथीले आँखाको पर्दा (रेटिना) का रक्तनलीमा क्षति पु¥याउने भएकाले समयमै परीक्षण र उपचार गराए दृष्टिविहीन हुनबाट बच्न सकिने उनले बताइन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वस्थ आहार, नियमित शारीरिक क्रियाकलाप, सन्तुलित तौल र सुर्तीजन्य पदार्थको सेवन नगर्ने बानीले मधुमेहको जोखिम कम गर्न सकिन्छ । मधुमेहले आँखाका रक्तनलीमा क्षति पु¥याएर स्थायी दृष्टि क्षति तथा अन्धोपन निम्त्याउन सक्छ । सङ्गठनका अनुसार डायबेटिक रेटिनोप्याथी दृष्टि कमजोर हुने र अन्धोपन हुने प्रमुख कारणमध्ये एक हो ।
विश्वभर ३९ लाख मानिसमा यसका कारण टाढाको दृष्टि कमजोर हुने वा दृष्टिविहीनताको समस्या देखिएको छ भने १० करोड ३० लाखभन्दा बढी वयस्क यस अवस्थाको कुनै न कुनै रूपबाट प्रभावित छन् । डायबेटिक रेटिनोप्याथी सुरुआती अवस्थामा लक्षणविहीन हुनसक्ने भएकाले दृष्टिमा समस्या नदेखिए पनि मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराउनुपर्ने डा थापाको भनाइ छ ।
रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म बढी रहँदा आँखाको पर्दाका सूक्ष्म रक्तनलीमा क्षति पुग्ने र समयमै पहिचान तथा उपचार नभए दृष्टि गुम्न सक्ने चिकित्सकहरू बताउँछन् । मधुमेहको जोखिम कम गर्न नियमित स्वास्थ्य परीक्षण, चिकित्सकको सल्लाहअनुसार जीवनशैली व्यवस्थापन र आँखाको नियमित परीक्षण आवश्यक रहेको डा थापाले बताइन् । उनले मधुमेह पहिचान हुनासाथ चिकित्सकको सल्लाहअनुसार आँखाको परीक्षण गराउन आग्रह गरिन् ।














प्रतिक्रिया