सन १९४०/५० को दशकमा संयुक्त राज्य अमेरिकाको जनसंख्या करिव १६.५ करोड थियो । त्यहाँ बार्षिक ३० हजारदेखि ५० हजारसम्म पोलियोका नयाँ बिरामी देखा पर्दथे ।
त्यसैले राष्ट्रपति फ्रयाङ्कलिन रूजवेल्टले पोलियोको प्रकोप नियन्त्रण गर्न एउटा छुट्टै संस्था स्थापना गरे । मार्च अफ डाइम्स नाम दिइएको संस्थाको अभियानले डा.जोनास सल्कको टोलीलाई पोलियो भाइरस विरूद्द सुइबाट दिइने खोप विकासको लागि स्रोत जुटाइदियो र खोपको परीक्षण गरियो ।
त्यो परीक्षण त्यतिबेला सम्मको चिकित्सा विज्ञानको इतिहासमा सबैभन्दा ठुलो अनुसन्धान थियो । जसमा अमेरिकाका ४० राज्यका १८ लाख बाबुनानिहरू सहभागि भएका थिए । २० हजार चिकित्सक र दुई लाखभन्दा बढि स्वयंसेवक परिचालन गरिएको थियो ।
ती बाबुनानिहरू मध्ये ४ लाख ४० हजारलाई नयाँ खोप दिइएको थियो भने बाँकीलाई निस्कृय पदार्थ दिइएको थियो । कसले के प्राप्त गरे भन्ने तथ्य गोप्य राखिएको थियो ।
यो अनुसन्धानको नतिजाले नयाँ खोप पोलियो विरूद्द प्रभावकारी देखायो । राष्ट्रिय रेडियो र टेलिभिजनले महत्वका साथ समाचार प्रसारण गरे र अमेरिकामा एउटा राष्ट्रिय उत्सव जस्तै मनाइयो ।
यो खोप प्रयोग गर्न थालेको छ बर्ष पछि सन् १९६१ मा अमेरिकामा पोलियो रोगका नयाँ बिरामीको संख्या जम्मा एक सय ६१ मा सीमित भइसकेको थियो ।
सन २०१९ अर्थात अहिले नेपाल टाइफोइड (टाइफाइड)को अवस्था तत्कालिन अमेरिकाको पोलियोको अवस्था भन्दा कैयोँ गुणा भयावह छ ।
जम्मा तीन करोड जनसंख्या भएको हम्रो देशमा सरकारको स्वास्थ्य ब्यवस्थापन सुचना प्रणालीले बार्षिक करिव ५ लाख टाइफोइडका बिरामीले उपचार लिने गरेको देखाउँछ । ती सबैको सही निदान नभएको हुन सक्छ ।
अरू विश्वसनिय अनुसन्धानका तथ्याङ्कहरूलाई हेर्ने हो भने नेपालमा बार्षिक डेढदेखि दुइ लाख ब्यक्तिहरूलाई टाइफोइडको संक्रमण हुने गरेको देखिन्छ। १ हजार ५ सयदेखि २ हजारको मृत्यु हुने गरेको छ जसमध्ये अधिकांस बालबालिका छन ।
जनस्वास्थ्यका प्राज्ञिक जर्नलहरूमा काठमाडौंलाई धेरै पटक टाइफोइडको राजधानी भनि सम्बोधन गरिएको छ । सर्वसाधारण मानिसको जीवनस्तर उकासेर आम साधारण परिवारको अर्थिक अवस्था, शिक्षा, खानेपानी, सरसफाइ, सचेतना, गाउँ-शहरको ब्यवस्थित विकास, सर्वशुलभ स्वास्थ्य सेवाको पहुँच गर्ने लगायतका दुरगामि महत्वका कदम चाल्ने हो भने टाइफोइडलाई नियन्त्रणमा राख्न सकिन्छ ।
त्यसका लागि दशकौंको समय र दृढता चाहिन्छ । अहिले तत्कालको लागि अमेरिकामा त्यस बेला पोलियो खोपको जस्तै नेपालमा टाइफोइडको खोप चाहिएको छ । तर अमेरिकाले हाम्रो लागि त्यस्तो खोप बनाइदिने वाला छैन ।
किनभने टाइफोइड अमेरिका वा अन्य विकसित देशको समस्या होइन । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलको अनुसार सम्पुर्ण अमेरिकाभर बार्षिक करिव ३ सय ५० मात्र टाइफोइडका बिरामी भेटिन्छन ।
तसर्थ टाइफोइड समस्याको समाधान हामी र हामी जस्तै देशले निकाल्नु पर्नेछ । यस क्रममा कमसेकम तीन वटा टाइफोइड विरूद्दका खोपहरू विकास हुने क्रममा छन् जुन दुइ बर्ष भन्दा कम उमेरकै बाबुनानिहरूलाई लगाइदिन सकिन्छ र जसले निकै लामो समयसम्म सुरक्षा प्रदान गर्न सक्छन भन्ने वैज्ञानिक अ।धारहरू छन् ।
यी मध्ये भारतको एउटा कम्पनिले बनाएको Vi-TT TCV खोप सबैभन्दा अगाडि रह्यो । यसको पहिले प्रयोगशालामा गरिने सम्पुर्ण परीक्षणहरू गरिसकेपछि जनावरहरूमा परीक्षण गरियो जसले यो खोप जनावरमा सुरक्षित रहेको र टाइफोइड विरूद्द एन्टिबडी उत्सर्जन गराउन सक्ने देखायो ।
तत् पश्चात पहिलो पटक मानिसमा प्रयोग गरी गरिने अनुसन्धान भारतमा नै गरियो । दोस्रो र तेस्रो चरणको अनुसन्धान भारतका ६ वटा शहरका ८ वटा अस्पतालमा गरिएको थियो । यी सबै अनुसन्धानबाट यो खोप मानिसमा र बालबालिकाहरूमा समेत सुरक्षित रहेको र टाइफोइड विरूद्द एन्टिबडी उत्सर्जन गराउन प्रभावकारी रहेको देखियो ।
नेपालमा किन अनुसन्धान गरिँदै छ त ?
