काठमाडौँ- रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि पाँच अर्ब रुपैयाँ बजेट स्रोत सुनिश्चित भएको छ ।
पूर्वाधार विकास मन्त्रालयले रामेछापको विकास, पर्यटन प्रवर्द्धन र पूर्वाधार विस्तारका दृष्टिले महत्त्वपूर्ण मानिएको यस आयोजनालाई प्राथमिकताका साथ अघि बढाएको हो ।
रामेछापका सङ्घीय सांसद तथा अर्थ समितिका सभापति डा कृष्णहरि बुढाथोकीले आयोजनाका लागि बजेट स्रोत सुनिश्चित हुनु जिल्लावासीका लागि खुसीको विषय भएको बताए।
उनका अनुसार यो आयोजना रामेछापलाई हिमाली पर्यटनको महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्न सहयोगी हुनेछ । यसबाट स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन व्यवसायको विस्तार र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
‘यो आयोजना रामेछापको समृद्धिसँग मात्र नभई नेपालको पर्यटन विकास, आर्थिक गतिविधि विस्तार र राष्ट्रिय समृद्धिसँग जोडिएको छ,’ उनले भने ।
सांसद बुढाथोकीले आयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके आगामी दिनमा रामेछाप हुँदै सगरमाथा आधार शिविरसम्म सडकमार्गबाट सहज यात्रा गर्न सकिने बताए।
हिमाली पर्यटनको विकास र स्थानीय आर्थिक गतिविधि विस्तारका लागि महत्त्वपूर्ण मानिएको यस आयोजनाको निर्माणले रामेछापसहित सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया