दर्शकले कहिलेकाहीं यस्तो पनि के कलाकार भनेर 'रिजेक्ट' गरिदिन्छन् | Khabarhub Khabarhub

दर्शकले कहिलेकाहीं यस्तो पनि के कलाकार भनेर ‘रिजेक्ट’ गरिदिन्छन्

भर्सटाइल एक्टर यत्तिकै कहाँ हुन पाइन्छ र !



चलचित्रको सेलिब्रेटी भनेपछि दर्शकले अलिक फरक व्यक्तित्वका रुपमा लिने गर्छन् । ती सेलिब्रेटीहरू कतिपयका लागि ‘आइकन’ बन्ने गर्छन् । सेलिब्रेटीले लगाउने पोशाकको शैली कहिलेकाहीँ फेशन बनिदिन्छ । उनीहरुले चढ्ने गाडी ‘ब्राण्डेड’ बन्छ । अझ चलचित्रका सेलिब्रेटीहरु त सार्वजनिक रुपमा हिँड्दा पनि फ्यानबाट घेरिने सम्भावना उत्तिकै हुन्छ ।

अभिनेता विपिन कार्की सेलिब्रेटी त हुन् । तर, उनी वास्तविक जीवनमा निकै सरल छन् । उनलाई पर्दामा ‘ब्राण्डेड’ बन्नु छ । तर, वास्तविक जिन्दगीमा सामान्य नै भएर जिउनु छ । बरु चलचित्रमा फरक–फरक भूमिका निभाएर पात्रमा जीवन भर्ने जमर्कोमा उनी सधै प्रयासरत हुन्छन् ।

विपिन स्वयम् भन्छन्, ‘म यस्तै झल्लु छु, खासमा टिपटप बनेर हिँड्न मलाई आउँदा पनि आउँदैन ।’

विपिनको यही ‘सिम्पल स्टाइल’ लाई दर्शकले रुचाएका छन् । उनका फ्यान (प्रशंसक) पर्दाबाहिर भन्दा पर्दामा बढी छन् । विपिनलाई पनि बाहिरी जीवनमा देखिने साधारण जीवनको भन्दा चलचित्रकै जीवनको प्रशंसा भइदिए हुन्थ्यो भन्ने लाग्छ ।

यसैका लागि त उनले पात्रका लागि सक्दो मेहनत गर्छन् ।

चलचित्रमा एकपछि अर्को दमदार चरित्र दिने विपिन कतै भेटिए भने यस्तै ‘झल्लु स्टाइल’ मा भेटिन्छन् । अब दर्शकले विपिनलाई गोपाल दाहालका रुपमा साक्षात्कार गर्न पाउनेछन् । उनले शीर्ष भूमिका निभाएको चलचित्र ‘सेल्फी किङ’ मा उनी गोपाल दाहाल उर्फ ‘सेल्फी किङ’ का रुपमा देखिँदैछन् ।

चलचित्रमा फरक खाले भूमिका निभाएकै कारण विपिनलाई दर्शकको पनि उत्तिकै सम्मान छ । स–साना भूमिका निभाएका चलचित्रले पनि उनलाई चर्चामा ल्याउँछ ।

त्यसैले त दर्शकले विपिनलाई ‘भर्सटाइल कलाकार’ को परिचय दिएका छन् । उनी चाहन्छन्, हरेक चलचित्रमा आफूलाई फरक भूमिकामै प्रस्तुत गर्न पाइयोस् । दर्शकको विश्वास कहिल्यै नटुटोस् । दर्शकको यही विश्वासले उनलाई हरेक चलचित्रमा काम गर्नअघि सोच्नुपर्ने गरी ‘प्रेसर’ थपिदिन्छ ।

‘एकखाले प्रेसर त सधैँ हुँदो रहेछ, दर्शकको भरोसालाई पनि त मैले तोड्ने भएन, चलचित्रमा मैले आफ्नो फरक चरित्रलाई नै बढी ध्यान दिइरहेको हुन्छु,’ विपिन थप्छन्, ‘मलाई नयाँ चलचित्रमा काम गर्दा यही लेभलको काम होस् भन्नेमा ध्यान हुन्छ, दर्शकको विश्वास नतोडियोस् भन्नेमा शतर्क हुन्छु ।’

विपिन चाहन्छन्, सिक्वेलमा बाहेक अरु चलचित्रमा उस्तै खालको भूमिका नहोस् पनि । सकभर त आफ्ना चलचित्रको सिक्वेल पनि नबनोस् । उनलाई लाग्छ, सिक्वेलले कल्पनाशीलतालाई घटाइदिन्छ ।

‘भर्सटाइल कलाकार त्यसै हुन पाइन्छ?,’ थोरै मुस्कानका साथ विपिन भन्छन्, ‘दर्शकको यही मायाले त सधै राम्रो काम गर्ने कोशिश गरिरहेको छु, शायद यो पथबाट भाग्दिनँ पनि होला ।’

