काठमाडौं – आइतबार साँझ सम्पन्न भिडियो कन्फरेन्सले भारत र पाकिस्तानबीचको शत्रुताका कारण असफलताको संघारमा पुगेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई गतिशील बनाउने वातावरण तयार गरेको छ ।
खासमा सार्क साझा क्षेत्रीय समस्यासँग जुध्न उपयोगी संस्था हो भन्ने निष्कर्षमा क्षेत्रीय नेतृत्व पुगेको यो एउटा पछिल्लो उदाहरण हो ।
भिडियो कन्फरेन्सले भारत र पाकिस्तानबीच विद्यमान मतभेद समाधान नगरे पनि सार्क क्षेत्रका साझा चुनौतीसँग मुकाबिला गर्न साझा प्रयास आवश्यक छ भन्ने बोध नेताहरुलाई भएको प्रष्ट पारेको छ । यसले सार्क फेरि जाग्न सक्छ भन्ने आशा सञ्चार गराएको छ ।
कोरोना भाइरसको विश्वव्यापी प्रकोपले दक्षिण एशियाली देशहरुलाई पनि असर पार्न थालेपछि भएको भिडिओ कन्फरेन्सले एकातिर लामो संवादहीनता अन्त्य गरेको छ भने अर्काेतिर क्षेत्रीय आवश्यकता पूरा गर्न र चुनौतीसँग लड्न साझा प्रयत्न जरुरी छ भन्ने यथार्थ पनि प्रतिविम्बित गरेको छ ।
सन् २०१६ अक्टोवरमा पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलन अहिलेसम्म हुन सकेको छैन । सन् १९८५ मा स्थापना भएदेखि १८ औं शिखर सम्मेलनसम्म एक/एक वर्षमा हुने गरेको शिखर सम्मेलन त्यसयता २/२ बर्षमा हुने ब्यवस्था गरियो । तर यो ब्यवस्था भएयताको पाँच वर्षसम्म शिखर सम्मेलन हुन सकेको छैन ।
भिडियो कन्फरेन्सले भारत र पाकिस्तानबीच विद्यमान मतभेद समाधान नगरे पनि सार्क क्षेत्रका साझा चुनौतीसँग मुकाबिला गर्न साझा प्रयास आवश्यक छ भन्ने बोध नेताहरुलाई भएको प्रष्ट पारेको छ । यसले सार्क फेरि जाग्न सक्छ भन्ने आशा सञ्चार गराएको छ ।
स्थापनाको तीन दशकमा सार्कको सर्वोच्च निकाय शिखर सम्मेलन नै ११ पटक सरिसकेको छ । शिखर सम्मेलनसमेत गर्न नसकेपछि सार्कको औचित्यमाथि नै बहस भइरहेका बेला भएको ताजा भिडियो कन्फरेन्सले क्षेत्रीय संस्थाको सान्दर्भिकता फेरि एकपटक पुष्टि गरेको छ ।
क्षेत्रीय सहकार्यमा उपयोगी सार्क लामो समयदेखि ओझेलमा परे पनि अब गतिशील हुन सक्ने धरातल बनेको छ । विश्वका धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्थाहरुमा शक्तिशाली देशहरुको शक्ति र प्रभावले असहज भए पनि गतिशिलता भने सार्कको जस्तो रोकिएको छैन ।
सार्कमा भने कुनै एउटा देशको असहमति वा पृथक अडानले सङ्गठनको समग्र गतिविधिमै असर पर्ने गरेको छ । सदस्य राष्ट्रहरुबीचका विवादमा नरुमल्लिई साझा सरोकारका विषयमा अघि बढ्नमा असफल देखिने गरेको छ ।
स्वतन्त्र व्यापार क्षेत्र, साझा बजार र साझा आर्थिक एवं मौद्रिक युनियन लगायतका अवधारणा कति सफल होलान् या आकांक्षाहरु कति व्यवहारमा उत्रेलान् त्यो ठ्याक्कै भन्न नसकिए पनि क्षेत्रीय ऐक्यबद्धता तथा सहकार्यको आवश्यकता भने अझै बढेर गएको छ ।
भारतले बहुपक्षीय प्राविधिक र आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) मात्र ध्यान दिँदा सार्क छायाँमा परे पनि यसको औचित्य सकिएको छैन ।
सार्क र बिम्स्टेकका कतिपय उद्देश्यहरु मिले पनि दुबैको आ–आफ्नै महत्व र अस्तित्व हुनसक्छ । यी दुई सङ्गठनलाई परस्पर प्रतिस्पर्धी नभई एक अर्काका पुरकका रुपमा अघि बढाउन सकिन्छ । सार्कका आठ सदस्य राष्ट्रहरुमध्ये पाँच साझा सदस्य राष्ट्रहरू भएको बिम्स्टेकले सार्कलाई बलियो बनाउन मद्दत गर्न सक्छ ।
सन् १९८५ डिसेम्बर ८ मा सार्क स्थापना हुँदाको बडापत्रको सान्दर्भिकता यथावत छ । लामो समय छायाँमा परे पनि सार्कले काम नै नगरेको भने होइन । सार्क सचिवालय अन्य कूटनीतिक गतिविधिमा सक्रिय नै छ तर राजनीतिक नेतृत्वको सक्रियता नभएसम्म नयाँ निर्णय गर्न सक्दैन।
ताजा भिडियो कुराकानीपछि सार्क शिखर १९औँ शिखर सम्मेलन आयोजनाको आधार बनाउन सार्क सार्क विदेशमन्त्रीहरूको समिति, विदेशसचिवहरुको स्थायी समिति र कार्य समितिको बैठक आयोजना हुन सक्छ ।
कोरोना भाइरसँग जुध्ने सन्दर्भमा सार्क स्वास्थ्यमन्त्री स्तरीय बैठक आयोजना हुने सम्भावना देखिएको छ । यसो भयो भने भारत र पाकिस्तान एक ठाउँमा आउने छन् । यसले दुई देशबीचको दूरी घटाउन मद्दत गर्नेछ ।
सार्कले अब भने कुनै देशहरुको मतभेदको छायाँले सिङ्गो क्षेत्रीय सङ्गठनलाई बन्धक बन्न नदिन कूटनीतिक प्रयत्न गर्नुपर्छ । नेपालले जसरी सन् २०१९ डिसेम्बर १ देखि १० सम्म दक्षिण एशियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न गरेर सार्क राष्ट्रहरुलाई जोड्न सक्यो त्यसरी नै सार्कको गतिशिलता बढाउन अध्यक्ष राष्ट्रको हैसियतमा कूटनीतिक प्रयत्न गर्न सक्छ ।
भिडियो कन्फरेन्सले सृजना गरेको मौकाबाट सार्क गतिशील बनाउने कूटनीतिक कौशल नेपालले देखाउन सक्छ ।
प्रतिक्रिया