बागमती र विष्णुमती सफा बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता « Khabarhub

बागमती र विष्णुमती सफा बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई स्वच्छ बनाउँदै काठमाडौँलाई सुरक्षित, हरियालीयुक्त र बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘काठमाडौँ जलवायु कार्य सप्ताह’लाई आज सम्बोधन गर्दै उनले नदी संरक्षण, बाढी नियन्त्रण तथा सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्ययोजना अघि सारिएको जानकारी दिए।

काठमाडौँ क्षेत्र नं ८ का सांसदसमेत रहेका मन्त्री श्रेष्ठले अनियन्त्रित सहरीकरणका कारण खेत, पोखरी र खुला जमिन मासिँदै गएको, सहरको तापक्रम बढेको तथा वर्षाको पानी जमिनमा सोसिने क्षेत्र घट्दा बाढीको जोखिम बढेको बताए। धुलो र धुवाँका कारण शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदासमेत जीर्ण बन्दै गएको उनको भनाइ थियो।

जलवायु परिवर्तनले यी समस्या थप गम्भीर बनाएको उल्लेख गर्दै उनले छोटो समयमै नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु तथा हिमनदी पग्लिनु जलवायु सङ्कटका गम्भीर सङ्केत भएको बताए।

मन्त्री श्रेष्ठले बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली स्थापना गर्ने योजना रहेको पनि जानकारी दिए। यसका लागि जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढीको पूर्वानुमान तथा पूर्वसूचना प्रणाली विकास गर्न काठमाडौँ महानगरपालिका र अन्य सहरसँग सहकार्य गरिने उनले बताए।

बाढी आउनुअघि नै स्थानीय तह, वडा र घरपरिवारसम्म सूचना पुर्‍याउने गरी प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए।

यसैगरी, लोप हुने अवस्थामा पुगेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो पुनर्जीवित गरी भूमिगत जलभण्डार संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले खेलेको भूमिकाको उनले प्रशंसा गरे। पछिल्ला चार वर्षमा यस क्षेत्रमा भएका प्रयासले पानीका परम्परागत स्रोत संरक्षणमा योगदान पुर्‍याएको उनको भनाइ थियो।

नवीन प्रविधिको विकासमा युवाको सक्रियताको प्रशंसा गर्दै उनले कक्षा १२ का विद्यार्थीले मोबाइल नेटवर्कबिनै विपद्सम्बन्धी सूचना पठाउन सक्ने सञ्चार प्रणाली तयार पारेको उदाहरणसमेत प्रस्तुत गरे।

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले काठमाडौँलाई हरियालीयुक्त र सुरक्षित सहर बनाउने दीर्घकालीन परिकल्पना सुनाउँदै रूखले भरिएका शीतल सडक, १५ मिनेट पैदल दूरीमा पुग्न सकिने ऐतिहासिक टोल तथा बहाल, साइकल लेन र सफा नदी करिडोर निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

बागमती र विष्णुमती नदी किनारमा चराचुरुङ्गीको चिरबिरसहितको स्वच्छ वातावरण, चोरी भएका मूर्तिको फिर्ती, काठमाडौँ वरपरका जङ्गल तथा राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलन कायम गर्ने लक्ष्यसमेत उनले प्रस्तुत गरे।

सहरका पार्कमा ज्येष्ठ नागरिकले घाम ताप्न सक्ने, चोकमा बालबालिकाले सुरक्षित रूपमा खेल्न सक्ने र हरियालीयुक्त व्यावसायिक केन्द्र सञ्चालन गर्न सकिने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो। सुन्दर र व्यवस्थित काठमाडौँ निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायतको उपस्थिति थियो।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १ : ०४ बजे

राजघाटबाट प्रधानमन्त्री बालेनको लिखित सन्देश : ‘करुणा नै सर्वोच्च शक्ति हो’

काठमाडाैँ – प्रधानमन्त्री बालेन्द्र शाहले साँचो नेतृत्व समाजका सबैभन्दा विनम्र

युक्रेनमा रुसी हवाई आक्रमण : १४ जनाको मृत्यु, १५ भन्दा बढी घाइते

किएभ-  युक्रेनको राजधानी किएभ आसपासका क्षेत्रमा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा

करण जोहरको ‘कफी विथ करण’ माथि स्क्रिप्टेड भएको आरोप

काठमाडौं– बलिउडका चर्चित सेलिब्रेटी च्याट शोमध्ये एक ‘कफी विथ करण’

बागमती र विष्णुमती सफा बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई

काभ्रेका १३ वटै स्थानीय तहबाट भूमि प्रशासन सेवा उपलब्ध हुने

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकका थप १० स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा विस्तार हुने