काठमाडौं-नेपाललाई चिनाउने विश्वको छानो सगरमाथा प्रकृतिको अनुपम उपहार हो। नेपालीलाई नेपालको नागरिक भनेर नचिन्नेले पनि सहजै ‘एभरेस्ट’को देशको नागरिक भनेर चिन्छन् । त्यसैले नेपालीको पहिचानका लागि सबैभन्दा ठूलो सम्पदा नै सगरमाथा हो ।
विश्वको सर्वोच्च शिखर हामीमाझ हुनु अर्को हाम्रो गौरव हो। जसले विश्वको ध्यान आकृष्ट गरेको छँदैछ, त्यसमाथि यहाँका प्राकृतिक मनोरमका छटामा मोहित नहुने सायदै नहोलान् ।
सबैलाई मोहित पार्ने पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म तहरै फैलिएका मोती झै चम्किला हिमालको दृश्यले जोकोहीलाई स्वर्गको अनुभूति गराउँछ। हिमालको सुन्दरता तस्वीरमा हेर्न जति सजिलो छ, नजिक पुगेर दृश्यावलोकन गर्नु त्यति सहज छैन् ।
हामीले कल्पना गरेको स्वर्गजस्तै लाग्ने सगरमाथाको अवलोकन अझै कठिन र चुनौतिपूर्ण छ । आफैं पुगेर सगरमाथाको मनोरम दृश्य हेर्न भोक-प्यास, उकाली-ओराली, दुःख कष्टको सामना गर्नुपर्छ ।
उद्देश्यहीन गन्तव्यले लक्ष्य प्राप्ति हुँदैन । तीव्र इच्छाशक्ति छ भने सपना साकार हुन समय पनि लाग्दैन । धेरैले सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना देखेका हुन्छन् नसके कम्तिमा सगरमाथाको आधार शिविर (५,३६४ मिटरको उचाई)मा भएपनि पुग्ने धोको राख्छन् । यो धोको पूरा गर्न सपना पालेर मात्रै हुँदैन साकार पार्न यात्रामा निस्किनै पर्छ । जसका लागि त्यहाँको वस्तुस्थिति र अवस्थाका बारेमा पनि पूर्व जानकारी लिनु अनिवार्य हुन्छ ।
आधार शिविरबाट विश्वकै अग्लो सगरमाथ (८,८४८ मि.) नजिकबाट छर्लङ्ग देखिन्छ । सगरमाथाको शिखर चुम्नु जति मुस्किल छ त्यति असहज एभरेष्ट बेसक्याम्पको यात्रा हुँदैन । त्यसैले एभरेष्ट बेसक्याम्प (ईबीसी) सम्मको गन्तव्य पर्वतारोहीलगायत सबैका लागि लोकप्रिय बन्दै गएको छ।
शेर्पा सँस्कृति, हिम झरनाको दृश्य, ऐतिहासिक बौद्ध गुम्बाको दर्शन तथा हिम नदीहरुको मनोरम दृश्यले ईबीसीको यात्रालाई थप रोचक बनाउँछन् । त्यसैले पनि धेरै पदयात्रीका लागि ईबीसीको पदयात्रा उच्च प्राथमिकतामा पर्नेगर्छ । ईबीसीमा पदयात्रीहरु लामो समयसम्म बसिरहन भने पाउँदैनन् । सगरमाथा आरोहीले भने सगरमाथाको शिखर चुम्नुअघि त्यहाँ केही दिन बिताउँछन् ।
हजारौँ पदयात्री हरेक वर्ष ईबीसीसम्म पुग्ने गर्छन् । समय र उर्जाको बचत चाहेन पदयात्रीले काठमाडौँबाट सोझै लुक्लाका लागि उडान भर्दै ईबीसीसम्मको यात्रा तय गर्ने विकल्प पनि छ ।
प्रतिक्रिया