काठमाडौँ- आफू र आफ्नो परिवारको जीवन रक्षा तथा निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरिएको छ । इनम सापकोटाको तर्फबाट उनकी श्रीमती कविता पाण्डेले आयोगको ललितपुरस्थित कार्यालयमा निवेदन पेस गरेकी हुन्।
निवेदनअनुसार सापकोटा अध्ययन तथा व्यावसायिक कार्यका सिलसिलामा नयाँ दिल्ली जाने तयारीका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला नियन्त्रणमा लिइएका थिए । निवेदनमा उनले गत १४ गते विमानस्थलको अन्तिम सुरक्षा जाँच स्थलबाट प्रहरीले नियन्त्रणमा लिएर आँखामा पट्टी लगाई अज्ञात स्थलमा राखेको तथा १५ गते साँझसम्म विभिन्न व्यक्तिहरूविरुद्ध प्रमाण र बयान दिन दबाब र धम्की दिएको दाबी गरेका छन्।
निवेदनमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका भाइ तथा छोरा, नेपाली काँग्रेसका सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशहरूको नाम उल्लेख गर्दै ती व्यक्तिहरूविरुद्ध बयान दिन दबाब दिइएको जिकिर गरिएको छ।
सापकोटाले आफूले झुटा कुरामा हस्ताक्षर गर्न अस्वीकार गरेपछि १५ गते साँझ भद्रकालीस्थित जिल्ला प्रहरी परिसर पुर्याइएको र १६ गते बिहान काठमाडौँ महानगरपालिका–३ पानीपोखरीस्थित निवासमा खानतलासी गरिएको निवेदनमा उल्लेख छ । खानतलासीका क्रममा पुरानो ल्यापटप, पुरानो फोन र केही कागजात लिइएको तथा पछि सुटकेसबाट विदेशी मुद्रा निकालेर मुचुल्का बनाइएको दाबी निवेदनमा गरिएको छ ।
त्यस्तै, १४ गते साँझ विमानस्थल अगाडिको सार्वजनिक सडकमा अभद्र व्यवहार गरेको आरोपमा म्याद थप गरिए पनि आफू विमानस्थलभित्रबाटै पक्राउ परेको र साथमा रहेको अमेरिकी डलर राष्ट्र बैंकको परिपत्रअनुसार कानुनी व्यवस्थाबमोजिमकै भएको निवेदनमा जिकिर गरिएको छ ।
पछि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा थप गरी थुनामा राख्ने प्रवृत्ति देखिएको तथा आफूले नबोलेका र रेकर्ड नगरिएका अडियो तथा सामग्री काटछाँट र एआईमार्फत सिर्जना गरी सार्वजनिक गरिएको आरोपसमेत निवेदनमा लगाइएको छ । निवेदकले संविधानको धारा २० बमोजिम न्यायसम्बन्धी हक, निर्दोषिताको अनुमान, स्वच्छ सुनुवाइ र धारा २८ बमोजिम गोपनीयताको हक हनन भएको दाबी गरेका छन् ।
अनुसन्धानका सामग्री तथा प्रमाण चुहाउने, झुटा प्रमाण सिर्जना गर्ने र मिडियामार्फत बदनाम गराउने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको सिफारिस गर्न तथा आफ्नो र परिवारको जिउ ज्यानको सुरक्षा गर्न निवेदनमार्फत माग गरिएको छ ।

















प्रतिक्रिया