टाइफोइडबाट संसारभर हरेक बर्ष करिव २ करोड मानिसलाई संक्रमण हुने गरेको छ । ती मध्ये करिव डेडलाख मानिसको मृत्यु नै हुने गरेको छ । यी मध्ये अधिकांस संक्रमण र मृत्यु हाम्रो जस्तै एसिया र अफ्रिकाका अति कम विकसित देशहरूमा हुने गर्दछ ।
यो कहालि लाग्दो अवस्थालाई खोपको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ भनेर खोपको क्षेत्रमा काम गर्ने संसारका प्रतिष्ठित संस्था तथा विश्वविद्ध्यालयहरू मिलेर टाइफोइड विरूद्दको खोपको द्रुततर विकास र प्रयोग बढाउनको लागि एउटा गठबन्धन खडा गरेका छन् ।
यो गठबन्धनको पहलमा भारतमा बनेको टाइफोइड खोपको समुदाय स्तरमा गरिने प्रभावकारिताको अनुसन्धान (फेज थ्रि बि) नेपाल, बंगलादेश र अफ्रिकि देश मलावीमा गरिँदै छ।
नेपालमा यो अनुसन्धान पाटन अस्पतालको टोलीले गर्दै छ । स्मरण रहोस यो अनुसन्धान टाइफोइडको प्रकोप भएका क्षेत्रहरूमा मात्र गर्न सकिन्छ, विकसित देशहरू जहाँ टाइफोइड नगन्य छ, त्यहाँ यो अनुसन्धान हुन सक्दैन ।
तेस्रो चरणसम्मका अनुसन्धान यो खोपको उत्पादक स्वयंबाट गरिएका हुन् । तर हाल नेपाल लगायतका देशमा गरिँदै रहेको फेज थ्रि बिमा उत्पादक कम्पनीको कुनै संलग्नता छैन ।
यसको सम्पुर्ण खर्च विल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले व्योहोरेको छ। पाटन अस्पतालको अनुसन्धानको २ बर्ष नसकिँदै यो खोपले ८० प्रतिशत भन्दा बढि टाइफोइड रोकथाम गर्न सक्ने नतिजा देखियो ।
यस्तो नतिजा थाहा हुनासाथ त्यो प्रकाशन गरिहाल्नु पर्ने नैतिक दायित्व अनुसन्धानकर्ता टोलीमा हुन्छ । एक बर्ष थप कुरेर हजारोँको मृत्यु हेर्न मिल्दैन । त्यसैले पाटन अस्पतालको टोलीले विश्वको सर्वाधिक प्रतिष्ठित मध्येको एक न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रारम्भिक नतिजा प्रकाशन गर्यो ।
अन्य देशहरूको पनि नतिजा यस्तै रह्यो भने यो तथ्य विश्वव्यापि रूपमा पुष्टि हुनेछ, त्यसको प्रत्यक्ष फाइदा नेपाल जस्ता देशहरूलाई हुनेछ ।
टिक्का टिप्पणीः
यो अनुसन्धानको प्रारम्भिक नतिजा प्रकाशन हुनासाथ बीबीसीले महत्वका साथ त्यसको समाचार प्रकाशन र प्रशारण गर्यो र भन्यो अब यो खोप पाकिस्तानमा ९० लाख बालबालिकामा तुरुन्तै लगाइने छ । बीबीसी नेपाली संस्सकरणले त्यसमा नेपालमा पहिले बाँदरमा गरिएको परीक्षण बिवादित बनेको र यो अनुसन्धानमा के कस्ता प्रक्रिया पुरा गरियो भन्ने कुरा समेत थप गरेर समाचार बनायो । यसैलाई आधार मानेर अन्य समाचार पोर्टलले पनि प्रकाशन गरे ।
धेरै जसो सन्तुलित र सकारात्मक रहे भने केहिले यो विषयलाई अतिरन्जित पार्ने प्रयास गरे । एउटा टेलिभिजनको समाचारमा भनियो यदि नतिजा राम्रो नभएको भए यिनिहरूले सार्वजानिक नै गर्ने थिएनन् । केहि सन्चार माध्यमले लेखे पाकिस्तानका ९० लाख बच्चा जोगाउन नेपालका २० हजारमा परीक्षण गरियो । कुनै एक कानूनका विज्ञले भनेछन् के लगाएको भन्ने थाहै नदिइकन यसरि परीक्षण गरिनु गैरकानूनी हो ।
