पोखरामा दाइँ महोत्सव : पर्यटकलाई नौलो अनुभव « Khabarhub

पोखरामा दाइँ महोत्सव : पर्यटकलाई नौलो अनुभव


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा शनिबार बिहानैदेखि परम्परागत दाइँको रौनक छाएको थियो । धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए । महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल छान्दै थिए ।

खेतका कान्लामा बसेर परम्परागत रूपमा धान थन्क्याउने नेपालको कृषि कार्यको दृश्य विदेशी पर्यटकले रमाइलो मानेर हेरिरहेका थिए । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा नौबिसेटोलमा तेस्रो संस्करणको दाइँ महोत्सव आयोजना गरिएको थियो ।

संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि गरिएको महोत्सवमा विदेशी पर्यटकले नेपाली धान थन्क्याउने परम्परालाई नजिकबाट नियाल्ने अवसर पाए । हिमालको पृष्ठभूमिमा धान चुट्ने र गोरु धपाउने दृश्य उनीहरूका लागि नौलो अनुभव बनेको थियो । केही पर्यटक आफैँ दाइँमा सहभागी भएर रमाएका थिए ।

इङ्ल्यान्डका पर्यटक मार्कले गोरु धपाउन सुरु गरे भने उनलाई अन्य पर्यटकले पनि साथ दिए । पदयात्राका लागि नेपाल आएका मार्कले दाइँ महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।

‘म दुई हप्ताका लागि नेपाल आएको हुँ । पदयात्रामा जाने योजना छ । हिमालको पृष्ठभूमिमा धानको महोत्सवमा सहभागी भएर गोरु धपाउने काम मेरा लागि पहिलो अनुभव हो । म खुसी भएँ । स्वदेश फर्किएर साथीहरूलाई यसबारे सुनाउनेछु’, उनले भने ।

दुई महिनाका लागि अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न आएकी जापानी पर्यटक हितुमीले पनि दाइँ महोत्सवमा सहभागी हुँदा उत्साहित भएको बताइन् । गोरु धपाउने अनुभव रमाइलो लागे पनि धान चुट्ने तरिका भने आफूलाई कठिन लागेको उनको भनाइ थियो । ‘मैले गोरु धपाएँ, राम्रो लाग्यो । तर धान चुट्न सकिनँ, अग्लो हुँदोरहेछ । नेपालको कृषि गर्ने तरिका रमाइलो रहेछ’, उनले भनिन् ।

चिनियाँ पर्यटक सन्देशले चीनमा पनि परम्परागत रूपमा यसैगरी खेती गर्ने गरिएको बताए । धान रोप्ने र थन्क्याउने तरिका नेपाल र चीनमा उस्तै रहेको उल्लेख गर्दै उनले आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुपर्ने बताए ।

‘आजभोलि धेरै विकास भएको छ, ट्रयाक्टर र मेसिन आएका छन् । अबका बच्चाबच्चीलाई धान कसरी आउँछ भन्ने कुरा सिकाउनुपर्छ’, उनले भने ।

पोखरामा बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसँगै लोप हुँदै गएको परम्परागत कृषि प्रणालीलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा स्थानीयवासी, विभिन्न विद्यालयका विद्यार्थी, बालबालिकालगायतको उपस्थिति थियो ।

महोत्सवका संयोजक एवं पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिराम अधिकारीले महोत्सवले परम्परागत खेती प्रणालीको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, खेतीयोग्य जमिनको संरक्षण र किसानलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्न सहयोग पुगेको बताए ।

‘यसबाट आन्तरिक तथा बाह्य पर्यटकको गतिविधि बढाउनुका साथै कृषि पर्यटनको विकासमा समेत योगदान पुग्ने विश्वास लिएका छौँँ’, अधिकारीले भने ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले पर्यटन प्रवर्द्धन होटलमा स्वदेशी तथा विदेशी पर्यटक ल्याएर राख्ने विषयमा मात्र सीमित नहुने बताए । पोखराको प्रकृति, संस्कृति र मौलिक परम्परालाई पर्यटकसमक्ष प्रस्तुत गर्नु पनि पर्यटन विकासको महत्वपूर्ण पक्ष भएको उनको भनाइ थियो ।

‘पोखरा प्रकृति, संस्कृति र साहसिक गतिविधिमा धनी सहर हो । हाम्रा आफ्नै मौलिक संस्कृति र परम्परा छन् । नयाँ पुस्ता, देशका विभिन्न भागबाट आउने नेपाली दाजुभाइ तथा विदेशी पाहुनालाई आफ्नो संस्कृति पस्कनुपर्छ भनेर विगत लामो समयदेखि विभिन्न महोत्सव गर्दै आएका छौँ’, उनले भने ।

केही दिनअघि लेकसाइडमा गाईपूजा र कुकुरपूजाका गतिविधिमार्फत पनि विदेशी पर्यटकलाई नेपाली संस्कृति र प्रकृतिसँगको सम्बन्धबारे जानकारी गराइएको उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले परम्परागत कृषि संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

‘असारमा रोपाइँ महोत्सवमा सहभागी भएका पर्यटकले धान कसरी भित्र्याइन्छ भनेर चासो राख्न थालेपछि दाइँ महोत्सव सुरु गरेका हौँ । कृषिको आधुनिकीकरण बढ्दै गएको अहिलेको समयमा हलगोरु खोजेर परम्परागत विधिबाट दाइँ गर्दै पुरानो कृषि प्रणालीलाई जीवन्त राख्ने र पर्यटक आकर्षित गर्ने प्रयास गरेका छौँ’, उनले भने ।

महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले सहरीकरण र बदलिँदो जीवनशैलीका कारण ओझेलमा पर्दै गएको परम्परागत कृषि प्रणालीको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न महोत्सवले सहयोग पुगेको बताए ।

महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण र कृषकलाई आफ्नो पेसाप्रति प्रोत्साहित गर्दै कृषि पर्यटनको विकासमा योगदान पुर्‍याउने उनको भनाइ थियो ।

महोत्सवमा धान चुट्ने, दँदेरी, गुन्द्री बुन्ने र लठ्ठो तान्ने प्रतियोगिता सञ्चालन गरिएको थियो । साथै, धेरै धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ६ : ११ बजे

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखरामा दाइँ महोत्सव : पर्यटकलाई नौलो अनुभव

कास्की– कास्कीको पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा शनिबार बिहानैदेखि परम्परागत दाइँको रौनक

कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल

गण्डकी– महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार

मन्त्री श्रेष्ठबाट म्याग्दी र पर्वतका बाढी प्रभावित क्षेत्रको निरीक्षण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कालीगण्डकी नदीमा आएको

आइतबार कुन भगवानको पूजा गर्ने ?

काठमाडौँ– आज २०८३ साल मङ्सिर १३ गते आइतबार । सन्