उनी सिक्वेलमा बाहेक अरु चलचित्रमा उस्तै काम नगर्ने बताउँछन् । ‘बरु त्यस्तो अवस्था आयो भने चलचित्र नै छोडौंला,’ विपिन भन्छन् ।

पशुपतिप्रसादमा भष्मे डन, लूट २ मा पित्तले डन, जात्राका फणिन्द्र, प्रसादका बाबुराम परियार बनेर चर्चा कमाएका विपिन यतिबेला ‘सेल्फी किङ’ का कारण चर्चामा छन् ।

आफूले अभिनय गरेका चलचित्रको पात्रका लागि विपिनले उत्तिकै मेहनत गर्छन् । ‘हरि’ का लागि उनले चलचित्रको कन्सेप्ट तयार हुँदादेखि नै आफ्नो भूमिकाका लागि तयारी गरिरहेका थिए ।

‘कालो पोथीमा पनि मेरो एउटा भूमिका छ नि, तपाईंहरुले कत्तिको याद गर्नुभएको छ, त्यसका लागि म ३ महिना मुगु बसेको थिएँ, त्यहाँ बोलिने खस भाषा बोल्न सिकेको थिएँ,’ विपिन स्मरण गर्दै सुनाउँछन् ।

हरेक चलचित्रमा फरक भूमिकामा अभिनय गर्नु र ती चरित्रलाई जीवन्त बनाउनमा विपिन माहिर छन् । चाहे त्यो जात्रा को सोझो बाबुराम परियार होस्, या त पशुपतिप्रसादको खराब लाग्ने भष्मे डन ।

‘म एकदमै निस्वार्थ भएर पात्रमा डुबेर काम गर्छु, मैले चलचित्रमा काम गर्दा आफ्नोपन भुल्छु,’ विपिन आफूलाई इंगित गर्दै भन्छन्, ‘आफ्नोपन भनेको बुझ्नुभयो नि, जुन विपिन कार्की अहिले तपाईंसँग बोलिरहेको छु ।’

उनी हाँस्छन् ।

तर, सबै दर्शकले कलाकारलाई मान्छन् नै भन्ने नहुने विपिन सुनाउँछन् । उनको अनुभवमा कतिपय दर्शकले ‘यस्तो पनि के कलाकार’ भन्ने खालको व्यवहार पनि गर्छन् ।

‘कति दर्शक सेल्फी खिच्न आउनुहुन्छ कतिले चिनेर पनि नचिनेको जस्तो व्यवहार गर्नुहुन्छ, यसलाई कलाकारले सामान्य रुपमा लिन पनि सक्नुपर्छ झैँ लाग्छ,’ विपिन भन्छन्, ‘नेपालमा त झन् कलाकारको त्यो स्टारडम बनिसकेको छैन, त्यहीमाथि कलाकारलाई सबैले मान्नुपर्छ भन्ने पनि त छैन नि !’

‘जात्रा’ मा उनले सोझो फणिन्द्रको भूमिका निभाएका थिए । जो, हेपिएको/चेपिएको एक इमान्दार नेपाली पात्र थियो । ‘सेल्फी किङ’ मा उनी हास्यकलाकारको भूमिकामा देखिनेछन् । हरेक भूमिका विपिनका लागि उत्तिकै चुनौतीपूर्ण हुन्छन् । पात्रको हाउभाउ र स्वभावमा धेरै ख्याल गर्नुपर्ने हुन्छ ।

‘लामो समयसम्म शूटिङ हुन्छ, फेरि मैले चरित्र पनि भुल्नु भएन, तर काम गर्दा मजा पनि आउँछ,’ उनी सुनाउँछन् ।

‘सेल्फी किङ’ मा काम गर्दा भने केही सहज भएको विपिन सुनाउँछन् । किनकि, चलचित्रमा अभिनय गर्दाका कतिपय दृश्य आफ्नो जीवनमा पनि मिल्ने खालका थिए ।

सेल्फी खिच्न फ्यान वरिपरि आउने, कोही दर्शकले के सेल्फी खिच्नु भन्दै तर्किन खोज्ने यस्ता कुराहरु विपिनको आफ्नै जीवनसँग पनि मेल खान्छन् ।

‘आफूले भोगेका कुरा चलचित्रमा देखाउँदा केही सजिलो त हुने नै भयो, तर चलचित्रमा जुन पारिवारिक समस्या देखाइन्छ, त्यो समस्या मेरो परिवारमा चाहिँ छैन है,’ विपिन भन्छन् ।

अहिले विपिनको लोकप्रियता छ । केही वर्षअघिसम्म पनि उनको खासै चर्चा हुँदैनथ्यो । अहिले उनका हातमा एकपछि अर्को चलचित्रको प्रस्ताव आइरहेका छन् । आफूले मागेजति पारिश्रमिक दिन निर्माता पनि तयार छन् ।

तर, के यो सफलताले उनलाई केही प्रभाव पारेको छ ?

