काठमाडौँ – वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभनमा पारेर भारतको राजधानी नयाँदिल्लीस्थित एक होटलमा ४५ दिनदेखि बन्धक बनाइएका तीन नेपाली नागरिकको उद्धार गरिएको छ।
सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सामाजिक संस्था किन इण्डियासहित नेपाल तथा भारतका सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार उनीहरूको सकुशल उद्धार गरिएको हो ।
वैदेशिक रोजगारीको आश्वासन दिएर अवैध मानव ओसारपसारमा संलग्न समूहले तीनै जनालाई दिल्ली पुर्याएर होटलको कोठामा बन्धक बनाएको पाइएको छ।
घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, नयाँदिल्लीस्थित नेपाली राजदूतावास, दिल्ली प्रहरी तथा सामाजिक संस्था किन इण्डियाले उद्धारका लागि समन्वय गरेका थिए।
आरोही महर्जनले सम्बन्धित निकायको सक्रियता र संयुक्त प्रयासबाट तीनै जनालाई बन्धक अवस्थाबाट सकुशल मुक्त गर्न सफल भएको बताइन्।
किन इण्डियाका निर्देशक नवीन जोशीले पनि घटनाबारे जानकारी प्राप्त हुनासाथ सम्बन्धित निकायसँग समन्वय गरी उद्धारको पहल गरिएको जानकारी दिए।
उनले वैदेशिक रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकलाई शोषण तथा मानव बेचबिखनको जोखिममा पार्ने यस्ता घटनाप्रति राज्यका निकाय थप सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए।
उद्धार अभियानमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, दिल्ली प्रहरी र सामाजिक संस्था किन इण्डियाको सहकार्य रहेको थियो।














प्रतिक्रिया