यी नकारात्मक टिप्पणीहरूमा मुख्य रुपमा अनुसन्धान प्रक्रिया र टाइफोइडको प्रकोप बारे ज्ञानको नहुनु नै हो । दाँजिने बस्तु वा परीक्षण गरिने बस्तु मध्ये कुन चाहिँ दिइयो भन्ने तथ्य अध्ययन टोलीका निश्चित सदस्य बाहेक अरू अनुसन्धानकर्ता र सहभागिलाई थाह नदिइनु चिकित्सा अनुसन्धानको एउटा महत्वपुर्ण पाटो हो ।
यो कुरा सहभागिलाई बुझाइएको हुन्छ । पाटन अस्पतालको अनुसन्धानमा सहभागिहरूले आँफुले के पाएँ भन्ने थाह पाएनन् तर टाइफोइडको खोप वा मेनिन्जाइटिसको खोप मध्य एउटा पाएको छु भन्ने चाहिँ थाह पाएका थिए ।
यो कुरा कानून विज्ञले ब्याख्या गर्ने होइन, अनुसन्धान विज्ञले गर्ने हो । विज्ञ छनोटमा त्रुटि भएछ, छनोट हुनु भएका विज्ञले आफुलाई सर्वज्ञानि ठानेर गैरकानूनी घोषणा गर्दिनुभएछ । विज्ञ ज्यूको राय खोजेर हेर्दा लेखकलाई प्रष्ट भयो की उहाँलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद भन्ने निकाय पनि छ र त्यो छुट्टै ऐनबाट निर्देशित हुन्छ भन्ने पनि थाहा रहेनछ । स्वास्थ्य अनुसन्धानको विषय स्वास्थ्य मन्त्रालयको कुनै फाँटले हेर्ने होइन ।
ज्ञानको कमि बाहेक केहि पुर्वाग्रह र संकुचित सोच पनि कारक हुन सक्छ ।
अबको बाटोः
विश्व स्वास्थ्य संगठनको २०१८ मार्चमा प्रकाशित “टाइफोइड पोजिसन पेपर” अनुसार हाम्रो जस्तो टाइफोइडको प्रकोप रहेका देशहरूमा सबै जना र विशेष गरी बालबालिकाहरूले टाइफोइडको खोप लगाउनु पर्छ ।
पाकिस्तानमा हाल कुनै पनि एन्टिबायोटिकले काम नगर्ने (मल्टि ड्रग रेसिस्टेन्ट) टाइफोइडको किटाणु देखा परेको छ । त्यस्तो किटाणुले संक्रमण भएका मध्य २० प्रतिशत सम्मको ज्यान लिन सक्छ ।
त्यसैले पाकिस्तानमा देखिएको त्यस्तो टाइफोइडको किटाणु नियन्त्रणमा राख्नको लागि युनिसेफ र गाभि लगायतका संस्थाहरू मिलेर भारतमा बनेको यो खोप प्राथमिकताका साथ पहिला पाकिस्तानमा ९० लाख बालबालिकमा लगाउने योजना बनाएका छन् ।
त्यस्तो टाइफोइडको किटाणु नेपालमा पनि देखा परेमा खोप नै सर्वोत्तम वा एकमात्र विकल्प हुन सक्छ ।
पाटनमा अनुसन्धान भइरहेको खोपको बजार मुल्य चार हजार रूपैयाँ पर्छ । यसको मुल्य घटाउन पहल गर्नुपर्छ । त्यसको लागि विकास हुँदै गरेका अन्य टाइफोइड विरूद्दका खोपहरू छिटो तयार बनाइनु पर्छ ।
त्यसो भएपछि यो र यस्तो खोप करिव दुई सय रूपैयाँमा झार्न सकिने देखिएको छ । अहिले नेपालमा टाइफोइडको उपचारमा ६ अर्व रूपैयाँसम्म खर्च हुने गरेको देखिन्छ ।
टाइफोइडको खोप दुई सय रूपैयाँमा उपलब्ध भएमा नेपालभर एक बर्षमा जन्मने सबै बाबुनानिहरूलाई १२ करोडमा नै खोप लगाउन सकिन्छ, नौ महिनाको उमेरमा ।
यसले बार्षिक दुई हजार जनाको मृत्युलाई धेरै हद सम्म रोकिदिनेछ । टाइफोइड खोपको अनुसन्धानको लागि पाटन अस्पताल र अनुसन्धान टोलीलाई धन्यबाद र बधाइ ।
(लेखकद्वय कान्ती बाल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञहरू हुन् ।)
प्रतिक्रिया