विपिन भन्छन्, ‘छैन, मलाई थाहा छ, यो सब स्टारडम भन्ने कुरा एकदिन मसँग हुने छैन ।’

उनलाई संसारका सबै कलाकारको जीवन नै अस्थिर हुन्छ भन्ने लाग्छ । यो लोकप्रियता पनि केही समयका लागि हो, जसरी बत्ती बलेपछि फेरि निभ्नुपर्छ ।

‘स्टारडम सधै रहिरहन्छ भन्ने हुँदैन, मान्छे जन्मेपछि मर्छ भनेजस्तो हो, यो पनि सधै उस्तै त रहन सक्दैन कि, केही समय लम्बिन सक्ला,’ विपिन अगाडि थप्छन्, ‘जे कुरा पनि सिर्जना हुन्छ भने ध्वस्त हुन्छ भने स्टारडम त के हो र ?’

भोलिका दिनमा आफ्नो कुनै चर्चा भएन र काम पाइएन भने पनि त्यसले कुनै अचम्ममा नपार्ने विपिन बताउँछन् । ‘आगो बलेपछि निभ्छ भन्ने मैले बुझेको छु,’ उनी भन्छन् ।

सधै साधारण रुपमै भेटिने विपिनलाई कहिलेकाहीँ भने टिपटप भएर सेतो लुगामा गाडी चढेर हिँडौ कि भन्ने पनि लाग्छ । तर, उनलाई यस्तो भएर हिँड्न आउँदैन ।

‘मैले त्यस्तो खाले स्टारडम देखाउन नजानेको पनि हो, कहिलेकाहीँ त रहर त लाग्छ,’ उनी खिस्स हाँस्दै सुनाउँछन्, ‘अब जुन कुरा जानेकै छैन भने त्यो मैले कसरी देखाउने ? पहिले जस्तो थिएँ, त्यस्तै छु, टिपटप भएर हिँड्न पनि जान्नुपर्‍यो नि हैन र ?’

त्यसो त स्टारडम उनले देखाउनै नजान्ने पनि थिएन होला । कोशिश गर्ने हो भने सिक्न पनि सकिन्थ्यो होला । तर, उनले आफूसँग भएको समय चलचित्र र अभिनयकै लागि दिन चाहन्छन् । ‘चाह्यो भने त्यस्तो जीवन पनि बाँच्न सकिन्थ्यो होला, तर मलाई बरु मलाई आफ्नो पात्रलाई कसरी अझै राम्रो बनाउन सकिन्छ भन्ने महत्त्वपूर्ण लाग्छ, त्यसैले त्यता ध्यान नै दिन्नँ,’ विपिन भन्छन् ।

पर्दापछाडिको जीवनमा बढी महत्त्व दियो भने पर्दाको जीवन प्रभावकारी नहुने हो कि भन्ने विपिनलाई लाग्छ । ‘म पहिलेदेखि नै यस्तै हो, अब पहिलेदेखि नै यस्तै छु भने किन अब फरक हुनु भन्ने पनि हो,’ विपिन अगाडि सुनाउँछन्, ‘आफू चेन्ज हुन खोज्दा फेरि मेरो मन चरित्रमा कम ध्यान नहुने हो कि भन्ने लाग्छ, बरु मैले अभिनय कसरी गर्ने हो भन्नेमा ध्यान दिनु उचित हुन्छ भन्ने लाग्छ ।’

फरक काम गर्न चाहने विपिनलाई अफर आएका धेरै चलचित्र चित्तै बुझ्दैन । चित्त नबुझेका चलचित्र उनले रिजेक्ट गर्छन् । कति त आफूले छोडेका चलचित्र पनि प्रदर्शनमा आएपछि हिट पनि भएका छन् ।

‘तपाईंलाई आफूले रिजेक्ट गरेका चलचित्र हिट हुँदा किन गरेनछु भनेर थकथकी लाग्छ?,’ हामीले सोध्यौँ ।

‘लाग्दैन, रिजेक्ट गरेर हिट भएका त धेरै चलचित्र छन्, तर मलाई त्यस्तो थकथकी लागेको कुनै चलचित्र छैनन्,’ उनी भन्छन्, ‘किनकि, मलाई हिट हुनबित्तिकै थकथकी लाग्दैन, स्किृप्ट चित्त बुझ्यो भने बल्ल चलचित्र गर्छु ।

तस्वीरहरू: अदिप श्रेष्ठ/खबरहब

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १० : ०३ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन