काठमाडौं- सन् २०२६ को वुमन्स बिग ब्यास लिग (डब्लुबीबीएल) अन्तर्गत मेलबर्न रेनेगेड्स र ब्रिसबेन हिटबीचको खेलमा नाटकीय र दुर्लभ घटना देखिएको छ ।
मेलबर्नकी वेस्ट इन्डियन अलराउन्डर डिएन्ड्रा डोटिन एक बल पनि सामना नगरी आउट भएपछि लिगको अनौठो ‘टाइम्ड आउट’ (फ्री बल) नियम अहिले चर्चाको विषय बनेको छ ।
सेन्ट किल्डास्थित जंक्सन ओभलमा ब्रिसबेन हिटले दिएको १३८ रनको लक्ष्य पछ्याइरहेको मेलबर्न रेनेगेड्स १५औँ ओभरमा ९७/४ को स्थितिमा हुँदा यो घटना घटेको हो ।
जर्जिया वेयरह्याम आउट भएपछि क्रिजमा आएकी डोटिन निर्धारित ७५ सेकेन्डको समयसीमाभित्र बल खेल्न तयार हुन सकिनन् । हेलमेटको फित्ता र पन्जा मिलाउँदै गर्दा ढिलाइ भएपछि अम्पायरले उनलाई दोषी ठहराए ।
के हो ‘फ्री बल’ नियम ?
परम्परागत क्रिकेटमा ढिला आउने ब्याटरविरुद्ध विपक्षी टोलीले सिधै ‘टाइम्ड आउट’ को अपिल गर्न पाउने नियम छ । तर, डब्लुबीबीएलले यसका लागि ‘फ्री बल’ नामक विशेष नियम लागू गरेको छ । सोही नियमअनुसार मैदानी अम्पायरले डोटिनलाई अर्को बलका लागि स्क्वायर लेगतर्फ करिब पाँच मिटर टाढा उभिन निर्देशन दिए ।
ब्याटरबिनाको खाली स्टम्पमा ब्रिसबेन हिटकी लेग स्पिनर सारा ग्लेनले सटिक बलिङ गर्दै विकेट ढालिन् र डोटिन शून्य रनमै पेभिलियन फर्किन बाध्य भइन् । प्रतियोगिताको परिमार्जित नियमअनुसार अघिल्लो ब्याटर आउट वा रिटायर भएको ७५ सेकेन्डभित्र नयाँ ब्याटर बल खेल्न तयार भइसक्नुपर्छ, र यो ‘फ्री बल’ ओभरको वैध बलमा समेत गनिन्छ ।
यो अनौठो आउट बावजुद मेलबर्न रेनेगेड्सले अन्तिम बलमा रोमाञ्चक जित निकाल्दै ब्रिसबेन हिटलाई तीन विकेटले पराजित गर्यो ।
खेलपछि रेनेगेड्सकी कप्तान सोफी मोलिनक्सले क्रिकेट मैदानमा आफूले यस्तो घटना यसअघि कहिल्यै नदेखेको प्रतिक्रिया दिइन् ।
उनले सटिक बलिङका लागि सारा ग्लेनको प्रशंसा गर्दै भनिन्, “यो मैले क्रिकेटमा कहिल्यै नदेखेको दृश्य थियो, यसलाई सफल पार्ने ग्लेनलाई बधाई छ । सायद हामीले डोटिनलाई प्याड बाँधेर मैदान पठाउन अलि ढिला निर्णय गर्यौँ, तर यो हाम्रा लागि राम्रो सिकाइ रह्यो । मलाई लाग्छ अबको १० वर्षसम्म यस्तो दृश्य फेरि देख्न पाइने छैन ।”

















प्रतिक्रिया