काठमाडौँ – खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट एकै दिन १६१ बुलेट ग्यास लोडिङ गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको निर्देशनपछि निगमले आईओसीसँग समन्वय गरी ग्यास लोडिङको परिमाण बढाएको हो। सामान्य अवस्थामा दैनिक औसत ११० देखि १२० बुलेटसम्म ग्यास लोडिङ हुँदै आएकामा शुक्रबार १६१ बुलेट लोडिङ भएको निगमले जनाएको छ ।
बजारमा ग्यासको सम्भावित माग वृद्धिलाई ध्यानमा राख्दै मन्त्रीले दैनिक १६० बुलेटसम्म ग्यास लोडिङको व्यवस्था मिलाउन निगम व्यवस्थापनलाई निर्देशन दिएका थिए । सोहीअनुसार निगमले आईओसीसमक्ष लोडिङ कोटा बढाउन अनुरोध गरेको थियो ।
पछिल्लो लोडिङ वृद्धिले बजारमा ग्यासको आपूर्ति व्यवस्थापन सहज हुने र उपभोक्ताले नियमित रूपमा ग्यास पाउने निगमको भनाइ छ । मन्त्रालय र निगमले ग्यासको आयात, ढुवानी तथा वितरण प्रणालीको नियमित अनुगमन भइरहेको जनाएका छन् ।

















प्रतिक्रिया